logo
  • सोमबार, असोज १२ २०८३

सरकारले काम गरेन भन्नु अन्याय हो : मन्त्री विष्ट


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हुमाकान्त पोखरेल, गुल्मी फागुन ११।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारले देशको राष्ट्रियताको लागि महत्वपूर्ण काम गरिरहेकोले कोहि–कसैले सरकारले काम गरेन भन्नु अन्याय हुने बताए ।
पूर्व–पश्चिम राजमार्ग, उत्तर–दक्षिण राजमार्ग, मदन भण्डारी राजमार्ग, पानी जहाज, रेल लगायतका महत्वपूर्ण योजनाहरु सरकारले अगाडी बढाएकोले सरकारको आलोचना गर्नु पूर्वाग्रही भएको उनको आरोप छ । जिल्लाको इश्मा गाउँपालिकाको चौथो गाउँसभालाई सम्बोधन गर्दै उनले उर्जाको खपतमार्फत देशमा रोजगार सिर्जना गर्ने पनि जानकारी दिए । त्यसका साथै कृषि, शिक्षा, स्वास्थ्य, खाद्यान्न लगायतका कुराहरुमा नयाँ ढंगले  बिकाश गर्न लागेको उनले दाबी गरे ।

‘हरेक योजनाको आधुनिक र वैज्ञानिक ढंगले व्यवस्थापन गरी दुरगामि हिसाबले विकास गर्ने अठोट लिएका छौँ ।’ उनले भने, ‘सरकारले अहिले जग बसालिरहेको छ, केहि समयमै परिणाम आउनेछ ।’ भर्खर मात्र देश संघियतामा गएको र सरकार गठन भएकोले जनप्रतिनिधीलाई रचनात्मक सुझाव दिन छाडेर आलोचना मात्र गर्नु गलत भएको उनको भनाई छ ।

मिलेर काम गर्न निर्देशन

गृह जिल्लामा रहेका मन्त्री विष्टले जनप्रनिधी हुनु ज्यादै अप्ठ्यारो विषय भएको बताएका छन् । जनताका हरेक समस्यामा सधै सँगसँगै हुनु नै जनप्रतिनिधीको लागि चुनौतिको विषय भएको उनको भनाई छ । सत्तामा पुग्नु ठुलो विषय नभएको भन्दै उनले सत्ताको सदुपयोग गरी जनताका समस्यामा समाधानमा केन्द्रित रहन नजप्रतिनिधीलाई आग्रह गरे । ‘त्याग गर्न सिक्नुस, सत्ता मात्रै ठूलो कुरा होइन, जिन्दगी ५ बर्षको मात्र होइन ।’ उनले भने, ‘सत्ताबाहिर रहदा पनि जनताको बिचमा रहनु महत्वपूर्ण विषय हो ।’ अर्को प्रसंगमा मन्त्री विष्टले देशमा आफूहरुले सरकार बनाउनुभन्दा पहिलेको आठ अरबको खाडल रहेकोले त्यसलाई पुर्न लागिपरेको बताए ।

‘अघिल्लो सरकारले लगाएको आठ अरबको खाडल पुरा गर्दै छौँ, त्यसैले बजेट कम आएको हो ।’ उनले भने, ‘आएको बजेटलाई सदुपयोग गर्नुस् ।’ देश भर्खरै संघियतामा गएकोले आफूहरुले निर्वाचनमा गरेका प्रतिवद्धताहरु पुरा गरेरै छाड्ने प्रतिवद्धता जनाए । पहिलो बर्ष कानुन निर्माणको बर्ष भएकोले यो ज्यादै अप्ठ्यारो कार्यकालको बर्ष भएको उनको भनाई छ । यस कार्यकालमा कर्मचारी र जनप्रतिनिधी मिलेर स्थानीय तहमा काम गर्न उनले निर्देशन समेत दिए ।

‘कहि–कतै दुरुपयोग नहोस, साना विषयमा हाम्रो ध्यान नजान सक्छ ।’ गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीलाई सजक बनाउदै मन्त्री विष्टले भने, ‘यदि त्यस्तो भयो भने विषयले गम्भिर रुप लिन सक्छ ।’ त्यसका साथै इश्मामा प्रत्येक वडामा कम्तिमा एउटा महत्वपूर्ण भौतिक संरचना बनाउने आफूको योजना रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend