साझा नेटवर्क

काठमाडौं, भदौ ३ गते । नेपाली कांग्रेसले भातृ संस्था नेपाल विद्यार्थी संघको कार्यकाल तीन महिना थप गर्ने निर्णय गरेको छ।
नेविसंघको विधानमा कार्यकाल सकिएपछि विशेष परिस्थितिमा तीन महिना थप गर्न सकिने उल्लेख छ। नैनसिंह महर नेतृत्वको नेविसंघको कार्यकाल भदौ २ सकिएको थियो। पार्टीको निर्देशन समितिले १२ औं अधिवेशन गराउन भन्दै कार्यकाल थप गरेको हो।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा नेविसंघलाई संघीय संरचनामा लैजान निर्देशन दिने निर्णय भएको उल्लेख छ।
नेविसंघ केन्द्रीय सदस्य सुशील भट्टका अनुसार संगठनलाई संघीय संरचनामा लैजाने तथा उमेर हदबारे भएका विवाद समाधान गर्नेबारेमा छलफल भइराखेका छन्। आउँदो मंसिरभित्रै महाधिवेशन सक्ने गरी तयारी गरिएको नेविसंघ सभापति महर दाबी गर्छन्। सेतोपाटी बाट साभार
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend