साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी असोज ८ ।
गुल्मीमा विभिन्न उदेश्य राखेर महायज्ञ गर्नेको लहर नै चलेको छ । यो महिनामा मात्रै जिल्लाका दुई बिद्यालयले धार्मिक महोत्सव तथा महायज्ञको आयोजना गरेका छन् । त्यो मध्येको एक हो रेसुंगा नगरपालिका ९ को उपल्लो तम्घास मावि । जहाँ धेरै दलित बिद्यार्थीले अध्ययन गर्छन् ।
पन्थी, पाण्डेय, मरासिनी र सुनार समुदायका बिचको यो बिद्यालय २०३१ सालमा स्थापना भएको हो । कृषी शिक्षा सहित स्मार्ट बिद्यालय बनाउने लक्ष्यका साथ उपल्लो तम्घास माविले महायज्ञ संचालन ग¥यो । महायज्ञबाट ७८ लाख १५ हजार ७२ रुपैयाँ सहयोग पनि संकलन गरेको छ । त्यो संगै जातिय छुवाछुतले आक्रान्त नेपाली समाजमा उपल्लो तम्घास माविले नयाँ सन्देश समेत दिन सकेको छ ।
उपल्लो तम्घास माविले संचालन गरेको महायज्ञको मुलकर्ता । जसले महायज्ञको सातै दिन मुख्य मण्डपमै गैरदलितसंग संगै बसेर पुजा गरे । महायज्ञ मुल समारोह समितिका संयोजक समेत रहेका सुनारले यो सहजताको अनुमान पहिले गरेका थिएनन् । तर सफल भएकोमा खुसी छन् ।
‘त्यो समुदायमा अग्रगामी काम सफल पारेर देखाएका छौ,’सुनारले भने,‘ चुनौति थिए, बिस्तारै निकास आयो ।’ त्यो दृश्यले केहि ब्राहमण तथा अन्य जातिका मानिसलाई मनमनै पोलेको भएपनि धेरैलाई परिवर्तकारी भावना जागृत गराएको दलित नेता समेत रहेका सुनारको दावि छ ।
महायज्ञको उद्घाट गर्न पुगेका ५ नं प्रदेशका सांसद तथा बिशेषाधिकार समितिका संयोजक कमलराज श्रेष्टले यज्ञमण्डपमा दलित र गैरदलितबिचमा देखिएको सम्बन्ध र समानता देशमै उदाहरणीय भएको बताए । त्यस्तै महायज्ञको समापन गर्दै कांग्रेस नेता चन्द्र भण्डारीले समेत छुवाछुत अन्त्यका लागि बिद्यालय र महायज्ञमा देखिएको परिवर्तनको भावनाले आफु पनि प्रभावित भएको बताए ।
रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले बिद्यालयले महायज्ञ मार्फत जातिय छुवाछुतका बिरुद्ध देखाएको यो काम धेरै व्यक्ति र स्थानको लागि सिकाई भएको बताए ।
जातिय छुवाछुतको एउटा समस्या दलित भित्रै पनि छ । जहाँ विक, परियार वा त्यो समुदायले गन्दर्भ समुदायलाई अझै बिभेद गरेका उदाहरण हाम्रो समाजमा छन् । त्यहि मानसिकता र प्रवृतिको अन्त्यका लागि महायज्ञमा विक अर्थात सुनार र परियारलाई संगै राखेर चौरासी पुजा गराइएको छ ।
८१ बर्ष काटेका रेसुंगा नगरपालिका ९ की इन्द्रकला सुनार र सिता परियारको चौरासी पुजा गराइएको महायज्ञ मुल समारोह समितिका महासचिव तथा बिद्यालयका प्रध्यानाध्यापक राममणी पन्थीले बताए । यो कामले एकातिर दलित भित्रैको छुवाछुत अन्त्यको नयाँ सन्देश दिएको र अर्कोतिर विपन्न परिवारका लागि चौरासी गर्ने अर्को अवसर मिलेको पन्थीले बताए ।
राम्रो परिवारमा चौरासी गर्दा तीन/चार लाख लाग्छ । तर बिद्यालयले महायज्ञमा पाँच हजारको रसिद काटेर बृद्धा दलित आमाहरको चौरासी गराइएको उनले बताए ।
बिद्यालयका प्रध्यानाध्यापक राममणी पन्थीले महायज्ञमा सहयोग संकलन सन्तोषजनक नभएपनि निराश बन्नुपर्ने कुनै कारण नभएको बताए । ‘ब्राहमणको छोरो मलाई चुनौती थुप्रैछन्, तर महायज्ञले छुवाछुत अन्त्यको उद्घोष गरेको छ,’उनले गम्भिर हुँदै भने,‘चौरासीपछि दलित आमाहरुको खुसीको आँसुसंगै आर्शिवाद पाएको छौ ।
समितिले एक जनाको चौरासी गरेको १५ हजार मुल्य कायम गरेको थियो । तर उनीहरुको आर्थिक अवस्था हेरेर १० हजार छुटमा चौरासी पनि क्रान्तिकारी नै गरिदिएको प्रध्यानाध्यापक पन्थीले बताए । महायज्ञ अवधिभर २० जना दलितले ग्रहशान्ति, बास्तु, रुद्री तथा लक्ष्यवर्ति पुजा गराएको बिद्यालयले जनाएको छ ।
कृषी प्राविधिक शिक्षा संचालनसंगै स्मार्ट बिद्यालय बनाउन ३० भदौबाट संचालन भएको महायज्ञमा भागवत मधुकर पण्डित पुरुषोतम शरण शास्त्रीले कथा प्रवचन गरेका थिए । महायज्ञमा सवैभन्दा बढि उपल्लो तम्घास इन्जिनियर समुहले तीन लाख एक हजार १५ रुपैयाँ सहयोग गरेका छन् ।
व्यक्तिमा सवैभन्दा बढि यमकान्त पाण्डेले एक लाख ३३ हजार रुपैयाँ बिद्यालयलाई प्रदान गरेको महायज्ञ प्रचार प्रसार समिति संयोजक मोहन प्रसाद पाण्डेले बताए ।
उनका अनुसार रेसुंगा नपा ९ का वडाध्यक्ष तथा महायज्ञ मुल समारोह समिति संयोजक नारायण सुनारले एक लाख ११ हजार एक सय ११, सोहि स्थानका टोप बहादुर सुनारले एक लाख एक हजार एक सय ११ रुपैयाँ बिद्यालयलाई प्रदान गरेको बिद्यालयका लेखापाल हिमालय केशीले जानकारी दिए ।
उपल्लो तम्घास माविमा फरक क्षमता भएका बिद्यार्थीहरुलाई अध्ययन गराउने पहिलो बिद्यालय हो । बिद्यालयले २०५९ सालबाट बहिरा तथा सुस्त मनस्थिती भएका बिद्यार्थीहरुलाई आवासीय व्यावस्था सहित अध्ययन गराईरहेको बिद्यालयले जनाएको छ ।
अहिले ३२ जना बिद्यार्थीले अध्ययन गर्दै आएका छन् । २०५९ सालको पहिलो फरक क्षमता भएका पहिलो बिद्यार्थी जिल्लाको बाँझकटेरीका गोविन्द अर्यालले कक्षा सोहि बिद्यालयमा आफु जस्ता बिदार्थीलाई अध्यापन गराउँदै आएको बिद्यालयका प्रध्यानाध्यापक राममणी पन्थीले बताए ।
बिद्यार्थीहरुको व्यावस्थापनको लागि तत्कालिन जिल्ला शिक्षा कार्यालयबाट प्रति महिना प्रति बिद्यार्थी चार हजारका दरले बार्षिक रुपमा रकम आउने गरेको पन्थीले बताए ।
बच्चाहरुको अवस्था र उनीहरुको व्यावस्थापनमा सहयोग पुराउने उदेश्यले महायज्ञमा धान्यचलमा संकलन भएको करिव सात मुरी धान भागवत मधुकर पण्डित पुरुषोतम शरण शास्त्रीले बिद्यालयलाई नै हस्तान्तरण गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend