logo
  • सोमबार, असोज १२ २०८३

क्याम्पस प्रमुखको कार्यकक्षको ताला खुल्यो


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हुमाकान्त पोखरेल, गुल्मी मंसिर २१ ।
रेसुङ्गा बहुमुखी क्याम्पस रेसुङ्गा नगरपालिका तम्घास गुल्मीको क्याम्पस प्रमुखको कार्यकक्षमा लागेको ताला खुलेको छ । शुक्रबार क्याम्पस संचालक समिति, क्याम्पस प्रशासन, स्वतन्त्र विद्यार्थी युनियन तथा अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) विद्यार्थीका प्रतिनिधी सहितको बैठकले ताला खोल्ने निर्णय गरेको हो ।

क्याम्पसमा विज्ञापन नै नखुलाई शिक्षक नियुक्ति गरिएको, प्रध्यापकहरु बिदा स्वीकृत नै नगराई विदामा बसेको भन्दै अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) आन्दोलनमा उत्रेको थियो । आन्दोलनस्वरुप मंसिर १७ गते क्याम्पस प्रमुख हरी बहादुर खत्री र सञ्चालक समिति अध्यक्ष शालिक पन्थीलाई ध्यानाकर्षण पत्र समेत बुझाएको थियो ।

तर अर्कोदिन बसेको बैठकबाट समेत कुनै निष्कर्ष नआएपछि उसले माग पुरा गर्नुपर्ने भन्दै क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दी गरेको थियो । शुक्रबार बसेको बैठकले विद्यार्थी संगठनको माग पुरा गर्ने निर्णय गरेपछि तालाबन्दी खोलिएको क्याम्पस प्रमुख खत्रीले जानकारी दिए ।

बैठकबाट विनाविज्ञापन नियुक्त गरिएका शिक्षकहरु खारेजी गर्ने, अहिलेको लागि आन्तरिक जनशक्तिबाट पठन–पाठन संचालन गर्ने, शिक्षकको आवश्यकता भएमा सञ्चालक समितिको परामर्शमा विज्ञापन खुलाई गर्ने निर्णय गरिएको छ ।

त्यस्तै आन्दोलनकारी विद्यार्थी संगठनले आन्दोलनको क्रममा वा आन्दोलनको प्रयोजनको लागि ल्याएका सामाग्रीहरु हटाउने र क्याम्पसमा भएको आर्थिक अनियमितताको छानविनका लागि क्याम्पस प्रमुख खत्री, सञ्चालक समिति कोषाध्यक्ष धर्म विश्वकर्मा तथा स्ववियु सभापति श्रीराम महत गरी तिन सदस्यिय छानविन समिति पनि गठन गर्ने निर्णय गरिएको सहायक क्याम्पस प्रमुख गोविन्द गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend