साझा नेटवर्क

काठमाडौ,भदौ ३१:- १३ वर्षीय किशोरी निर्मला पन्तको अनुसन्धानमा लापरबाही भएको भन्दै गृह मन्त्रालयले थप पाँच प्रहरीलाई निलम्वित गरेको छ।
भदौ ७ गते सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिको सिफारिस अनुसार पाँच जना प्रहरीलाई निलम्वित गर्ने निर्णय गरेको हो। निलम्वनमा पर्नेहरुमा डिएसपी ज्ञानबहादुर सेटी, डिएसपी अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रमासिंह धामी रहेका छन्।
डिएसपी जिसी केन्द्रीय अनुसन्धान व्यूरोबाट अनुसन्धान गर्ने गएका प्रहरी हुन्।निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार दिनपछि अनुसन्धानका लागि सिआइवीको टोली कञ्चनपुर पुगेको थियो। व्यूरोबाट डिएसपी अङ्गुर जिसीको नेतृत्वमा तीन सदस्य टोलीले अनुसन्धान थालेको थियो, कञ्चनपुरमा।
घटनामा प्रहरीप्रति शंका बढेपछि गृह मन्त्रालयले तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टलाई भदौ ९ निलम्बन गरेको थियो। दिलीपलाई नक्कली अभियुक्तका रूपमा उभ्याएको स्थानीयको प्रहरीमाथि आरोप थियो।
त्यस्तै सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वा गठित छानविन समितिले शनिवार गृहमन्त्री रामबहादुर थापालाई घटनाको अनुसन्धान फाइल समेत बुझाएको छ।
प्रहरीले अभियुक्त बनाएका ४१ वर्षीय दिलीप सिंह विष्ट बलात्कारमा दोषी ठहर नभएसँगै प्रहरीको अनुसन्धानको विश्वसनीयता थप गिरेको हो। अहिले केन्द्रीय अनुसन्धान व्युरोका एसएसपी ठाकुर ज्ञवालीको नेतृत्वको टोली कञ्चनपुर पुगेर पुन: अनुसन्धान गरिरहेको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend