साझा नेटवर्क
हुमाकान्त पोखरेल , गुल्मी, कार्तिक १०।
नयाँ पुस्ताले अनुसरण गर्न नसक्दा ऐतिहासिक सराँय नाच संकटमा पर्दै गइरहेको छ । गुल्मी, अर्घार्घाखाँची, प्युठान, पाल्पा र कपिलबस्तुका शक्तिपिठमा दशैंको भोलीपल्टबाट पूर्णिमासम्म सराँय नाच्ने प्रचलन छ ।
पछिल्लो समय नाच्ने कम र हेर्ने धेरै हुँदै गएका छन् । अहिले सरायँ नाच हेर्नेको भिड लाग्छ तर नाच्ने मान्छे हुदैँनन् । पहिले–पहिले सरायँ नाच्न पालो नपाइने ठाउँमा समेत अहिले सरायँको गोल पुग्दैँन । ‘यो चौरमा पनि पहिले नाच्ने ठाउँ नै हुदैनथ्यो, तर अहिले धेरै मान्छे देखिदैनन् ।’ बाहुनगाउँमा त्रायोदशिका दिन सरायँ खेल्न आएका धुर्कोट गाउँपालिका ४ जैसिथोकका ५७ बर्षिया शोभाखर कुँवरले भने, ‘पहिलेभन्दा धेरै कम रमाइलो लाग्न थालेको छ ।
युवा पुस्ता विदेशीनु तथा मन्दिर ब्यवस्थापन समितिले राम्रोसँग ब्यवस्थापन नगरेको कारण यस्तो स्थिति आएको उनले बताए । सोहि ठाउँकै ५६ बर्षिया बलाराम पोखरेललाई पनि पछिल्लो समयको सरायँ खासै चित्त बुझ्दैन । प्रत्येक बर्ष भट्ट्याउदैँ सरायँ नाच्ने गरेका पोखरेल केहि बर्षयता भने सरायँ नाच्ने जोडि नपुगेर चिन्तित छन् । ‘युवा पुस्ता धेरै शहरतिर पसे, बाजागाजा पनि धेरै ब्यवस्थित छैनन ।’ उनले भने, ‘यसलाई सबै मिलेर बचाउनुपर्छ ।
बाजागाजा ब्यवस्थित गरेर र युवापुस्तालाई तालिम नै दिएर भएपनि सँस्कृति जोगाउनुपर्नेमा उनले जोड दिए । साथै केहिबेर रमाइलो गर्ने युवाहरुमा कुनै लय र मेलो नहुने पनि उनले बताए । इस्मा गाउँपालिका ४ का ९३ बर्षिय कमानसिंह बस्नेत डेढ घण्टाको बाटो हिडेर सरायँ हेर्न मैदान आए । घण्टौ नाच्ने कमानसिंहलाई उमेरले साथ दिएन । करिव आधा घण्टा सरायँ खेले । ‘आफ्नो उमेरले नेटो काट्योे, केहिबेर खेले सास बढ्छ,’उनले भने,‘ ‘युवाहरु खाडी छन, गाउँमा भएकाले सिक्न खोज्दैन ।’
पछिल्लो समय फुलपाती भित्राउँदा गाइने मालश्री र पट्टा नाच पनि लोप हुँदै गएको छ । चाँपटारीबाट फुलपाती ल्याउने र इस्माकोतबाट ब्राहमण र पुजारीहरु झरेपछि मैदानमा करिव डेढ घण्टा रोचक पट्टा नाँच देखाउने र मालश्री गाउने प्रचलन भएपनि अहिले हराउँदै आएको पट्टा नाचमा अब्बल खुम बहादुर बस्नेतले बताए । यो परम्परा अरु कसैको लागि हो भन्ने मानसिकताको कारण अहिले त्यो प्रथा परम्परा लगभग हराएको उनले बताए ।
यो रोचक नाच र गीत पाको पुस्तासंगै लोप भएको आनन्दपुर माविका शिक्षक नारायण घिमिरेले बताए । आफुहरुले सिकेको मालश्री अब आफुहरु पछि गाउने कुनै व्यक्ति वा समुदाय नभएको मालश्री गाउँदै आउनुभएका इस्मा रजस्थलका शोभाखर पैयानीले बताए । त्यस्तै सरायँ नाच पनि उस्तै अवस्थामा छ । सिक्ने र सिकाउने पुस्ताबिचको समन्वय अभावमा पुरानो कला संस्कृति हराएको स्थानीय टीका बहादुर थापाले बताए । उनले पुरानो पुस्तालाई मालश्री र पट्टा खेल्न सिकाउनुपर्नेमा जोड दिए ।
मन्दिरमा भक्तजनले चढाएका पौराणिक युद्धमा प्रयोग हुने खुकुरी, तरवार, खु“डा, खड्ग आदि हतियार एक आपसमा ठोक्याउ“दै ‘वाख्खै वा’ को भाषामा सराय“ खेलिन्छ । ‘खड्गछत्र देवताले रक्षा गरुन्’, ‘बाँचे आइसल’ जस्ता भाषा सरायँ नाचमा प्रयोग हुन्छन् । केहि समय पहिले हतियारनै नचाएर सराँय खेलिन्थ्यो । पछिल्लो सयम त्यो छैन् । हतियार प्रर्दशन गर्दा दुर्घटना हुने डर बढि हुने भएकाले यो पछिल्लो समय छोडिएको छ । अहिले प्रशासनले पनि सकेसम्म हतियार प्रदर्शन नगर्न भनेको छ । पहिले पहिले राति अबेरसम्म हुने सरायँ नाच पनि अहिले बेलुका बढीमा ५ या छ बजेसम्म मात्रै हुन्छ । यो कुराले बुढापाका भने सन्तुष्ट छैनन् ।
‘हतियारबिना त सरायँ नै खल्लो लाग्यो, साँझ पनि अबेरसम्म खेल्न नपाइने’ धुर्कोट गाउँपालिका ४ का ८२ बर्षिया दुर्गा बहादुर नेपालीले भने, ‘यस्ता कुराले मनमा नरमाइलो लाग्दो रहेछ ।’ सोहि ठाउँकै ७३ बर्षिय फर्स बहादुर नेपालीले पनि सुरक्षा ब्यवस्थामा ध्यान दिदैँ सरायँका आधारभूत हतियारहरुलाई प्रदर्शन गर्न दिइनुपर्ने बताए । ‘हतियार बर्षमा एकदिन देखाउने हो, यो हाम्रो सँस्कृति हो ।’ उनले भने, ‘निश्चित मापदण्ड बनाएर भएपनि प्रदर्शन गर्दा राम्रो हुन्थ्यो ।’
सरायँ नाच्न पहिले–पहिले स्वतस्र्फूत रुपमा मानिसहरु शक्तिपिठ आउने गर्दथे । तर पछिल्लो धेरै समययता शक्तिपिठमा मन्दिर ब्यवस्थापन समिति गठन नै गठन गरिएको छ । त्यसरी गठन भएको समितिले घटस्थापनाको दिनदेखि पूर्णिमाको दिनसम्मका सबै कार्यहरु गर्न ब्यवस्थापनको काम गर्दछन् । शक्तिपिठमा समिति गठन भएपश्चात धेरैले समितिकै मुख ताक्छन् । जसका कारण कसैको सहयोग नपाएको समिति समस्याको भूमरिमा पर्छ । ‘सहयोग कतैबाट छैन, बाजागाजा लगायतका कुराहरु ब्यवस्थापन गर्न पनि आर्थिकको समस्या छ ।’ जैसिथोकस्थित कुमारीदेवी मन्दिर ब्यवस्थापन समिति अध्यक्ष मोतिलाल पोखरेलले भने, ‘सबैले समितिकै मुल ताक्छन् तर एक्लै नसकिदो रहेछ ।’ तरपनि बाउ–बाजेले चलाएको सँस्कृति जसरी भएपनि बचाउन लागिपरेको उनले बताए ।
सरायँ नाच नेपालका केहि पश्चिमि जिल्लामा मात्र नाच्ने गरिन्छ । सरायँ हेर्नकै लागि बसाई सरेकाहरु समेत केहि दिनको लागि आफ्नो घर फर्कन्छन् । सरायँ नाच्ने शक्तिपिठमा हेर्ने र नाच्नेले आनन्द मात्र लिदैँनन्, धेरैले ब्यापार गर्ने अवसरसमेत पाँउछन् । सरायँ नाच्ने शक्तिपिठमा विशेषगरी जेरीको ब्यापार धेरै हुने गर्दछ । त्यस्तै चना–चटपटे, अम्बा, किराना, बालबालिकाका खेलाउना, लगायतका सामाग्रीहरुको राम्रो ब्यापार हुन्छ । दसैँमा पाइने यस्ता खानेकुरा र शक्तिपिठको महत्व अरुलाई पनि बुझाउन सके पर्यटक पर्वधनमा ठूलो सहयोग पुग्ने पाञ्चायन मावि जैसिथोकका पूर्व प्रध्यानाध्यापक मेघराज खनालले बताए । ‘सरायँ र शक्तिपिठको महत्व विभिन्न माध्यमबाट प्रचार गर्नु जरुरी छ ।’ उनले भने, ‘यसबाट ठूलो मात्रामा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सकिन्छ ।’ त्यस्तै रेसुङ्गा बहुमुखी क्याम्पस तम्घासका उपप्रध्यापक नारायण भुसालले पनि सरायँको प्रचार–प्रसार गर्न सकेमा धार्मिक शक्तिपिठको थप विकासमा सहयोग पुग्ने बताए । ‘एकातर्फ गाउँठाउँको विकास हुन्छ भने अर्कोतर्फ हाम्रो पहिचान बोकेको सँस्कृतिको प्रचार हुन्छ ।’ उनले भने, ‘स्थानीय नागरिकदेखि सरकार सबैले ध्यान दिनु आवश्यक छ ।’ सँरायले गर्दा पर्यटक भित्राउन सके रोजगारी समेत सिर्जना हुने र आम्दानीको स्रोत बढ्ने उपप्रध्यापक भुसालले बताए ।
घटस्थापनादेखि नौ दिनसम्म देवीको पुजा गर्दा महाकाली उत्पति भइन । पछि महाकाली ठूली हुँदै गइन् । र राक्षसलाई मारिन पनि । त्यसपछि रामचन्द्रले राउण्डेलाई मारे । नौ दिनसम्म पुजा गरी राक्षसलाई मारेको उत्सवस्वरुप दसैँको टिका लगाउने प्रचलन बस्यो । भने राउण्डेलाई मारेको उत्सवमा हजारौँ बर्ष अघि द्धापरयुगमा सरायँ खेल्न थालिएको इतिहास छ । एकादशीका दिन गुल्मीको इश्मा मैदान र धुर्कोट वस्तुमा सरायँ नाच्ने गरिन्छ । द्धादशिको दिन बुल्म, त्रायोदशिको दिन जैसिथोकको बाहुनगाँउ, चर्तुदशीको दिन छिलिम्टे तथा पूर्णिमाको दिन धुर्कोट कोत, चोयघा, अर्जै लगायतका क्षेत्रमा सरायँ नाच्ने गरिन्छ ।
अहिले गाउँगाउँमा स्थानीय सरकार छन् । त्यसैले पनि सरयँ जस्ता मौलिक धर्म सँस्कृतिलाई जोगाउने दायित्व अब सरकारले पनि बहन गर्नुपर्छ । यसै कुरालाई मध्यनजर गर्दै गत बर्ष धुर्कोट गाउँपालिकाले गाउँपालिकास्तरिय सरायँ नाच प्रतियोगिता नै ग¥र्यो । अहिले पनि गाउँपालिकाले विभिन्न कार्यक्रममार्फत सँस्कृतिको संरक्षणमा लागिपरेको गाउँपालिका उपाध्यक्ष शिव बहादुर खत्रीले जानकारी दिए । त्यस्तै इस्मा गाउँपालिकाका प्रमुख लक्ष्मण बिष्टले गाउँपालिका भित्रका विभिन्न कला संस्कृति र परम्परा जोगाउन आफुहरु योजनाबद्ध रुपमा लागेको बताए ।
उनले अहिले तीज गीत प्रतियोगीता, पञ्चेवाजा संरक्षण, मठ मन्दिरहरुको संरक्षण लगायतका कामहरु भैरहेकाले अब बिस्तारै एतिहासिक कला संस्कृतिहरुको प्रचार प्रसार र जर्गेना गर्नुपर्नेमा जोड दिए । ‘कला संस्कृतिको संरक्षण र प्रर्वद्धनमा युवाहरुको चासो कम छ,’उनले भने,‘त्यो परम्परा र व्यावसयीकताको लागि योजना बनाएर अगाडी बढ्छौ ।’
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend