logo
  • शनिबार, साउन ३० २०८३

स्तरीय बन्दै गुल्मी अस्पतालको सेवा

कम्युटराईज एक्सरेदेखी २४ सै घण्टा सेवा संचालन


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

हुमाकान्त पोखरेल, गुल्मी चैत १३ ।
गुल्मी अस्पतालमा स्तरीय सेवाको सुरुवात हुँदै गएको छ । अस्पतालमा कम्युटराईज एक्सरे, थाईराईड मेसिन, २४ सै घण्टा अस्पताल फर्मेसी संचालन तथा सामाजिक सेवा इकाईको सुरुवात गरिएको छ ।

जिल्लाका विभिन्न उच्च पदस्थ व्यक्तिहरुद्धारा एक कार्यक्रमका बिच अस्पतालमा थप गरिएका सेवाहरुको जानकारी दिने तथा उद्घाटन गरिएको छ । अस्पतालको सामाजिक सेवा इकाईको जिल्ला समन्वय समिति प्रमुख एवम् अस्पताल व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण पराजुलीले उद्घाटन गरे ।

इकाईको उद्घाटन गर्दै पराजुलीले गुल्मी अस्पतालमा एकपछि एक सेवाको सुरुवात हुँदै जानु समग्र गुल्मेलीको लागि सुखको कुरा भएको बताए । यस इकाईमा १२ वटा लक्षित समुहलाई ५० देखि सत प्रतिशतसम्म औषधीबाहेकका सेवा निःशुल्क गरिन्छ । विभिन्न रोगहरुको परिक्षण, एक्सरे, परामर्श लगायतका सेवाहरु निःशुल्क गरिने अस्पतालले जनाएको छ ।

ज्येष्ठ नागरिक, अभिभावक नभएका बच्चा, अति गरिब, दैवी प्रकोपमा परेका पिडित, महिला स्वास्थ्य स्वयम् सेविका लगायतका वर्गलाई निःशुल्क सेवा दिइने अस्पताल प्रमुख उत्तम पाच्याले जानकारी दिए ।

एक्सरे क्यामिकलमा डुबाउनुपर्ने बाध्यता हट्यो

यसभन्दा पहिले गुल्मी अस्पतालमा एक्सरे गरेपछि पहिले क्यामिकलमा डुबाउनुपथ्र्यो । अनि बाहिर निकाली एकछिन घाममा सुकाएपछि मात्र त्यो हेरी रोग पत्ता लगाइन्थ्यो । तर अब त्यो झन्झटबाट अस्पताल तथा बिरामी मुक्त भएका छन् ।

रेसुङ्गा नगरपालिकाका मेयर डिल्लिराज भुसालले अस्पतालमा कम्युटराईज एक्सरे सेवाको सुरु गरेसँगै त्यो झन्झटबाट सबै मुक्त हुन पाएका हुन् । बिरामीको एक्सरे सिधै कम्युटरबाट नै प्रिन्ट आउन गर्न सकिन्छ । जसले गर्दा सेवा प्रवाहमा छिटो, छरिदो हुने आशा गरिएको छ ।

यस प्रकारको सेवा बाहिर दिदाँ चार देखि पाचँ सय पर्ने गरेतापनि गुल्मी अस्पतालमा तीन देखि तीन सय ५० रुपैँयासम्म पर्ने अस्पताल प्रमुख पाच्याले जानकारी दिए । यो सेवा बिहान १० देखि साँझ ५ बजेसम्म संचालन हुनेछ ।

फार्मेसी लगायतका चार प्रकारका सेवा २४ सै घण्टा संचालन

अस्पतालमा यसभन्दा अगाडी फार्मेसी पनि बिहान १० देखि साझँ ५ बजेसम्म मात्र खुल्ने गथ्र्यो । तर आइतबारदेखि गुल्मी अस्पतालको फार्मेसी २४ सै घण्टा खुल्ला रहने भएको छ । मदाने गाउँपालिकाका प्रमुख दान बहादुर केसीले उद्घाटन गरेसँगै फार्मेसी २४ सै घण्टा संचालन हुने भएको हो ।

अस्पतालको फार्मेसीमा अहिले तीन देखि चारसय प्रकारका औषधीहरु रहेको अस्पताल व्यवस्थापक कमल अर्यालले जानकारी दिए । यो सँगै भिडियो एक्सरे, प्रयोगशाला र ल्याब गरी चार सेवाहरु २४ सै घण्टा संचालन हुने भएका छन् ।

अस्पतालको नाम नै परिवर्तन

गुल्मी अस्पतालमा केहि उदाहरणिय अप्रेसन भएको पनि अस्पतालले जनाएको छ । छ महिना अगाडी रेसुङ्गा नगरपालिका १४ का ८२ बर्षिया बृद्धको हर्नियाको सफल अप्रेसन भयो । भने यो आर्थिक बर्षमा मात्रै सातवटा हर्नियाको सफल अप्रेसन भएको अस्पताल प्रमुख उत्तम पाच्याले जानकारी दिए ।

त्यस्तै दुई महिना अगाडी एक महिलालाई अण्डानलीमा ट्युमर भएको पनि अप्रेसन भयो । अहिले उक्त बिरामीको स्वास्थ्य अवस्था ठिक रहेको अस्पताल प्रमुख पाच्याले जानकारी दिए ।

यसभन्दा अगाडी तम्घास अस्पताल भनेर जिल्ला अस्पतालको नाम परिवर्तन भएको छ । लामो समयसम्म तम्घास अस्पताल नामाकरण गरिएतापनि गत मंसिरबाट ‘गुल्मी अस्पताल तम्घास’ नामाकरण भएको व्यवस्थापक कमल अर्यालले जानकारी दिए ।

देश संघिय संरचनामा गईसकेपछि प्रदेश मातहत अस्पताल रहने भएपछि प्रदेशको परिपत्र अनुसार गुल्मी अस्पताल नामाकरण गरिएको व्यवस्थापक अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend