logo
  • सोमबार, असोज १२ २०८३

बाणिज्य संघको निर्वाचनमा दुवै प्यानलका उम्मेद्धारले जित्ने दाबी


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हुमाकान्त पोखरेल, गुल्मी चैत ८ ।
गुल्मी उद्योग बाणिज्य संघको निर्वाचनले यतिबेला बजारमा रौनक छ । दुई ठुला राजनीतिक दलबाट दुई प्यानल बनाई निर्वाचनमा होमिएका व्यवसायीहरुबिच चुनावी गतिविधि बढ्दै गएको छ । अहिले उनीहरु अध्यक्षसहित सबै सदस्यहरु तथा पार्टीका शुभचिन्तक समेत भई व्यवसायीकहाँ मत माग्न व्यस्त छन् ।

बजारका चोक, चिया पसल, होटल लगायतका स्थानमा बाणिज्य संघको निर्वाचनमा होमिएको उम्मेद्धारहरुकै चर्चा सुनिन्छ । राजनीतिक खिचातानीका कारण गुल्मी उद्योग बाणिज्य संघमा निर्वाचन हुने भएको हो ।

दलिय हिसाबमा पदिय भागबन्डा गरी सर्वसम्मत नेतृत्व चयन गर्ने भनिएपनि सहमती हुन नसकेपछि निर्वाचन हुन लागेको हो । शनिबार हुने निर्वाचनमा नेकपा र नेपाली काङ्ग्रेसमा आस्था राख्ने व्यवसायीहरुले दुई छुट्टाछुट्टै प्यानल निर्माण गरी निर्वाचनमा होमिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट निवर्तमान अध्यक्ष समेत रहेका दुर्गाप्रसाद पाण्डे र काङ्ग्रेसको तर्फबाट निवर्तमान बरिष्ठ उपाध्यक्ष श्रीप्रसाद भलामीको नेतृत्वमा प्यानल बनाई व्यवसायीहरु नेतृत्व चयनका लागि लागिपरेका छन् ।

कम्युनिष्ट पार्टी आबद्ध उम्मेदवारका पाण्डेको प्यानलमा उपाध्यक्षहरु रेमलाल पाण्डेय, दुर्गाचन्द्र बोहरा र बिरेन्द्र भुसाल रहेका छन् । महासचिवमा रामप्रसाद पन्थी, सचिवमा फर्सुराम पाण्डेय, कोषाध्यक्षमा रामु सुनार र सह–कोषाध्यक्षमा खड्गप्रसाद श्रेष्ठलाई उम्मेदवार बनाइएको छ । भने अन्य १० सदस्य छन् ।

नेपाली कांग्रेस पार्टी आबद्ध उम्मेदवारका भलामी प्यानलमा उपाध्यक्षहरुमा रामप्रसाद पन्थी, इश्वरी पौडेल, मृगेन्द्र श्रेष्ठ रहेका छन् । महासचिवमा ताराप्रसाद भुसाल, सचिवमा राजकुमार श्रेष्ठ, कोषाध्यक्षमा इश्वरी बेलवासे र सहकोषाध्यक्षमा मनिराम अर्याललाई उम्मेदवार बनाएका छन् । भने अन्य १० सदस्यहरु छन् ।

कम्युनिष्टको तर्फबाट उम्मेद्धार दिएका उम्मेद्धारहरुले सरकारको काम तथा अघिल्लो कार्यकालमा भएका कामको प्रचार गरी निर्वाचन जित्ने प्रयासमा छन् । भने काङ्ग्रेस निकट उम्मेद्धारहरुले कम्युनिष्टका नराम्रा काम तथा आफुले गरेको कामको प्रचार गर्दै भोट मागिरहेका छन् ।

बाणिज्य संघको निर्वाचनलाई राजनीतिक दलले समेत आफ्नो प्रतिष्ठाको रुपमा लिएका छन् । जसका कारण पार्टीका नेता तथा विभिन्न भातृ संगठन समेत आ–आफ्नो नेतृत्वलाई जिताउन लागिपरेका छन् ।

नेकपाका तर्फबाट अध्यक्ष पदका उम्मेद्धार दुर्गा पाण्डेयले भर्खरै आफुले नेतृत्व गरेको बाणिज्य संघले विभिन्न कार्यहरु गरेकोले सबै व्ययसायीले आफ्नो प्यानललाई नै मत दिने दाबी गरे । बाणिज्य संघको लागि ५०० जना अट्ने सभाहल निर्माण गर्नु, सभाहलमा जानको लागि पक्कि पुलको निर्माण, रेसुगांमा १० लाखको लागतमा सिढीँ निर्माण कार्यको सुरुवात लगायतका लोकप्रिय काम गरेकोले आफ्नो प्यानल नै विजयी हुने उनले दाबी गरे ।

त्यस्तै रेसुगां पोखरीमा गौमुखे धारा बनाउने, रेसुगांमै स्वास्थ्य शिविर संचालन, विभिन्न संघ सँस्थालाई सहयोग लगायतका काम आफ्नै कार्यकालमा भएकोले जित्ने विश्वास रहेको उपाध्यक्षका उम्मेद्धार दुर्गाचन्द्र बोहोराले बताए । त्यस्तै व्यवसायीहरुकै हितकै लागि सालझण्डी सिमिचौर तथा रिडि तम्घास बाटोको स्तरोन्नतीको लागि आफुहरुले पहल गरेकोले निर्वाचनमा आफुहरुले नै विजय हाँसिल गर्ने उनले दाबी गरे ।

बुटबलबाट तिर्नुपर्ने कर पनि हाल तम्घासबाटै मिलाउने जस्ता उल्लेख्य कामहरु व्यवसायीहरुको पक्षमा आफुहरुले गरेकोले निर्वाचन जित्नेमा विश्वस्त रहेको बोहोराले बताए । नेपाली काङ्ग्रेसका तर्फबाट उम्मेद्धारी दिएका भलामीले अहिलेसम्म व्यवसायीहरुका पक्षमा आफुले गरेको कार्यको मुल्यांकन व्यवसायीहरुले गरेकोले आफुले जित्ने दाबी गरे ।

‘विभिन्न व्यवसायीहरुलाई विभिन्न समस्याहरुमा म र मेरो समुहले सहयोग गरेको छ ।’ भलामीले भने, ‘व्यवसायीहरुले यसलाई राम्ररी मुल्यांकन गर्नुभएको छ, हाम्रै प्यानलको जित सुनिश्चि छ ।’ त्यसका साथै आफूले व्यवसायीहरुलाई राजनीतिक आस्थाभन्दा माथि उठेर समेत सहयोग गरेकोले आफ्नो प्यानलले नै निर्वाचन जित्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend