साझा नेटवर्क
-रजिस्मा के.सी. ।
‘पत्रकारिता’ बाहिरबाट हेर्दा अति आकर्शक तर भित्रभित्रै चरम अभाव, अदृस्य नैरास्यपन र असुरक्षा । खारिएको दिमाग, तिखारिएको सरिर र कलम, एकोहोरो समाचारकै हुटहुटी, नखौरिएको दाह्री र फुस्स गन्हाउने झोला…! स्टुडियोको वातानुकुलित कुर्सीमा बस्ने केहि भाग्यमानी पत्रकारहरु बाहेकका पत्रकारहरुको औसत पहिचान हो ।
राजधानीका सिमित पत्रकारहरु पैचालिस लाख पर्ने टोयोटा गाडीमा, टाईसुटमा सजिएर स्टुडियो पुगेपनि मोफसलमा समस्याका चांङ्ग माथि पत्रकार ‘अलपत्रकार’ बनेर रोमल्लिएको हुन्छ । अरुको समस्यालाई बाटो देखाई दिन झोला बोक्दै, नखौरिएका दाह्री बोकेर नगर देखि जंगलसम्म घुम्ने ‘पढेलेखेका घुमन्ते’ पत्रकारहरुको घरखर्च यानि ‘किचेन बजेट’ कस्तो हुन्छ त आज चर्चा गर्न मन लागिरहेको छ ।
राज्यले श्रमजिवी पत्रकारहरुको हकमा राम्रो तलव सुबिधाको कुरा गरेपनि देशका नामचिन मिडिया हाउसहरुबाट पत्रकारहरु शोषणमा परेको कुरा नौलो रहेन । मिडिया हाउसबाट चार, पाँच महिना लगाएर आउने तलव भन्दा पहिल्यै ‘किचेन बजेट’ ऋणात्मक बनिसकेको हुन्छ ।
सदरमुकाम केन्द्रित पत्रकारिता नगरी ‘रुलर’ एरियामा बसेर काम गरे पत्रकार नै नमानिने, सदरमुकाम केन्द्रित पत्रकारिताले घरको बजेट सामान्य कोठामा बसेपनि करिव बिस हजार मासिक पुग्न जान्छ र बिस घण्टा कुँदेर बिस हजार पनि नलिई घर फर्कने पत्रकारलाई ‘किचेन नै आतंक लाग्न सुरु गर्छ ।
एकातिर समाचारको टेन्सन, समाचार लेखि सकेपछि छाप्छ कि छाप्दैन भन्ने टेन्सन, छापिहाले पनि कसैले धम्काउने होकी भन्ने टेन्सन, महिना पुग्छ तलव नआएर टेन्सन, घरबेटीले अरु कामले बोलाउदा पनि ‘लौ भाडा माग्न बोलायो’ भन्ने टेन्सन, केटाकेटीको स्कुलको फिस, आकासिँदो तरकारीको मुल्य, अनि घरबाट आमाबुवाले लौ दुलही लगेर सहरमा राख्या छ भन्छन कि भन्ने टेन्सन ।
आफु सँगै पढेको साथीले बिदेशमा गएर घरघडेरी जोड्यो रे भन्ने सुन्यो अझै टेन्सन…टेन्सन कै टेन्सनको ‘कलमको यात्रामा सबै भन्दा टेन्सन त तव हुन्छ जव बिदेशबाट घरबिदामा नेपाल फर्किएको साथीले भन्छ ‘ओई तँ त ठुलो मान्छे भएछस लु पार्टी ख्वाई ।
पत्रकारको ‘समस्या र टेन्सन’को लडाँईमा सबै भन्दा टेन्सन त ‘किचेन म्यान्टेनर’यानी पत्रकारको दुलहीलाई हुने गर्छ । दिनभरि केटाकेटीहरुसँग लड्यो बिच्कियो उनिहरु सँगै हिलो, धुलो, माटो खायो । हारेर, थाकेको शरिर लिएर साँझ श्रीमान आई पुगेपछि केटाकेटीको उपद्रो सुनाएर भएपनि मन शान्त गर्छु भन्यो उता पत्रकार ज्युको कहानी सुन्दा आफ्नो कहानी मनैभित्र गुम्सिन्छ।
अनि आमा-बाबाले भनेको सम्झिएर मनमनै रुन मन लाग्छ । बाबा-आमाले बिहे गर्ने बेला भन्नुहुन्थ्यो ‘ज्वाई निकै ठुलो हुनुन्छ, सदरमुकाममा रवाफ छ, तँ त कति भाग्यमानी रैछन नानु । पिरलो माथि झन ‘महापिरलो’ बनेर आईदिने तिज पर्व,साउन बाटै दर खाने कार्यक्रम भन्दै पत्रकारहरुलाई निम्ता आईपुग्छ।
दर खुवाउने अरु नै भएपनि दर खान जाँदा के गहना लगाउने र कस्तो लहँगा लगाउने ? यहि बिषयमै तिजको रंङ्ग, भङ्ग भईदिन्छ । फलानो त्यति नामी पत्रकार छ । सदरमुकाममा रवाफ छ तर त्यस्को श्रीमतिको लवाई, खवाई त साठीको दशकको छ त । मुलत, यिनै शब्दबाणहरु नेपथ्यमा सुनिन थाल्छन तर पत्रकारकी श्रीमति हुनुको पिडा यिनीहरुलाई के थाहा ?
हरेक वर्ष विभिन्न बाहना र नाममा पत्रकारहरु कुटिन्छन, मारिन्छन । बिहान हाँसी, खुसी कार्यक्षेत्रमा गएको पत्रकार साँझ सकुसल फर्कने हो कि होईन सबै भन्दा पिडा यस बिषयमा हुन्छ । ‘किचेन ब्ययभार’मा चलिरहेको परिवारको लागि आसा अनि भरोषाको एउटै किरणको अनहोनीको पिडा एउटा पत्रकार श्रीमति बाहेक अरुले बुझ्न कठिन हुन्छ।
समाचार बनाउन गएको पत्रकार आफै समाचार बन्न पुग्छन । कठिन यात्रा, रात्रीकालिन समय, जंगलको बाटो, स्टिङ्ग अपरेसन, मिसन रिपोर्टिङ्ग, दुर्घटनाको रिपोर्टिङ्ग, अनियमितता, कालोबजारी र सरकारको कामकार्वाही प्रति बिरोधात्मक रिपोर्ट गरेबापत आफै समाचार बन्नुपरेका कैयन घटनाहरु मिडियामा आउदा मन कुडिन्छ र ब्यभारमा परेको ‘किचेन बजेट’ झनै थला नै परिदिन्छ।
त्यसो त पत्रकारिताका धेरै राम्रा पक्षहरु पनि छन । देशको सिमानाहरुमा गएर ‘मेरो देश यहाँ सम्म छ’ भन्दै पत्रकार गर्जिदा,समाजका भद्र ब्यक्तित्वबाट सम्मानित बन्दा र यो फलानो पत्रकार की ‘दुलही’हो भन्दै तरकारी किन्न जाँदा नि आईमाईहरु खासखुस गर्दा अभावै भएपनि संसारै जितेजस्तो महसुस हुन्छ ।
भाडाको घरभरि टाँसिएका प्रमाणपत्र र दोसल्ला हेरेर ‘पेट भोकै’ भएपनि गर्व महसुस हुन्छ । तरकारी वालाले ‘हजुर त पत्रकारको दुलही हो’ कहाँ धेरै नाफा खाउला र ? भन्दा लाग्छ पत्रकार मेरै खुसीको लागि दाह्री काट्न पनि भ्याएको छैनन। अवोध छोराले ‘म पनि ठुलो भएर ड्याडीले जस्तै नाम कमाउने हो मामु’ भन्दा हर्षका आँशुले नयनहरु छोपिदिन्छ ।
पत्रकारसंग माईत जाँदा जे जस्तो कपडा छ त्यहि लगाएर गएपनि बाबा,आमाले छोरीले दुख पाईछ भन्दैनन बरु भन्छन ‘मेरी छोरीलाई पनि ज्वाईलाई जस्तै सादगी मन पर्न थालेछ’। बहिनीले मस्किँदै भन्छे ‘भिनाजु यत्रो नाम भएर नि कति साधरण है दिदी’ मन चसक्क पोलेपनि पत्रकारको लोकप्रियतामा मख्ख हुन्छु म किनकी म पत्रकारकी दुलही हुँ।
म पनि नारी हुँ, राम्रो कपडा लाउने, धेरै गहनाले झकिझकाउ बन्ने रहर त देवताको पाला देखि चलिआएको परम्परा हो तर पनि अभाव, प्रभाव सबै सहेर एउटा पत्रकारलाई ‘किचेन बजेट’ कम गरेर सघाउन सकुँ।
दिनभरि भाडाको घरमा केटाकेटी संग धुलाम्ये भएपनि पत्रकारको सामु साँझ खुसी नै देखिन सकुँ,दिनभरि समाचार खोज्दै हिड्दा लखतरान भएका गोडामा तेल लगाईदिन सकुँ। प्रवृति बिरुद्ध निडर भएर लाग्नुहोस कसैगरि हजुरलाई केहि भईहाल्यो भनेपनि हजुरको बाटोमा यो छोरालाई हिँडाल्न र हजुरको हातबाट छुटेको कलम छोरालाई पक्राउन सकुँ।
मेरो र केटाकेटी हरुको भन्दा बढि माया देशको गर्नुहोला र देशद्रोह गर्नेहरुको कठालो समातेर माईक मुखमा ठुँसेर सोध्नुहोला ‘यो देश तेरो बाबुको जागिर हो ‘? म टिभीमा हेरेर सबै पिडा भुल्नेछु ।
तर एउटा डरले भने सधै घर गर्ने भो दाह्री पालेको र ख्याउटै देखे पत्रकार भने झै गहना नलगाएकी र दुब्ली पातली आईमाई देखे यो त पत्रकार की दुलही रैछ भनेर समाजमै नजिर बस्ने हो की ?
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend