logo
  • सोमबार, असोज १२ २०८३

मालिका गाउँपालिकामा ‘शून्य होम डेलिभेरी’ अभियान


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हुमाकान्त पोखरेल, गुल्मी
०९ माघ । बालमृत्युदर कम गर्नको लागि मालिका गाउँपालिकाले नयाँ अभियानको सुरु गरेको छ । उसले गाउँपालिकाभित्र ‘शून्य होम डेलिभेरी’ अर्थात कोहि पनि घरमा प्रसुती नगराउने अभियानको सुरुवात गरेको हो । जसका लागि उसले गाउँपालिकास्तरिय गोष्ठि नै सम्पन्न गरेको छ ।

 

यो बर्ष नै गाउँपालिकाको वडा नम्बर ६ अर्जैलाई शून्य होम डेलिभेरी वडा घोषणा गर्ने तयारी भइरहेको छ । भने आगामी बर्ष वडा नम्बर ३, ४ र ७ लाई ‘शून्य होम डेलिभेरी’ घोषणा गर्ने तयारी भईरहेको छ । जसका लागि अर्जैका सबै गर्भवती महिलाको घरमा हरियो झण्डा राखिएको छ ।

 

भने अन्य वडाका गर्भवती महिलाको घरमा पनि हरियो झण्डा राख्ने तयारी भइरहेको छ । त्यसैगरि विभिन्न ठाउँहरुमा प्रसुतिसम्बन्धी विभिन्न महत्वपूर्ण व्यानरहरु राख्ने, पूर्वतयारी गोष्ठि राख्ने, पत्रपत्रिका तथा मिडियामार्फत चेतनामुलक कार्यक्रम संचालन गर्ने, सडक नाटक लगायतका जनचेतनामुलक कार्यक्रम पनि संचालन गरिरहेको अर्जैका वडाध्यक्ष शोभाखर गिरीले जानकारी दिए ।

 

गाउँपालिकाले गर्भवती महिला र शिशु दुवैको ज्यान जोगाउने उदेश्यले घरमा प्रसुती नगराई प्रसुती गृहमा मात्र प्रसुती गराउनेलाई एक हजार प्रोत्साहन भत्ता उपलब्ध गराएको छ । त्यस्तै प्रसुती गृहमा मात्र बच्चा जन्माउनेलाई प्रोत्साहनस्वरुप संघिय सरकारले दुई हजार ८०० उपलब्ध गराउदै आएको छ ।

 

प्रसुती गृहमा बच्चा जन्माउनेले न्यानो झोला पनि पाउँदै आएका छन् । मालिका गाउँपालिकाले यो बर्ष स्वास्थ्यको क्षेत्रमा ६० लाख बजेट विनियोजन गरेको छ । जसबाट औषधी खरिद, निशुल्क बृहत स्वास्थ्य शिविर, स्वास्थ्य सँस्था सबलीकरण लगायतका काम गरिने गाउँपालिकाका प्रवक्ता एवम् ६ नम्बर वडाका वडाध्यक्ष गिरीले जानकारी दिए ।

बर्थिङ सेन्टरतर्फ आकर्षित गर्भवती, पाचँ महिनामा १३८ प्रसुती
स्थानीय सरकार गठन नहुँदै गाउँगाउँमा स्वास्थ्य सँस्थाको पहुँच राम्रो थिएन । जसले गर्दा महिलाहरु घरमै बच्चा जन्माउन बाध्य हुन्थे । तर अहिले अवस्था फेरिएको छ । गाउँपालिकाले आमा र बच्चा दुवैको स्वास्थ्यलाई ध्यान दिदैँ प्रत्येक वडामा बर्थिङ सेन्टर स्थापना गरेको छ । जसले गर्दा सबैजसो गर्भवती महिलाहरु प्रसुतीको लागि बर्थिङ सेन्टर नै जान थालेको गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ६ का अध्यक्ष गिरीले जानकारी दिए ।

गत आर्थिक बर्षमा जम्मा ४ वटा वडामा मात्रै प्रसुती गृह थियो । तर यो बर्ष सबै आठ वडामा नै प्रसुती गृह स्थापना गरिएको छ । जसले गर्दा प्रसुती गृहमा बच्चा जन्माउने महिलाको संख्यामा बृद्धि हुँदै गएको छ । गत आर्थिक बर्षमा कुल १४३ जना महिलाले प्रसुती गृहमा बच्चा जन्माएका थिए । तर यो बर्षको हालसम्म मात्रै १३८ जनाले प्रसुती गृहमा बच्चा जन्माएको स्वास्थ्य संयोजक बसन्त भुसालले जानकारी दिए । जसमध्ये वडा नम्बर १ मा तिनजना, २ मा ३१, ३ मा १८ जनाले प्रसुती गृहमा बच्चा जन्माएको उनले जानकारी दिए ।

 

त्यस्तै वडा नम्बर ४ र ५ मा १०÷१० जना, ६ मा ३३ जना, ७ मा १७ र वडा नम्बर ८ मा १६ जनाले प्रसुती गृहमै बच्चा जन्माएको स्वास्थ्य संयोजक भुसालले बताए । मालिका गाउँपालिकाले यो बर्ष ५०० महिलाहरु गर्भवती हुने अुनुमान गरेको उनले बताए ।

गाउँपालिका अझै ‘शून्य होम डेलिभेरी’ घोषणा भईसकेको छैन । तर वर्थिङ सेन्टर स्थापनापश्चात तिनवटा वडाका कोहि पनि महिलाहरु घरमा प्रसुती भएका छैनन् । वडा नम्बर १ नेटा, ४ अर्खबाङ्ग र वडा नम्बर ६ अर्जैका सबै महिलाहरु बच्चा जन्माउनको लागि प्रसुती गृहमै गएको स्वास्थ्य संयोजक भुसालले बताए ।

 

‘आमा र बच्चाको जोखिमलाई न्यूनिकरण गर्ने तथा मातृमृत्युदर घटाउने उदेश्यले शून्य होम डेलिभेरी’ अभियान सुरु गरेका हौँ ।, जसका लागि सबै वडामा बर्थिङ सेन्टर समेत स्थापना गरेका छौँ ।’ भुसालले भने, ‘बर्थिङ सेन्टरप्रति महिलाको आकर्षण बढ्दै गएको छ ।’

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend