साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी कार्तिक ९ ।
गुल्मीको चन्द्रकोट गाउँपालिका २ को भीरखानी नौमति बाजा समुहले स्टेजमा बाजा बजाउँदा पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीदेखि बरिष्ठ लोक गायक नारायण रायमाझीसहित धेरै जना छक्क परे । मन्त्रीदेखि कलाकारसम्मले प्रसंसा पनि गरे । नौमति बाजाको तालमा धेरै जना हाँसे र नाचे पनि ।
वामी विश्व सम्पर्क मञ्चले आयोजना गरेको ‘नौमति बाजा महोत्सव’ मा सहभागी जिल्ला विभिन्न सात समुहकै प्रतिस्प्रर्धा उत्कृष्ट थिए । महोत्सवको उद्घाटन गर्न आएका पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले पश्चिम पहाडी जिल्ला लोक संगित र संस्कृतिको दृष्टिकोणले अब्बल भएकाले संरक्षण र सम्वद्र्धन सवै मिलेर लाग्नुपर्ने बताए ।
उनले नौमति बाजाको संरक्षण र प्रचार प्रसारका लागि वामी विश्व सम्पर्क मञ्चले ‘नौमति बाजा महोत्सव’ आयोजना गरेकोमा खुसी व्यक्त गरे । साथै बरिष्ठ लोक गायक नारायण रायमाझीले गुल्मी बाग्लुङ्ग क्षेत्रमा बजाइने नौमति बाजाले आफ्नो मन र मस्तिष्क छुने भएकाले समय मिलाएर महोत्सवमा आएको बताए ।
रायमाझीले यी बाजा र संस्कृति हाम्रो इतिहास भएकाले जोगाउनुपर्ने सवैको दायित्व भएको बताए ।
मुसिकोट नगरपालिका २ कोटफेराका ६८ बर्षिय राम बहादुर परियारले नौमती बाजा बजाउन थालेको ५८ वर्ष भए । उनी बिशेषगरी सनाई बादक हुन् । १० बर्षदेखि बाजा बजाउन थालेका राम बहादुर अहिले पनि नजिक खवर गरे पुग्छन् ।
दुई दिन बजाएर मुस्किलले एक हजार पाउँछन् । ५८ बर्षसम्म पनि श्रमको मुल्य नपाएकोमा उनलाई दुख लाग्छ । ‘बाजा बजाएको कुनै मुल्य छैन, त्यसैले बँच्न गाह्रो छ,’उनले भने, खै कसरी पेशा धान्ने हो ।’ नौमति बाजा महोत्सवमा वाजा बजाउन वामी आएका छत्रभुमि बाजा समुह पौदीका कासीराम परियारले बाजाको कमाइबाटै अहिलेसम्म घरपरिवारको खर्च धान्दै आएका छन ।
उनलाई आफ्नो सबैभन्दा लामो उमेर नै बाजा बजाएर बिताएकाले अहिले पनि बाजा बजाउन छाड्ने मन छैन । उनले उमेर र शरीरले साथ दिएसम्म बजाउने रहर भएपनि बजाएको मुल्य बजार सुहाँउदो नभएका कारण बाँच्न मुस्किल पर्ने गरेको बताए । एक समुहमा गाउँका ११ जनाले अहिले नौमति बाजा बजाउँछन् ।
उनीहरुले बाजा बजाए वापत १० देखि २० हजार बुझ्छन् । ‘गाउँमा तोकिएको रेट छैन कसैले राम्रै पनि गर्छन, कहिलेकाहीँ थोरैमा पनि बजाउनुपर्ने बाध्यता पर्छ,’ उनले भने मुल्य नभएकाले दुवै पक्षलाई समस्या परेको छ ।’ वामी विश्व सम्पर्क मञ्चले आयोजना गरेका नौमति बाजा महोत्सवमा आएका धेरै समुहहरुले पैसा र पेशाकै चिन्ता व्यक्त गरे ।
चण्डीस्थान बाजा समुह चन्द्रकोटका युवा कृष्ण परियारले यो पेशा मुल्यका कारण व्यावसायीक बन्न नसकेको बताए । उनले सिकाई कटाई गर्ने र गाह्रो लगाउनेको समेत रेट हुँदा आफुहरुले मुखको मुल्यमा बाजा बजाउनु परेको बताए ।
‘यो पेशामा मुल्य र सम्मान नभएकाले युवा आकर्षण छैन,’उनले भने,‘त्यसैले पाको पुस्तालेनै नौमति बाजा जोगाउनुपर्ने बाध्यता छ ।’ उनले गाउँमा पुजा गर्ने ब्राहमण र आफुहरुको समस्या उस्तै रहेको बताए ।
वामी विश्व सम्पर्क मञ्चले आयोजना गरेको ‘नौमति बाजा महोत्सव’ गुल्मी तथा बागलुङका सवै समुहको प्रस्तुति उत्कृष्ट थिए । त्यो बिचबाट पनि भीरखानी नौमति वाजा समुह चन्द्रकोट २ प्रथम भएको छ । जसले ३३ हजार तीन सय ३३ रुपैयाँ पाएको छ ।
त्यस्तै नौमति वाजा संरक्षण समिति मुसिकोट ८ वामी द्धितिय हुँदै २२ हजार दुई सय २२ रुपैया जित्न सफल भएको महोत्सव मुल आयोजक समिति संयोजक बैकुण्ठ रायमाझीले बताए । त्यस्तै घुम्टे नौमति वाजा समुह गल्कोट नगरपालिका वडा नं. ७ तृतिय हुँदै ११ हजार एक सय ११ रुपैया प्राप्त गरेको छ ।
दँगा नवप्रतिभा वाजा समुहका लोक वहादुर दर्जी उत्कृष्ट सनाई बादक भएका छन् । त्यस्तै नौमति बाजाको तालमा भएको महिला नृत्य तर्फ सुस्मासिंह ठकुरी र पुरुष नृत्य तर्फ मदन दर्लामी प्रथम भएको संयोजक रायमाझीले बताए ।
महोत्सवको विविध पक्षबाट संकलन भएको रकम सामाजिक काममा प्रयोग गर्ने साथै अझै पनि नौमति वाजाको उत्थान, प्रवद्र्धन र स्थानिय कला संस्कृतिको प्रचार प्रसारमा काम गर्दै जाने आयोजकले जनाएको छ ।
वामी विश्व सम्पर्क मञ्चले २०७२ को मंसिरमा पहिलो नौमति बाजा महोत्सवको आयोजना गरेको थियो । मञ्चले गाउँको सामाजिक तथा अािर्थक विकासमा थुप्रै उल्लेखनीय काम गरिरहेको छ । 





© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend