साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी पुष २५।
रेसुङ्गा एयरपोर्टमा गत जेठमा तारा एयरको 9N–AKL को बिमानले सफल परिक्षण ग¥यो । धेरै गुल्मेली खुसी भए । त्यो उत्साहले सवैलाई छिट्टै नियमित उडानको आशा पलाएको थियो । तर त्यसपछि अर्को पटक जहाज बसेन ।
रेसुङ्गा एयरपोर्ट गुल्मीसहितका छिमेकी जिल्लाहरुको गौरवको आयोजना हो । यो एयरपोर्ट जिल्लाकै भाग्य र भविष्य भएकाले नियमित उडानको प्रतिक्षामा आम नागरिक छन् । गएको दशैबाटै नियमित उडानको चर्चा चलेको हो । परिक्षण उडानको भव्य समारोहमा नेता र सरोकारवालाको भाषण सुन्दा नियमित हुने कुरामा विश्वास लागेको रेसुङ्गा नगरपालिका १ का घनश्याम पाण्डेले बताए । तर अहिलेसम्म नियमित उडानको कुनै कसरत छैन् । ‘रेसुङ्गा एयरपोर्ट पनि परिक्षणमै सिमित रहने देखियो,’उनले भने,‘जेनतेन परिक्षण उडान गरेर जनताको आँखामा छारो हाले ।’
रेसुङ्गा एयरपोर्टमा नियमित उडानका लागि थुप्रै काम बाँकी भएको सुनिल समिर निर्माण सेवाका प्रमुख नारायण पोखरेलले बताए । उनले अहिलेसम्म वेस निर्माणकै काम भएकाले रनवे, टावर, ग्राभेल र सुरक्षाको काम त्यतिकै रहेको बताए । ती सवैको लागि कुनै बजेट नभएकाले नियमित उडानको सम्भावना नरहेको पोखरेलले बताए । अझै पाँच करोडको काम गरे नियमित उडान गर्न सकिने बताउँदै पोखरेलले पुरै व्यवस्थित बनाउन २५ देखि ३० करोड आवश्यक पर्ने बताए । नेपाल नागरिक उड्यन प्राधिकरणको तर्फबाट रेसुङ्गा एयरपोर्टका साइट इन्चार्ज दिनेश परियारले पनि नियमित उडानको आधारभुत काम अझै पनि गरिरहेको र बाँकी भौतिक संरचनाको लागि बजेट अभावका कारण काम नभएको बताए । परियारले निराशनै बन्ने अवस्था नरहेपनि तत्काल नियमित हुने सम्भावना कम रहेको प्रतिक्रिया दिए ।
रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले आफुहरु नियमित उडानका लागि निकै दौडधुप गरिरहेको बताए । उनले पुरानो समितिले न काम गर्ने न आफुहरुलाई काम गर्न दिने कारण समस्या भइरहेको बताए । प्राधिकरणदेखि मन्त्रीसम्मलाई ध्यानाकर्षण गरिरहेकाले नियमित बनाउन आफुहरुको तर्फबाट निकै मेहेनत भइरहेको भुसालले जानकारी दिए । ‘नयाँ कामलाई बजेट छैन, पुरानो समिति निस्कृय जस्तै छ,’उनले भने,‘फेरी पनि त्यहि बिषयका लागि केन्द्रमा जाँदैछौ । नेपाल नागरिक उडयन प्राधिकरणका प्रमुख धुर्व भोछिभयाले एयरलायन्सहरु तयार भए नियमित उडानमा कुनै समस्या नरहेको बताए । उनले त्यहाँ उडान भर्न कुनै एयरलायन्स कम्पनी इच्छुक देखिए त्यसको व्यावस्थापनमा आफुहरु तयार रहेको प्रतिक्रिया दिए । ‘नियमित गर्न खासै समस्या छैन, सवै संरचना बनाउन समय लाग्न सक्छ,’उनले भने,‘सवै पक्षको चासो र चिन्ता भए असम्भव छैन् ।’
अलपत्र एयरर्पोटबाट धेरै नागरिक निराश थिए । तर परिक्षण उडान भएपछि सवैको ध्यान उडान कहिले होला, भन्नेमै छ । दुई अर्व ८५ करोड ८७ लाख जिल्लाका सवै तहको बजेट हो । एउटा स्थानीय तहको न्यूनतम १९ करोडदेखि ३० करोडसम्मको बजेट छ । तर एयरपोर्ट पर्ने रेसुङ्गा नगरपालिका बाहेक अरुले रुप्पे खर्च गर्दैनन् । जसका कारण रेसुङ्गा एयरर्पोट समस्यामा पर्दै गएको प्रति मानव अधिकारकर्मी गणेश श्रेष्टले चिन्ता व्यक्त गरे ।
उनले यी दुई बिषय सवैको साझा बिषय भएको बताए । त्यस्तै रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले धेरै पटक छलफल र बहर भएपनि अरु कुनै स्थानीय तहले सहयोग नगरेको दुखेसो पोखे । विमानस्थल निर्माणका लागि हालसम्म करिव १५ करोड खर्च भएको छ । बिमान स्थल निर्माणको लागि एक सय १२ रोपनी जग्गा आवश्यक छ । जसमा ४६ रोपनी जग्गा स्थानीयको अधिकरण गरिएको छ ।
रेसुङ्गा एयरपोर्ट बजेटकै अभावमा धेरै बर्ष थला प¥यो । थुप्रै बजेट मुअव्जामै सकियो । अझै पनि १५ लाखको अभावमा फराकिलो बनाउन लिइएको जग्गा पास हुन सकेको छैन् ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend