साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी चैत ११ ।
आर्थिक बर्ष २०७५÷७६ मा रेसुगां नगरपालिकाले चालु र पुँजीगत गरी ४४.५ प्रतिशत वित्तिय प्रगती गरेको छ । नगरसभाबाट स्वीकृत ५६ करोड ५५ लाख ३४ हजार रकममध्ये उसले १९ करोड ४३ लाख १५ हजार ८५७ खर्च गर्न सफल भएको हो । नगरपालिकामा कुल ४०९ वटा योजनाहरु रहेका छन् ।
जसमध्ये २११ वटा योजनाको चार करोड ४८ हजार १३६ रकम निकासा भएको नगरपालिकाले जनाएको छ । सोमबार नगरपालिकाले पत्रकार भेटकाट कार्यक्रमको आयोजना गरी नगरपालिकाले गरेको वित्तिय प्रगती तथा कार्यहरुको बारेमा जानकारी गराएको थियो ।
नगरपालिकाले विनियोजन गरेको रकममध्येबाट हालसम्म आर्थिक विकासतर्फ ३०.४७ प्रतिशत, समाजिक विकासतर्फ ४८.९१ प्रतिशत, पूर्वाधार विकासतर्फ २६.३६ प्रतिशत रकम खर्च गरेको जनाएको छ ।
त्यस्तै वातावरण तथा विपद् व्यवस्थापनतर्फ ४३.४१ प्रतिशत, सँस्थागत विकास तथा सेवा प्रवाहमा १८.४५ प्रतिशत, वित्तीय व्यवस्थापन तथा सुशासनमा ११.६७ प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ५३.११ प्रतिशत रकम खर्च गरिसकिएको नगरपालिकाका प्रवक्ता पदम प्रसाद अर्यालले जानकारी दिए ।
नगरपालिकालाई प्रदेश तथा केन्द्र सरकारबाट पनि सहयोग प्राप्त भएको छ । प्रदेश सरकारबाट कृषि तथा पशु विकास तर्फ २५ लाख प्राप्त भएको छ । भने भौतिक निर्माण तर्फ ५७ लाख ८३ हजार २३१ प्राप्त भएको छ । यस्तै केन्द्र सरकारबाट पनि चार करोड ८३ हजार २३१ रुपैँया प्राप्त भएको छ ।
जसमध्येबाट गन्तव्य १०० कार्यक्रमअन्तरगत एक करोड, शीत भण्डार निर्माणतर्फ ५० लाख खर्च गरिने भएको छ । त्यस्तै भवन निर्माणमा १ करोड ८८ लाख ९५ हजार र खानेपानीतर्फ ७० लाख ८१ हजार खर्च गरिने नगरपालिकाका सुचना अधिकारी शंकर प्रसाद पोखरेलले जानकारी दिए । रेसुङ्गा नगर पालिकाले ‘हाम्रो रेसुङ्गा राम्रो रेसुङ्गा,सुखि रेसुङ्गा सुखि रेसुङ्गा’ भन्ने मूल नाराका साथ काम गरिरहेको छ ।
जसका लागि उसले यस आर्थिक बर्षमा कुल ८३ लाख ५० हजार आन्तरिक राजश्व असुल गर्ने लक्ष्य लिएको थियो । जसमध्ये हालसम्म ५८ लाख ४४ हजार २९० प्राप्त भइसकेको छ ।
नगरपालिकामा केहि महत्वपूर्ण उपलब्धीहरु पनि भएको नगरपालिकाको दाबी छ । सुशासन तथा सेवा प्रवाहमातर्फ सबै वडामा वडा कार्यालय स्थापना गरी विद्युतिय प्रणालीमार्फत सेवा प्रवाह गरिएको छ ।
सार्वजनिक सुनुवाई तथा समिक्षालाई निरन्तरता दिइएको, कर्मचारीको क्षमता विकासको लागि विभिन्न किसिमको तालिम प्रदान गरिएको, सुचना अधिकारी तथा प्रवक्ताको व्यवस्था गरिएको पत्रकार सम्मेलमार्फत सार्वजनिक गरिएको छ ।
सामाजिक सुरक्षा कार्यक्रमका लाभग्राहीलाई वैकिङ्ग प्रणालीबाट भत्ता वितरण गरिएको, कार्य सम्पादनमा शीघ्रता ल्याउन लेखा, जिन्सी, योजना, राजश्व शाखा आदिमा सपm्टवेयर प्रणाली जडान गरिएको, नगरको ४ स्थानमा उच्च प्रविधिको फ्री वाइफाई जडान गरिएको पनि नगरपालिकाले जनाएको छ ।शिक्षालाई गुणस्तरीय र प्रभावकारी वनाउन शिक्षा ऐन पारित गरी नियमावली वनाउन परामर्श सुरु गरिएको छ ।
विद्यालयको शैक्षिक तथा भौतिक विकासको लागि नमूना विद्यालय, भौतिक संरचना निर्माण तथा पुस्तकालय निर्माणमा अनुदान दिइएको, गुल्मी अस्पताल तम्घासको भवन निर्माणको लागि डि.पी.आर. स्वीकृत भएको, ३ वटा वडा स्वास्थ्य भवन निर्माणको चरणमा रहेको, वडा स्वास्थ्य केन्द्रवाट निशुल्क औषधी वितरण तथा पूर्ण खोप लगाएतका कार्यक्रम सञ्चालन गरिएको नगपालिकाको प्रगती प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अल्पकालिन अवस्थाका खानेपानी योजनाहरुको मर्मत संहार तथा विस्तारमा विभिन्न योजनाहरुमा लगानी गरिएको छ । अपाङ्ग परिचय पत्र नगरपालिकावाट वितरण गर्न थालिएको, महिलाहरुलाई विभिन्न प्रकारका तालिम तथा सामाजिक जागरणाका कार्य सञ्चालन गरिएको नगरपालिकाका प्रमुख प्रशसकिय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए ।
कृषिमार्फत आत्मनिर्भर बन्ने लक्ष्यमा रहेको रेसुगां नगरपालिकाले अब छिट्टै नै हाटबजार संचालन गर्ने तयारी गरेको छ । किसानहरुलाई साना सिंचाइ, टनेल तथा भकारो सुधार कार्यक्रम वितरण वडा नं ७ मा वाख्रा विकास श्रोत केन्द्र, वडा न. १० मा हाइटेक प्रविधिको टनेल र वडा नं ११ मा नमूना कृषि गाँउ स्थापनाको कार्यक्रम रहेको मरासिनीले जानकारी दिए ।
नगरपालिकामा ११ वटा योजनाहरुको डि.पि.आर. तयार गरिएको, नगर विकास योजना निर्माण भएको नगरपालिकाले विभिन्न ठूला ६० योजनाहरुमा लगानी गरेको नगरपालिकाका मेयर डिल्लिराज भुसालले जानकारी दिए ।
गुल्मी उद्योग वाणिज्य संघ, न.पा. तथा केन्द्र सरकारको सहयोगमा रेसुङ्गा महापोखरीमा सुविधा सम्पन्न सिडी निमार्ण भै रहेको, प्रदेश, संघ र नपाको लगानीमा तम्घास स्थान मन्दिर, अर्जुन भगवति मन्दिर उनायचौर पार्क, उनायचौर खेलमैदान, प्रहरी कार्यालय अगाडी, शिक्षा कार्यालय ठाडो वाटो तथा रेसुङ्गा अस्पताल देखि विद्युत चोक सम्म सडक पिचको कार्यक्रम रहेको पनि भुसालले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend