साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी मंसिर ५।
भारतिय पेन्सनरहरुलाई प्रदान गरिने पेन्सन लिनेहरुको गुल्मीमा घुँइचो लागेको छ । पेन्सन प्रत्येक ६/६ महिनामा वितरण गरिन्छ । पेन्सन यसभन्दा अगाडी पूर्व भारतिय सैनिक बोर्ड गुल्मी (सोल्जरबोर्ड) मा नगदमा वितरण गरिन्थ्यो । तर यो बर्षदेखि बैंकबाट प्रदान गरिएको छ ।
जसका कारण तम्घास लाकुरीमञ्चस्थित नेपाल एस्. बि. आई. बैंकअगाडी पेन्सन बुझ्नेहरुको घुँइचो लागेको छ । प्रत्येक ६/६ महिनामा वितरण गरिने पेन्सन लिन गुल्मीसहित अर्घाखाँची, पाल्पा, प्युठान, स्याङ्जा लगायतका क्षेत्रबाट मानिसहरु आउने गर्दछन् । तर बैंकमा पेन्सन लिदाँका फाइदा नबुझ्दा पेन्सनरहरुले बैंकबाट रकम लिने प्रक्रिया भने झन्झटिलो भएको बताएका छन् ।
‘सायद पहिलो बर्ष भएर होला, अलि झन्झट लाग्यो । गुल्मीको मुसिकोट नगरपालिका कुर्घाबाट पेन्सन लिन आएका डम्बर थापाले भने, ‘खातामा रकम आउन तिन दिन लाग्छ रे ।’ पहिले सोल्जरबोर्डमा आफ्नो रकम कति भयो भनेर सुन्न पाइने भए तापनि अहिले त्यो पनि नपाइएको उनले बताए ।
‘माथिबाट पेन्सन लिदाँ आफ्नो रकम बढे वा घटेको सबै सुन्न पाइन्थयो । उनले भने, ‘यहाँबाट त खातामा आएको रकमबारे केहि थाहा पाइदैँन । १८ बर्षसम्म भारतिय आर्मीमा काम गरेका थापाले एक बर्षको झण्डै एक लाख ७० हजार बुझ्छन् ।
सोहि ठाउँकै प्रेम बहादुर गुरुङले बैंकबाट पेन्सन लिदाँका फाइदा अझैसम्म बुझेका छैनन् । ‘बैंकबाट लिने भनेर कागजपत्र मिलाउन बैंकमा आइयो, तर यहाँ त धेरै भिड हुदो रहेछ । उनले भने, ‘त्यसमाथि पनि काम समयमा हुँदो रहेनछ । पहिले एक/दुई दिनमै हुने काम अहिले तिन दिनसम्म पनि नभएको उनले गुनासो गरे ।
सोल्जरबोर्डबाट बुझ्दा दुई दिनमा रकम लिएर घर फर्कन्थ्यौँ ।’ उनले भने, ‘तर बैंकको खातामा पैसा राख्न तिन दिन लाग्यो, अझै काम भएको छैन ।’ नेपाल आर्मीमा गुरुङले १५ बर्ष बिताए । उनले पनि प्रत्येक ६ महिनामा ८० हजारदेखि एकलाखसम्म बुझ्दै आएका छन् ।
भारतिय पेन्सनरहरुले नेपाल एस. पि. आई. बैंकबाट आफ्नो पेन्सन लिदैँछन् । पेन्सन लिन अहिले दैनिकजसो २५० भन्दा धेरै पेन्सनरहरु बैंकअगाडी देखिन्छन् । बैंकबाट पेन्सन लिदाँ भने फाइदै–फाइदा हुने बैंकले जनाएको छ ।
दुःखसँग कमाएको पेन्सनलाई सुरक्षित राख्न सकिने, बैंकको ब्याजदर अनुसार ब्याज पाउन सकिने, ए. टि. एम्. र अनलाईन बैंङ्किकको सुविधा लिन सकिने जस्ता फाइदा बैंकिङ्क कारोबारका छन् । ‘पहिले पेन्सनरहरुले एक पटक मात्र रकम बुझ्नुपथ्र्यो ।
नेपाल एस. बि. आई. बैंक गुल्मीका प्रमुख जयनारायण घिमिरेले भने, ‘तर अब जतिबेला पनि निकाल्न पाइन्छ ।’ त्यसका साथै आफूलाई जत्ति जरुरी छ, त्यत्ति मात्र रकम लिन सकिने उनले बताए ।
त्यसैगरि पेन्सन पट्टाको आधारमा भूपू कर्जा दिइने, एकदिनको पनि ब्याज प्रदान गरिने जस्ता सुविधा पनि पेन्सनरहरुले पाउने घिमिरेले बताए । अहिले सो बैंकबाट भारतिय पेन्सनरहरुको मात्रै ८० करोडदेखि एक अर्वसम्मको कारोबार हुने उनले बताए ।
यसभन्दा अगाडीको बर्षहरुमा सोल्जरबोर्डमा ब्यापार गर्ने ब्यापारीहरुको भिड हुन्थ्यो । स्थानीय स्तरका सुन्तला, मुडा लगायतका सामाग्रीदेखि भारतको सुनौलि, गोरकपुरसम्मका ब्यापारी तम्घासमा ब्यापार गर्न आउथे । तर अहिले बैंकबाट पेन्सन दिन सुरु गरेसँगै न्यून मात्रामा ब्यापारी आएका छन् ।
‘बैंकबाट पेन्सन दिन सुरु गरेसँगै ब्यापारी पनि थोरै मात्र छन्, पहिलेजस्तो कारोबार नै छैन ।’ गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले भने, ‘सोल्जरबोर्ड मात्र नभएर सिंगो तम्घास बजार नै प्रभावित भएको छ ।
बाणिज्य संघले दसैँ तिहार र पेन्सन वितरण अवधिभर शनिबार पनि बन्द रहने पसलहरुलाई खुला गर्न समेत अनुमति दिएको छ । तर सोचेअनुसार ब्यापार नभएको ब्यापारीको भनाई छ ।
बाणिज्य संघका महासचिव ताराप्रसाद भुसालका अनुसार गत बर्षहरुमा सोल्जरबोर्डबाट दैनिक ६ करोड वितरण हुन्थ्यो । तर अहिले दैनिक दुई करोड मात्र पेन्सनरहरुले बुझ्ने गरेका छन् । बाँकि बैंकको खातामै राख्ने गरेका छन् ।
‘बैंकबाट पेन्सन वितरण हुनु पेन्सनरहरुका लागि राम्रो कुरा हो ।’ उनले भने, ‘तर यसले ब्यापार प्रभावित भइरहेको छ ।’ अधिकाशं पेन्सनरहरुले आफ्नो पेन्सन खातामै राख्ने गरेको समेत उनले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend