साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी असोज ३ ।
सार्वभौम संविधान सभावाट जारी भएको नेपालको पहिलो संविधानले आजबाट तेस्रो बर्ष पुरा भएको छ । २०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा केन्द्रदेखि गाउँसम्म विविध कार्यक्रम गरेर आज देशभर संविधान दिवस मनाइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीलाई समृद्ध तुल्याउन संवैधानिक मार्गचित्रले मूर्तरूप लिने वातावरण बन्नु सबैका लागि खुशीको विषय भएको बताएकी छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस २०७५ का अवसरमा शुभकामना सन्देश दिँदै उनले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गरेकी छन् ।
त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानले कल्पना गरेको समाजवाद उन्मुख व्यवस्था र नेपाल सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपालीको’ नारा पूरा गर्न देश आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नति र समृद्धिको मार्गमा दु्रत गतिमा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीप्रति शुभकामना व्यक्त गरेका छन । संविधान दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले आन्दोलनमा ज्यान गुमाएका शहीदप्रति हादिक श्रद्धाञ्जलि अर्पण गर्दै मुलुकलाई विधिको शासनमा बाँध्न अतुलनीय योगदान गर्नुहुने सम्पूर्ण देशवासीप्रति हार्दिक आदर व्यक्त गरे ।
प्रधानमन्त्रीले सात दशक लामो पर्खाइ र प्रयत्नबाट संविधानसभा मार्फत निर्माण गरिएको नयाँ संविधानले नेपाली जनताको आकाङ्क्षा र आशा मात्रै होइन मान्यता र सिद्धान्तलाई समेत समेटेको उल्लेख गरेका छन । त्यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले सदियौँदेखि पछि परेका समुदायलाई राज्यको मूल प्रवाहीकरण गर्न वर्तमान संविधानले दिशानिर्देश गरेको बताएका छन ।
गुल्मीमा पनि सदरमुकामदेखि गाउँसम्म संविधान दिवस मनाइएको छ । जिल्ला समन्वय समिति र रेसुंगा नगरपालिकाको आयोजनामा बुधबार प्रभातफेरी तथा मञ्चिय कार्यक्रम सम्पन्न भएको थियो ।
संविधान दिवस मुल आयोजक समिथि संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुली, रेसुंगा नगरपालिकाका उपमेयर सिता भण्डारी, जिल्ला समन्वय समिति उपप्रमुख तुल्सी श्रेष्ट, प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, नेकपाका तर्फबाट कृष्ण सुनार, नेपाली कांग्रेसका उपसभापति बिष्णु बलाल, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख दिपक बस्नेत, नेपाली सेना, सशस्त्र प्रहरी, विभिन्न सरकारी कार्यालयका प्रमुख प्रतिनिधी, बिद्यालयका शिक्षक शिक्षिका, संचारकर्मी पत्रकार लगायतको कार्यक्रममा सहभागीता रहेको थियो ।
लाँकुरीमञ्चबाट फिल्महल–पुलतीबजार–मिलनचोक–पुरानो बजार–भिमचोक–चिदिचौर हुँदै पुन लाँकुरीमञ्चसम्म प्रभातफेरी गरिएको थियो । प्रभातफेरी पश्च्यात बाल मन्दिरमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेल, नेपाली कांग्रेसका उपसभापति बिष्णु बलाल, नेकपाका कृष्ण सुनार लगायतले संबोधन गरेका थिए ।
कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीको अध्यक्षता, रेसुंगा नगरपालिकाका उपमेयर सिता भण्डारीको स्वागत तथा जिल्ला समन्वय समितिका चोलाराज शर्माको संचालनमा सम्पन्न भएको थियो ।
संविधान दिवस इस्मा गाउँपालिकाले पनि प्रभातफेरी तथा मञ्चिय कार्यक्रम गरेर मनाएको छ । गाउँपालिकाकाका जनप्रतिनिधी, गाउँपालिकामा क्रियाशिल राजैतिक दल, कर्मचारी, बिद्यालयका प्रतिनिधी र सुरक्षाकर्मी सहितको टोलीले गाउँपालिकादेखि राधाकृष्णटोलसम्म प्रभातफेरी गरेको गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताए ।
संविधान दिवस मुल आयोजक समिति संयोजक तथा गाउँपालिकाका प्रमुख लक्ष्मण बिष्टको अध्यक्षता रहेको कार्यक्रममा गाउँपालिका उपप्रमुख बिमला खत्री, राजनैतिक दलको तर्फबाट नेकपा बसन्त सुनार, नेपाली कांग्रेस चन्द्र बहादुर महत, गाउँ सभा सदस्यको तर्फबाट नारायण पैयानी, कार्यपालिका सदस्य तर्फबाट तोयनाथ शर्मा सापकोटा लगायतले संविधान दिवस र सान्दर्भिकताका बारेमा संबोधन गरेका थिए । कार्यक्रम गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत चन्द्रकान्त बस्नेतको संचालनमा सम्पन्न भएको थियो ।
गुल्मीका दुई स्थानीय तह मालिका र मदाने गाउँपालिकाकाले संविधान दिवसको अवसर पारेर नयाँ मुलुकी ऐनका विषयमा अनुशिक्षण सम्पन्न गरेको छ । मालिका गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत लेखनाथ पोखरेल र मदाने गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत सुरेश भण्डारीका अनुसार कार्यक्रममा भर्खरै लागु भएको नयाँ मुलुकी देवानी र फौजदारी संहिताको बारेमा जानकारी गराइएको छ ।
जिल्ला न्यायधिवक्ता लक्ष्मण उपाध्याय घिमिरे र मानव अधिकार अधिकृत गणेश श्रेष्टले कार्यक्रममा सहजीकरण गरेका थिए । नयाँ मुलुकी संहिताका व्यावस्थाका बारेमा गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधी, कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई जानकारी गराइएको छ । मदाने गाउँपालिकाले पुर्कोटदह बजार सरसफाई तथा प्रभातफेरी समेत सम्पन्न गरेको छ ।
धुर्कोट गाउँपालिकाले संविधान दिवसको अवसर पारेर गाउँपालिका सरसफाई अभियान संचालन गरेको छ । गाउँपालिकाल प्रमुख उपप्रमुखको नेतृत्वमा गाउँपालिका परिसर, वडाध्यक्षहरुको नेतृत्वममा बिद्यालय र स्वास्थ्यचौकीहरुले वडामा र टोल संरक्षण महिला मञ्चको नेतृत्वमा प्रत्येयक टोलमा सरसफाई गरिएको गाउँपालिका प्रमुख भुपाल पोखरेलले बताए ।
त्यस्तै सत्यवति गाउँपालिकाले संविधान दिवसको अवसरमा सरसफाई तथा बृक्षारोपण गरेको छ । गाउँपालिकाका प्रमुख पारिश्वर ढकालको नेतृत्वमा इलाका वन कार्यालय वामीबाट प्राप्त तीन सय तेजपात र र ५० कल्की फूलका बिरुवाको वृक्षारोपण गरिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्थानीय जनसमुदायको उल्लेख्य उपस्थिति रहेको थियो । साथै साँझ दिप प्रज्वलन समेत गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले जानकारी दिए ।









© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend