साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी असोज ३०।
हरेक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्राएर मनाइएको छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्राउने गरिन्छ ।
नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्राइने इस्माकोतका मुल पुजारी श्यामलाल अर्यालले बताए । फुलपातीको दिन अर्थात नवरात्रीको सातौ दिन घरघरमा फुलपाती भित्राइदै नवदुर्गा भवानीको स्वरुप मानेर कालरात्री देबीलाई पुजा गरिन्छ ।
घटस्थापनाकै दिन देखि दशै शुरु भएपनि फुलपातीको दिनदेखि बिशेष दशैको चहलपहल शुरु हुने गर्दछ । इस्माकोतमा इस्मा रजस्थलको चाँपटारीबाट ल्याइएको फुलपाती कोत घरमा भित्राउने चलन रहेको छ ।
फुलपाती भित्राउनु अघि इस्मा मैदानमा परम्परागत पट्टा नाच खेल्ने, मालश्री गाउने र नेपाली सेनाको टोलीले सलामी अर्पण गर्ने गर्दछन् । त्यसपछि मैदानकै खडग मन्दिरमा रहेका देवतालाई बाजागाजाका साथ माथी कोतघरमा भित्राइने मनकामना पुजा समितिका अध्यक्ष गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले बताए ।
पछिल्लो समय फुलपाती भित्राउँदा गाइने मालश्री र पट्टा नाच लोप हुँदै गएको छ । चाँपटारीबाट फुलपाती ल्याउने र इस्माकोतबाट ब्राहमण र पुजारीहरु झरेपछि मैदानमा करिव डेढ घण्टा रोचक पट्टा नाँच देखाउने र मालश्री गाउने प्रचलन भएपनि अहिले हराउँदै आएको पट्टा नाचमा अब्बल खुम बहादुर बस्नेतले बताए ।
यो परम्परा अरु कसैको लागि हो भन्ने मानसिकताको कारण अहिले त्यो प्रथा परम्परा लगभग हराएको उनले बताए । यो रोचक नाच र गीत पाको पुस्तासंगै लोप भएको आनन्दपुर माविका शिक्षक नारायण घिमिरेले बताए । आफुहरुले सिकेको मालश्री अब आफुहरु पछि गाउने कुनै व्यक्ति वा समुदाय नभएको मालश्री गाउँदै आउनुभएका इस्मा रजस्थलका शोभाखर पैयानीले बताए ।
त्यस्तै सरायँ नाच पनि उस्तै अवस्थामा छ । सिक्ने र सिकाउने पुस्ताबिचको समन्वय अभावमा पुरानो कला संस्कृति हराएको स्थानीय टीका बहादुर थापाले बताए । उनले पुरानो पुस्तालाई मालश्री र पट्टा खेल्न सिकाउनुपर्नेमा जोड दिए । फुलपातीमा मात्रै नभएर अष्टमी, नवमी, दशमी र त्यसपछिका मेलाहरुमा पनि स्थानीयहरुको त्यति धेरै उत्साह देखिदैन् । पञ्चेवाजा बजाउने समुदाय आफैमा बिभाजित छन् ।
कोट घरमा पुजा गर्ने ब्राहमण परिवारहरुमा पनि पुजालाई निरन्तरता दिन मुस्किल छ । समिति पनि अब्बल छैन् । नागरिकमा यो संस्कृति र परम्परा मेरा लागि नभएर अरु कसैको लागि भन्ने भावना विकास भएका कारण पनि लोपको संघारमा छ ।
प्रसिद्ध ऐतिहासिक, प्राचिन तथा धार्मिक स्थल इस्माकोतमा आश्विन शुक्ल प्रतिपदाका दिनदेखि बिजया दशमीको दिनसम्म तीन जना ब्राहमण, दुई जना क्षेत्री पुजारी कोत घरमा पस्ने प्रचलन रहेको छ । नौ दिनसम्म बेद, तथा चण्डी पाठ गर्ने र बिहान बेलुका पञ्चेवाजाका साथ दर्शनी बडाई गर्ने गरिन्छ ।
कोतघरमा सप्तमी, महाअष्टमी र महा नबमीमा बिशेष मेला लाग्ने गर्दछ । भने बिजया दशमीका दिन बिहान फुलपातीका दिन कोतघरमा लगिएका खड्ग देवतालाई पुन इस्मा मैदान ल्याएर सडग मन्दिरमा राखेपछि दशै सकिने लामो समयदेखि पुजा व्यावस्थापन गरिरहनु भएका जानकार राम बहादुर बिष्टले बताए ।
एकादशीका दिन इस्मा मैदानमा सरायँ नाच देखाइन्छ । इस्मा क्षेत्रका माई मनकामना, उल्का, सिद्ध, काल भैरव, छत्रभुमि, सुन्तलादेवि, सुपा देउराली लगायतका स्थानमा दशै अवधिमा पुजा हुने गर्दछ ।











© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend