साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी कार्तिक ०६ ।
किरण पुस्तकालय रेसुङ्गा नगरपालिका तम्घास गुल्मीले आर्थिक बर्ष २०७५/७६ को आयब्यय २७ लाख अनुमान गरेको छ ।
पुस्तकालयको ५१ औँ सभाको अवसर पारेर सो रकम बराबरको बजेट पारित गरिएको हो । गतबर्ष शिक्षा मन्त्रालयबाट प्राप्त अनुदान पाचँ लाख, ५ नम्बर प्रदेशबाट अनुदान १५ लाख, रेसुङ्गा नगरपालिकाबाट अनुदान रकम दुई लाख आम्दानी रहेका छन् ।
त्यस्तै जिल्लास्थिति विभिन्न गाउँपालिका र नगरपालिकाबाट दुई लाख, जिल्ला समन्वय समिति, जिल्ला शिक्षा समन्वय इकाई लगायतबाट अनुदान ५० हजार, विज्ञापन, सदस्यता, पुस्तक तथा पत्रिकाबाट एक लाख आम्दानीको अनुमान गरिएको सँस्थाका कोषाध्यक्ष चनक बहादुर कुँवरले जानकारी दिए ।अक्षयकोष बैंक ब्याज एक लाख ३७ हजार तथा अन्य शिर्षकबाट १३ हजार आम्दानीको अपेक्षा गरिएको उनले जानकारी दिए ।
खर्चतर्फ भने उपकरण खरिदमा तीन लाख, तलब भत्तातर्फ १२ लाख, पत्र–पत्रिका खरिदमा २० हजार, विद्युत, टेलिफोन महशुलतर्फ ३० हजार अनुमान गरिएको छ । विभिन्न सभा समारोहमा तीन लाख ५० हजार, लोखा परीक्षणतर्फ पाचँ हजार, हाम्रो पुरुषार्थ प्रकाशनको लागि तीन लाख, पुस्तक छपाईतर्फ दुई लाख ९० हजार खर्च अनुमान गरिएको कोषाध्क्ष कुँवरले जानकारी दिए ।
भने प्रेस काउन्सिल नवीकरणतर्फ पाचँ हजार, स्टेशनरी तथा मसलन्दतर्फ १० हजार, निर्माण, मर्मत सम्भारतर्फ आठ लाख ५० हजार, पुस्तक र फर्निचर खरिदको लागि दुई/दुई लाख तथा अन्य विविधमा २० हजार खर्च गरिने पुस्तकालयको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
१० लाख बचत गर्न सफल
स्थापना कालको ५० औँ बर्षसम्म किरण पुस्तकालयले १० लाख ६८ हजार ४४४ रुपैैँया १७ पैसा बचत गर्न सफल भएको छ । गत आर्थिक बर्ष २०७४/७५ मा पूर्वाधार विकासका निम्ति संघिय सरकारको शिक्षा मन्त्रालयबाट पाचँ लाख अनुदान आएको थियो । त्यस्तै सोहि बर्ष नै जिल्ला शिक्षा समन्वय इकाई गुल्मीबाट १ हजार ७०० र रेसुङ्गा नगरपालिकाबाट एक लाख अनुदान प्राप्त भएको पुस्तकालयले जनाएको छ । आर्थिक बर्ष २०७४÷७५ मा विभिन्न शिर्षकहरुमा कुल ३१ लाख ४८ हजार २६६ रुपैँया १७ पैसा बराबारको आर्थिक आयब्यय रहेको पुस्तकालयले जनाएको छ । त्यस रकममध्ये १३ लाख अक्षयकोष मुद्धती खातामा राखिएको सँस्थाका सचिव दीन पन्थीले जानकारी दिए ।
एक दर्जन बढी पुस्तक प्रकाशन, हजारबढी पुस्तक पढ्न पाइने
किरण पुस्तकालय जिल्लाको एकमात्र पुस्तक प्रकाशन गर्ने नियमित सँस्था हो । यसले हालसम्म साहित्य, संस्कृती, धर्म, इतिहास, पौराणिक र सामाजिक गरी विभिन्न विधाका एक दर्जनभन्दा बढी पुस्तकहरु प्रशासन गर्दै आइरहेको जनाएको छ । अरु प्रकाशन गर्ने तयारीमा छ । त्रैमासिक रुपमा हाम्रो पुरुषार्थ प्रकाशन गर्दै आइरहेको छ । अहिलेसम्म १० हजार ५१ थान पुस्तकहरु पुस्तकालयमा दर्ता भएका छन् भने केहि दर्ता हुने क्रममा रहेको पुस्तकालयको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
पुस्तकालयमा रहेका पुस्तकहरु कार्यालय समयभित्र जति पनि पढ्न पाइने सँस्थाका अध्यक्ष नर प्रसाद श्रेष्ठले जानकारी दिए । कार्यक्रम सँस्थाका अध्यक्ष श्रेष्ठको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी यदुनाथ पोड्यालको प्रमुख आतिथ्यता, रेसुङ्गा नरपालिकाका उपप्रमुख सिता भण्डारीको विशेष आतिथ्यता तथा गोपाल पन्थीको संचालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend