साझा नेटवर्क
गुल्मी, पुष १०।
इसाई धर्मावलम्बीहरुले विश्वभर आज क्रिसमस पर्व मनाएका छन् । नेपालमा पनि ईसाई धर्मावलम्बीहरुले विभिन्न कार्यक्रम गरी यो पर्व मनाइरहेका छन् । देशभरका चर्चमा क्रिसमसका अवसरमा विविध कार्यक्रम गरिँदै छन् । क्रिसमसको अवसरमा देशभरका चर्चमा प्रार्थना, नाचगान जस्ता कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गर्ने गरिन्छ ।

क्रिसमसमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । २ हजार १७ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो । येशुलाई जिसस क्राइष्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि र्पुयाएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।

२०६२/६३ सालपछि मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्ष घोषणा गर्नुका साथै राज्यले क्रिसमस पर्वलाई येशु ख्रीष्टको जन्मदिवसका रुपमा मान्यता दिएको छ । अहिले नेपालमा १२ हजार चर्च र ३० लाखभन्दा बढी क्रिश्चियन धर्मावलम्बी छन् । यसैबिच वामीमा रहेको विलिभर्स इस्टर्न चर्चको आयोजनामा मँगलबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरीएको छ ।
चर्चका पास्टर राम कुमार प्रजाको अध्यक्षता रहेको कार्यक्रममा मुसिकोट नगरपालिका वडा नम्बर ७ का अध्यक्ष प्रकाश काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो भने नेकपाका नेता खुम बहादुर थापा, समाजसेवी गोपिकृष्ण खरेल, मुसिकोट नगरबिकास समितिका अध्यक्ष मेघ प्रसाद श्रेष्ठ, पत्रकार, सुरक्षाकर्मी, समाजसेवी लगायत इसाइ धर्मालम्बीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनु्भएका मुनपा ७ का अध्यक्ष प्रकाश काफ्लेले एक धर्मले अर्काे धर्मलाइ सम्मान गर्नुपर्ने बताए । धर्मले कसैलाइ पनि भेद नगरेको भन्दै धर्म मान्ने मानिसहरुले भेदभावको भावना राख्ने गरेको उनको भनाइ छ ।
उनले फरक फरक धर्म मान्नेहरु मिलेर बस्नुपर्नेमा जोड दिदै सम्पुर्ण लाइ शुभकामना ब्यक्त गरे । मुसिकोट नगरपालिकाले चर्चले माग गरे अनुसार समाधिस्थल निर्माण गर्न जग्गा उपलब्ध गराउने तथा खानेपानीको ब्यबस्थाको निम्ती पहल गरीरहेको बताए ।
कार्यक्रममा नेकपाका नेता थापा, समाजसेवी खरेल, पत्रकार लोक प्रसाद छन्त्याल लगायतले बोलेका थिए । भने कार्यक्रमको सञ्चालन पास्टर पुस्तकलाल श्रेष्ठले गरेका थिए । कार्यक्रममा बिचबिचमा बिभिन्न साँगीतिक कार्यक्रमहरु गरीएका थिए भने बजार परिक्रमा पनि गरीएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend