साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी कार्तिक २८।
गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ७ भन भनेका विष्णु पन्थी बुटबलमा ब्यापार गर्छन । उनी तिहार मनाउन घर आएका थिए । घर आएको मौकामा उनी श्रीमतीको नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय आए । अन्य समयमा घर आउन पनि नभ्याउने भएकोले दसैँ–तिहारकै बेला नागरिकता बनाउन आएको उनले बताए ।
गुल्मी दरबार गाउँपालिकाका विष्णु बहादुर राना वैदेशिक रोजगारिमा थिए । उनी दसैँदेखि घरमा छन् । घर आएको मौका पारि कान्छो भाईको राहादानी बनाउन तम्घास आए । ३० बर्षिया विष्णुका दुई भाई विदेशमा छन् । अहिले कान्छो भाईको राहादानी बनाउदैँ छन् । भने आफू १०÷१२ दिनपछि विदेश फर्कदैँ छन् । ‘भाईलाई एक्लै पठाउँ भने प्रशासनमा पनि छिटो काम हुँदैन, राहादानीकै लागि विदेशबाट आउने कुरा पनि भएन ।’ उनले भने, ‘दसैँमा घर आएको समयलाई सदुपयोग गर्दै भाईको पनि राहादानी बनाइयो ।’ पन्थी र राना मात्र होइन, दसैँ र तिहारको समयमा जिल्ला प्रशासन कार्यालयमा नागरिकता र राहादानी लिन आउनेहरुको घुइँचो लागेको छ ।
असौज १ गतेदेखि कार्तिक २५ गतेसम्म मात्रै एक हजार ४८४ ले नयाँ र ६६३ प्रतिलिपि गरी एक हजार १४७ ले नागरिकता लिएका छन् । भने वैवाहिक अंगिकृत नागरिकता एकजना र नाबालक परिचय पत्र १०० जनालाई वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जुन यस आर्थिक बर्षको अघिल्ला दुई महिनाको तुलनामा दोब्बरभन्दा पनि धेरै हो । जिल्ला प्रशासन कार्यालय गुल्मीले आर्थिक बर्ष २०७५÷७६ को अघिल्लो दुई महिना साउन र भदौमा ९१४ नागरिकता वितरण गरेको थियो । जसमध्ये ४३१ नयाँ र ४८३ प्रतिलिपि नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा तुल्सी न्यौपानेले जानकारी दिए । भने अंगिकृत नागरिकता प्रदान गरिएको थिएन ।
नागरिकतासँगै राहादानी पनि दसैँ–तिहारकै समयमा बढी प्रदान गरिएको प्रशासन कार्यालयको तथ्याङ्क छ । असौज १ गतेदेखि कार्तिक २५ गतेसम्म साधारण ८३२ र द्रुत २५३ गरी कुल एक हजार ८५ जनालाई राहादानी वितरण गरिएको छ । आ.व. २०७५÷७६ को अघिल्ला दुई महिनाको तुलनामा दसैँ–तिहारको समयमा लिएको राहादानी सङ्ख्या १५१ ले बढी हो । साउन र भदौमा जिल्लाबाट कुल ९३४ राहादानी सिफारिस गरिएको थियो । जसमध्ये ६२० जनालाई सामान्य सिफारिस र २७० जनालाई दु्रतसेवाको लागि सिफारिस गरिएको नासु पाण्डेले बताए ।
सेवाग्राहिको संङ्ख्या बढेसँगै प्रशासन कार्यालयमा राजस्व पनि बढेको छ । असौज १ देखि कार्तिक २५ गतेसम्म मात्रै राहादानी सिफारिसबाट ७२ लाख ७० हजार रुपैँया संकलन भएको छ । जुन यस आर्थिक बर्षको अघिल्लो दुई महिनाको तुलनामा ४० लाख ९२ हजार ५०० ले बढी हो । अघिल्ला महिनामा ३१ लाख ७७ हजार ५०० रुपैँया संकलन भएको कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा दसैँ–तिहारमा संघ सँस्था नविकरणबाट पनि उल्लेख्य मात्रामाा राजस्व संकलन भएको छ । असौजदेखि कार्तिकसम्म मात्रै एक लाख ८३ हजार ९५५ राजस्व संकलन छ । जुन आर्थिक बर्ष २०७५÷७६ को अघिल्ला दुई महिना साउन र भदौको तुलनामा एक लाख ५२ हजार ८५५ रुपैँयाले बढी हो ।
साउन र भदौमा संघ–सँस्था नविकरणबाट ३१ हजार १०० मात्र राजस्व संकलन भएको नासु पाण्डेले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend