साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी मंसिर ७ ।
गत बर्षसम्म धेरै ठाउँमा बैङ्क थिएनन् । जसका कारण उपभोक्ता समितिलाई सिफारिसको लागि वडा, सम्झौताको लागि गाउँपालिका र भुक्तानीको लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता रह्यो । झन्झटिलो भुक्तानी प्रक्रियाकै कारण ५० हजारको योजनाको भुक्तानी लिन धेरै उपभोक्ता समितिले सास्ती खेपे ।
सत्यवति गाउँपालिका वडा नं ४ का मुक्तीराम भण्डारीले गत बर्षको दुखको कारण अहिले उपभोक्ता समितिका अध्यक्ष भेट्याउन मुस्किल पर्ने बताए । ‘गाउँपालिकामा ५० हजारका लागि १० औं पटक धाएँ, खै गाउँमा सिंहदरवार,’उनले भने,‘नागरिकलाई सदरमुकाममा भन्दा गाउँमा सास्ती छ ।
त्यस्तै सत्यवति गाउँपालिका वडा नं १ अस्लेवाका अगुवा कृषक अर्जुन कनौजेले आफुले आर्थिक बर्षको शुरुमा काम गरेर सकेपछि सवैभन्दा अन्तिमतिर भुक्तानी पाएको गुनासो गरे । सोहि कुरालाई मध्ये नजर गर्दै अहिले गुल्मीका स्थानीय सरकारले उपभोक्ता समिति र जनप्रतिनिधीलाई पढाउँदै हिडिररहेका छन् ।
गुल्मीको इश्मा र मदाने गाउँपालिकाले वडा नं १ देखि अभिमुखीकरण शुरु गरे । अभिमुखीकरणमा उपभोक्ता समिति र जनप्रतिनिधीलाई योजना सम्झौतादेखि भुक्तानीसम्मको प्रक्रियाका बारेमा अभिमुखीकरण गरिरहेको इश्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए ।
गत आर्थिक वर्षमा योजना सञ्चालन गर्ने समयदेखि अन्तिम समयसम्म उपभोक्ता समितिहरुलाई अप्ठ्यारो भएकोले यो बर्ष गाउँपालिकाभर उपभोक्तालाई सचेत बनाउने काम भैरहेको बस्नेतले बताए । स्थानीय तह गठन अघि सदरमुकामका होटलहरुमा बिल मिलाउने परिपाटी थियो ।
त्यो स्थानीय तहमा कम सम्भावना छ । काम तथा कागजी प्रक्रियामा झन्झट देखिएकोले दुवै पक्षलाई सजिलो बनाउनका लागि उपभोक्ता समितिहरु र जनप्रतिनिधीलाई तालिम संचालन गरेको मदाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुरेस भण्डारीले बताए ।
‘प्रक्रिया नपुगे भुक्तानी रोकिने भएकाले गत बर्ष धेरैले कर्मचारीले दुख दिएको ठाने,’उनले भने,‘अहिले अगाडीनै सचेत बनाएका छौ ।’ उपभोक्ता समितिहरुका अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा सम्बन्धित वडाका वडाध्यक्षसहितका जनप्रतिनिधीलाई प्राविधिक पक्ष तथा योजनाको गुणस्तर, समन्वय, कागजी प्रक्रिया लगायतका विषयमा जानकारी गराइएको हो ।
तालिमका कारण आफु लगायत वडाबाट गाउँपालिकासम्म पुग्ने उपभोक्ता समितिलाई सजिलो बनाउने इश्मा गाउँपालिका ४ का वडाध्यक्ष तथा प्रवक्ता गनुप्रसाद अधिकारीले बताए । ‘गत बर्ष धेरैले धेरै पटक गाउँपालिकाबाट दुख पाए, सवै प्रक्रिया धेरैलाई थाहा थिएन,’उनले भने, यो बर्ष तालिम भएकाले खासै समस्या नपर्ला ।’
गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा प्रमुख, इन्जिनियर र लेखा शाखाको टोलीले योजना सम्झौतादेखि भुक्तानी प्रक्रियासम्मको बारेमा जानकारी दिएका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend