साझा नेटवर्क
हुमाकान्त पोखरेल , गुल्मी साउन १८।
गुल्मीदरबार गाउँपालिकाले आर्थिक बर्ष २०७४/७५ मा ९२.४ प्रतिशत वित्तीय प्रगति गरेको छ ।
बिहिबार पत्रकार सम्मेलन गरी गाउँपालिकाले गत आर्थिक बर्षमा भए/गरेका कार्यप्रगतिहरु सार्वजनिक गरेको थियो । गाउँपालिकाले गत आर्थिक बर्षमा कुल २४ करोड ६९ लाख ५० हजार पाचँ सय चार रुपैँया ४० पैसा बराबरको बजेट ल्याएको थियो । जसमध्ये चालुतर्फ दुइ करोड ७४ लाख ९४ हजार विनियोजन गरिएको थियो ।
जसमा दुई करोड ६७ लाख ९४ हजार ५४ रुपैया ८५ पैसा खर्च भएको छ । त्यस्तै पूँजिगततर्फ विनियोजन भएको ११ करोड ९३ लाख ३३ हजार पाचँ सय चार रुपैँया ४० पैसामध्ये १० करोड ३८ लाख ७० हजार एक सय ५१ रुपैँया ९९ पैसा खर्च गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकालाई सशर्त अनुदान तर्फ १० करोड एक लाख २३ हजार प्राप्त भएको थियो । जसमध्ये ९ करोड ७५ लाख ४७ हजार पाचँ सय ४३ रुपैयाँ ८ पैसा रकम खर्च गर्न सफल भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्माले जानकारी दिए ।
गत आथिक बर्षमा गुल्मीदरबार गाउँपालिकामा गाउँसभाद्धारा चार सय ४४ योजनाहरु स्वीकृत भएका थिए । जसमध्ये चार सय १० अर्थात ९२.४१ प्रतिशत योजना कार्यान्वयन भएको छन् । अधिकाशं योजनाहरु उपभोक्ता समितिमार्फत भएको पनि गाउँपालिकाले जनाएको छ । त्यस्तै गाउँपालिकाले गाउँपालिका कार्यालयमा डिजिटल बडापत्र, विद्युतिय हाजिरी तथा गुनासो सुन्ने अधिकारीको पनि ब्यवस्था गरेको छ । त्यस्तै २७ वटा कानुन तर्जुमा गरी कार्यान्व्यनमा ल्याइएकोमा १७ वटा राजपत्रमा प्रकाशित समेत गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शर्माले बताए ।
गाउँपालिकाले गत आर्थिक बर्षमा १० लाख रुपैँया बराबरको आन्तरीक आम्दानीको अनुमान गरेको थियो । तर आर्थिक बर्षको अन्त्यमा लक्ष्यभन्दा बढी अर्थात १३ लाख ४४ हजार छ सय ९२ रुपैयाँ आम्दानी प्राप्त गरेको गाउँपालिकाले जनाएको छ ।
गुल्मीदरबार गाउँपालिकाले आर्थिक बर्ष २०७५/७६ को लागि २८ करोड ८८ लाख ८९ हजार बराबरको बजेट अनुमान गरेको जनाएको छ । जसमध्ये समानीकरणतर्फ १३ करोड ९३ लाख ८९ हजार, सशर्ततर्फ १३ करोड र आन्तरीक आम्दानी २० लाख अनुमान गरिएको गाउँपालिका अध्यक्ष अशोककुमार थापाले जानकारी दिए ।
गाउँपालिकामा एक करोड ७५ लाख गत बर्षको मौज्दात रकम रहेको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिए । त्यस्तै खर्चतर्फ पूँजिगतमा १० करोड ३६ लाख ३६ हजार, चालुतर्फ ५ करोड ५२ लाख ५३ हजार र सशर्ततर्फ १३ करोडको अनुमान गरिएको अध्यक्ष थापाले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend