logo
  • सोमबार, असोज १२ २०८३

ईस्मा गाउपालिकाको आर्थिक सहयोगमा हस्तिचौरमा एम्बुलेन्स सेवा शुरु


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

टोपलाल अर्याल, गुल्मी कार्तिक १३ ।
गुल्मीको इश्मा गाउँपालिका वडा नं १ र २ हस्तिचौरमा एम्बुलेन्स सेवा शुरु भएको छ । इश्मा गाउँपालिकाको आर्थिक सहयोगमा एम्वुलेन्स सेवा संचालनमा आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताए । गाउँपालिकाको गत बर्षको आठ लाख र यो बर्षको तीन लाख गरि ११ लाखको लागतमा एम्बुलेन्स खरिद गरि संचालनमा ल्याएको बस्नेतले बताए । एम्बुलेन्स सेवाको गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले शुभारम्भ गरे ।

कार्यक्रमलाई संबोधन गर्दै प्रमुख बिष्टले नागरिकको स्वास्थ्य समस्याका बिषयमा आफुहरु संवेदनशिल भएकाले स्वास्थ्य शिविर, सामुदायिक स्वास्थ्य केन्द्र, बर्थिङ्ग सेन्टर, आर्युवेद औषधालय, ल्याव सेवा र एम्बुलेन्स समेतको व्यावस्था गरिएको बताए ।

उनले हस्तिचौरमा एम्बुलेन्स संचालन गर्न बिशेष पहल गर्ने गाउँपालिका उपप्रमुख बिमला खत्री, वडा अध्यक्षहरु, स्वास्थ्यचौकी इन्चार्ज समसुल हक मियाँ लगायत सरोकारवालालाई धन्यबाद दिए । अव गाउँपालिकामा तीन वटा एम्वुलेन्स भएकाले नागरिकलाई राहत मिल्ने गाउँपालिका उपप्रमुख बिमला खत्रीले बताइन् ।

उनले वडा नं ५ रजस्थलको एम्बुलेन्सले वडा नं ६ को अम्मपुरलाई समेत समेटेको, वडा नं ४ को एम्बुलेन्सले वडा नं ३ दर्लामचौरलाई समेटेको र अब हस्तिचौरका दुवै वडालाई समेटेर एम्बुलेन्स संचालन गरिएकाले बिरामी परे चर्को मुल्य तिरेर प्राइभेट गाडी खोज्नु नपर्ने बताइन् ।

कार्यक्रम वडाध्यक्ष चुरा बहादुर खत्रीको अध्यक्षता, गाउँपालिका प्रमुख बिष्टको प्रमुख तथा उपप्रमुख खत्री र प्रमुख प्रसासकीय अधिकृत बस्नेतको बिशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गाउँपालिकाका सहस्वास्थ्य संयोजक गोकर्ण थापा, स्थानीय राजनैतिक दल र सरोकारवालाको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend