logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीका बाख्रा बिकास परियोजना सहकारीलाई हस्तान्तरण


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

टोपलाल अर्याल ,गुल्मी  असोज  १५ ।
गुल्मीमा करिव तीन बर्षदेखि संचालनमा रहेको बाख्रा विकास परियोजना सहकारीहरुलाई हस्तान्तरण भैरहेका छन् । अहिलेसम्म तीन वटा परियोजना सहकारीलाई हस्तान्तरण गरिएको छ ।

इस्मा गाउँपालिकाका वडा नं ६ अम्मरपुरमा नवप्रभात संघ र मालिका गाउँपालिका ६ अर्जेमा सृजनशिल सामुदायीक विकास केन्द्र मार्फ संचालनमा रहेको परियोजना सहकारीलाई हस्तान्तरण गरिएको परियोजनाका जिल्ला कार्यक्रम अधिकृत सरद कुमार श्रेष्टले जानकारी दिए । सोहि अभियान अन्तर्गत उत्पीडित समुदाय उत्थान केन्द्र गुल्मीले इस्मा गाउँपालिका ५ इस्मा रजस्थलको बाख्रा बिकास परियोजना सहकारीलाई हस्तान्तरण गरेको छ ।

केन्द्रले परियोजना अन्तर्गत गठन भएको इस्मा कृषि तथा पशु महिला सहकारी संस्थालाइ परियोजना हस्तान्तरण गरेको हो । प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले सहकारीका अध्यक्ष सीता बस्नेतलाई हस्तान्तरण गरे । परियोजना उत्पीडित समुदाय उत्थान केन्द्र मार्फत सन् डिसेम्बर, २०१५ बाट इस्मा गाउपालिका ५ को इस्मा रजस्थलमा संचालनमा भएको थियो ।

परियोजना हस्तान्तरण गर्दै प्रमुख अतिथि लक्ष्मण पराजुलीले परियोजनाले मानबिय बिकासमा गरेको योगदान इस्माका महिलाको लागि स्मरणयोग्य रहेको बताए । अहिले गाउँका महिला समुदायमा मिलेर बस्न सक्ने भएको, बचत गर्न र समुहमा संगठित हुन उत्साहित भएको, उद्यम सृजना गर्न र मनमा लागेको कुरा खुलेर बोल्न सक्ने भएको देखेर आफु अत्यन्तै खुसी भएकाले परियोजनालाई धन्यवाद दिए । गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले सचेतना मार्फत उधमशिलता गर्न प्रेरित महिलाहरुको पक्षमा इस्मा गाउँपालिका र नीति तथा कार्यक्रम रहेको बताए ।

महिलामा नयाँ सोच र क्षमता प्रदान गरि आर्थिक समृद्धिको बाटोमा डो¥याउने हेफर परियोजनालाई धन्यबाद दिए । उनले गाउँपालिकाले प्रतिफलमा आधारित अनुदानको ब्यावस्था गरेकाले काम गरेर, सहकारी मार्फत अनुदान प्राप्त गर्न सबैलाई आग्रह गरे । इस्मा गाउँपालिका उपप्रमुख बिमला केसीले अब महिलाहरु अधिकारको लागी नभएर पाएको अधिकार कार्यान्वयन गराउन लडनु पर्नेमा जोड दिइन । साथै उनले महिलाहरुलाई केन्द्रित गरेर कार्यक्रम सफल बनाउने परियोजनालाई धन्यवाद समेत व्यक्त गरिन ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले परम्परागत कृषि प्रणालीलाई ब्याबसायिक बनाउँदै आर्थिक समृद्धिको बाटोमा लैजान स्थानीय सरकार सबैसंग हातेमालो गरेर अगाडी चाहेको बताए । उनले यो बर्ष मात्रै गाउँपालिकाले कृषि र पशुपालनको क्षेत्रमा झन्डै एक करोड बिनियोजन गरेकाले कृषी मार्फत आफुलाई आर्थिक रुपमा अब्बल बनाउन आग्रह गरे । उनले महिलाको आर्थिक तथा सामाजिक बिकासमा परियोजनाले खेलेको भुमिकाको प्रसंसा गर्दै उत्पीडित समुदाय उत्थान केन्द्र र हेफर इन्टरनेशनललाई धन्यवाद दिए ।

त्यस्तै परियोजनाको गुल्मी जिल्ला कार्यक्रम अधिकृत सरोज श्रेष्ठले परियोजना सफल बनाउन सहयोग गर्ने सबै तह र तप्कालाई धन्यवाद दिए । उनले परियोजनाको उदेश्य नै सधै साथमा रहने भन्दा जिउने कला सिकाउने भएकाले ती बर्षमा आएको सचेतना र आर्थिक समृद्धिसंगै अबको बाटो अझ फलदायी बनाउनुपर्नेमा जोड दिए । परियोजना संचालन भएको इस्मा गाउँपालिका ५ का वडाअध्यक्ष कलानिधी भण्डारीले यो कार्यक्रमले नागरिकमा ल्याएको आर्थिक तथा सामाजिक रुपान्तरण अत्यन्तै सुखद भएको बताए । भण्डारीले आगामी दिनमा यो परियोजनाको दोस्रो फेज वा अन्य गाउँसम्म ल्याउन जिल्ला समन्वय समितिलाई आग्रह गरे ।

त्यस्तै इस्मा गाउँपालिका वडा न ५ का वडा सदस्य नारायण पैयानीले परियोजनाका कारण इस्मा रजस्थलका महिलामा आएको सशक्तीकरण उदाहरणीय भएको बताए । उनले नाम भन्न र टोलमा जम्मा हुन हिचकिचाउने महिला अहिले खुलेर गुनासो राख्न र भाषण गर्न सक्ने हुनुनै इस्मा रजस्थल र परियोजनाको महत्वपूर्ण उपलब्धी भएको बताए । कार्यक्रममा उत्पीडित समुदाय उत्थान केन्द्रका अध्यक्ष दल बहादुर विक र परियोजना सम्पर्क व्यक्ति कृष्ण सुनारले कार्यक्रमको मुल्य र मान्यताकाबिच कार्यक्रम सफल भएको बताए । उनीहरुले यो सफलतासंगै परियोजनाले समुदायमा छोडेको ज्ञान र सीपलाई प्रयोग गर्दै आर्थिक र सामाजिक शसक्तीकरण सहितको नमुना गाउँ बनाउन आग्रह गरे । परियोजना बुझ्दै सहकारी अध्यक्ष सीता बस्नेतले आफुहरुलाई दिएको जिम्मेवारी सहि रुपमा पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरिन । कार्यक्रममा इस्मा रजस्थल संयोजक भरत भण्डारीले परियोजना संचालन अबधिभरको भएका गतिविधि सहितको प्रतिबेदन प्रस्तुत गरेका थिए ।

परियोजनाको मुल समुहमा एक सय ९७ घर परिवार र उपहार समुहमा छ सय ३२ घर परिवार आबद्ध रहेका छन । जसमा पछिल्लो समय इस्मा गाउँपालिका ३ दर्लामचौरका १४ समुह थप भएको सामुदायिक सहजकर्ता विकास बिष्टले बताए । इस्मा गाउपालिका ५ रजस्थलमा परियोजना पुर्व छ सय ८४ बाख्रा पाल्ने घरधुरी थिए । अहिले बढेर सात सय ४० पुगेको छ । पहिले नौ सय ७१ माउ बाख्रा रहेको गाउँमा अहिले एक हजार पाँच सय ९५ पुगेको परियोजनाको प्राबिधिक संयोज प्रदिप कुमार रानाले बताए ।
अहिले एक हजार सात सय ५४ पाठी र ३७ वटा ब्याडे बोका रहेका छन् । पहिले जम्मा गाउँमा दुई हजार तीन सय ५ बाख्रा रहेकोमा परियोजनाको अन्तिमसम्म बढेर तीन हजार आठ सय २९ पुगेको रानाले बताए । यो बर्ष मात्रै छ सय ७० खसी बोका बिक्री भएका छन । भने परियोजना लागु भएदेखि अहिलेसम्म सात सय तीन खसी बोका बिक्री गरेर ५६ लाख २४ हजार कृषकले आम्दानी प्राप्त गरेका छन ।

परियोजनाको एक करोड २४ लाख ५४ हजार आठ सय ५८ रुपैयाँ जम्मा बजेट रहेको थियो । अहिलेसम्म एक करोड १७ लाख ९३ हजार तीन सय ६३ खर्च भएको परियोजनाले जनाएको छ ।
फोटो: जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले सहकारीका अध्यक्ष सीता बस्नेतलाई परियोजना हस्तान्तरण गर्दै ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend