साझा नेटवर्क
????????????????????????????????????
हुमाकान्त पोखरेल , गुल्मी भदौ १३ ।
अहिले जिल्ला–जिल्लामा महालेखा परिक्षण (मलेप) गर्नेको चटारो छ। केहि स्थानीय तहको अहिले सदरमुकाम तम्घासमा मलेप भइरहेको छ । भने केहि सदरमुकाम आउन श्रेस्ता कुम्लो पार्दैछन् ।
मलेप सम्बन्धित कार्यालयमा पुगेर गर्नुपर्ने कानुनी व्यावस्था छ । तर काठमाण्डौबाट आएको महालेखा परिक्षकको एउटा टोलीले सदरमुकाम तम्घासमै बसेर मलेप गरिरहेका छन् । जिल्लाका दुई नगर र १० गाउँपालिकामा महालेखा परिक्षकको कार्यालयका निर्देशक बल बहादुर कार्की र दिव्य दर्शन अधिकारीको दुई टोलीले मलेप गर्दैछ ।
कार्कीले जिल्लाको मुसिकोट नगरपालिका, गुल्मी दरवार, छत्रकोट, इस्मा, चन्द्रकोट र कालीगण्डकी गाउँपालिकामा मलेप गर्दैछ । भने अर्को निर्देशक दिव्य दर्शन अधिकारीको टोलीले रेसुंगा नगरपालिका, मालिका, मदाने, धुर्कोट, सत्यवति र रुरु गाउँपालिकामा मलेप गर्दैछ। त्यस मध्येका निर्देशक अधिकारीको टोलीले सोमबारदेखि सदरमुकाम तम्घासको साविकको प्राविधिक कार्यालममा रेसुंगा नगरपालिका र सत्यवति गाउँपालिकाको मलेप गरिरहेको छ ।
निर्देशक अधिकारीले आफुहरु गाउँमै जाने भनेर आएपनि दुर्गम र बर्खाको कारण सदरमुकामै मलेप गर्न थालेको बताए । आफुहरुले गर्ने जिम्मा पाएका स्थानीय तह मध्ये रुरु र धुर्कोट बाहेक अरुलाई सदरमुकाममै बोलाएको अधिकारीले बताए ।
त्यस मध्येका अर्का टोलीका निर्देशक कार्कीले छत्रकोट गाउँपालिका सकेर अहिले गुल्मी दरवार गाउँपालिकाको मलेप गरिरहेको छ । निर्देशक कार्कीले मलेप सम्बन्धित कार्यालयमै गएर गर्नुपर्नेमा स्विकार गर्छन्। कार्कीले कुनै ठुलो समस्या परे मात्रै समन्वय गरेर सदरमुकाममा गर्न सक्ने भएपनि कार्यालयलाई फाइल बोकेर आउन मुस्किल पर्ने बताए । ‘अहिले दुई स्थानीय तहको काम गरिरहेका छौ, सकेसम्म गाउँ पुगौ भन्ने हो,’ उनले भने,‘ समस्या परे सदरमुकाम बोलाउँछौ ।’
सत्यवति गाउँपालिका प्रमुख पारिश्वर ढकालले पहिले मलेपको टोलीले आफुहरुलाई गाउँमै आउने जानकारी गराएपनि पछि सदरमुकाम तम्घासमै बोलाएकाले कर्मचारी फाइल बोकेर गएको बताए । उनले पनि काम भएकै ठाउँमा गएर महालेखा परिक्षण गर्नुपर्ने बताए । त्यस्तै इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले पनि पहिले आफुहरुलाई १२ भदौको मिति दिएपनि पछि सदरमुकाममै आउन भनेकाले कर्मचारीहरु तम्घास जाने तयारी गरिरहेको बताए ।
उनले पनि गाउँमा भएको काम कारबाहिको सदरमुकाममा बिल हेरेर मात्र मलेप नहुनेमा जोड दिए । ‘महालेखा परिक्षकको कार्यालयको सुचनानै भरपर्दो भएन, कहिले गाउँ कहिले तम्घास ?उनले भने,‘ मलेप कागजी प्रक्रिया हेर्ने मात्र हैन ।’ त्यस्तै एकिकृत ग्रामिण विकास समाजका अध्यक्ष हिरा एसीले पनि स्थानीय तहमा भैरहेको खरिदका बारेमा चर्को आलोचना भैरहेका बेला जिल्लामा मलेप हुनु दुखद पक्ष भएको बताए । ‘गाउँमा किनेको सोफा वा फर्निचरको अवस्था मलेपलाई तम्घासमा के थाहा ? सामग्री ल्याउने कुरा भएन,’उनले भने,‘ बिल जस्तो पनि हुन्छ ।’ उनले अहिले जिल्लाका धेरै स्थानीय तहमा गाडी पुग्ने र पानी पनि त्यति नपरेकाले समस्या नभएको बताए ।
प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले आफुले शुरुमा गाउगाउँमै पुगेर मलेप गर्न निर्देशन दिएको बताए । उनले कार्यालयका सुविधाका लागि भन्दा मसिनो गरि कार्यालयका आर्थिक गतिविधी हेर्न भनेको बताए । ‘जिल्लामै बसेर मलेप गर्ने भए स्थानीय तह पोको बोकेर काठमाण्डौ गए भयो,’उनले भने,‘मैले फेरि फोन गरेर पनि गाउँ नै जान भन्छु ।
’ कोष तथा लेखा नियन्त्रक सशिन्द्र खातीका अनुसार स्थानीय सरकारले गाउँ सभा, ऐन नियम र कार्यक्रम अनुसारको बजेटको श्रेस्ता र खरिद बिक्रीको लेखाजोखा गरिन्छ । प्रमुख जिल्ला अधिकारी पौडेलले टोलीलाई गाउँ पुग्न गाह्रो सारो परे खबर गर्न समेत भनेको बताए ।
स्थानीय तहमै पुगेर मलेप गर्नुपर्ने महालेखा परिक्षको कार्यालयले सदरमुकामको जिल्ला प्राविधिक कार्यालयमै मलेप गर्दै । तस्विर / हुमाकान्त पोखरेल


प्रकाशित मिति : १३ भदौ २०७५ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend