साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी असार २९।
गुल्मीको धुर्कोट गाउँपालिका वार्ड नम्बर ६ रजस्थलको कमेरपानी टोलका सबै घरमा धारा पुगेका छन् । गाउँपालिकाको आर्थिक सहयोग तथा ‘कमेरपानी खानेपानी उपभोक्ता समिति’ को निर्माणमा टोलमा भएका सबै घरमा धारा पुगेको हो ।
गाउँपालिकाको सात लाख सहयोगमा दुई महिनामै टोलका २६ घरमा धारा पुगेको छ । धाराको बिहिबार उद्घाटन समेत गरिएको छ । घरमै धारा आउनुभन्दा अगाडी स्थानिय टोलमा भएको धारोमा पानी भर्न जाने गर्दथे ।
हिँउदको समयमा धारामा पानी नआउदा आधा घण्टाको बाटो हिडेर कनियाँरुखको मुहानमा पुग्नुपर्ने बाध्यता थियो । तर घरमै धारा आएपछि स्थानियलाई गाग्री बोकेर खोला–पधेँरा धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । ‘घरको सबै काम छोडेर बिहानको समय पानी बोक्न जानुपथ्र्यो, जसले गर्दा समयमा खानु समेत थिएन ।
स्थानिय तुल्सी थापाले भनिन्, ‘घरमै पानी आएपछि समयको बचत भएको छ ।’ त्यस्तै स्थानिय शान्ता भण्डारीले पनि घरमै पानी आएपछि पानी बोक्ने समयमा अरु काम गर्न पाइने भन्दै खुसि ब्यक्त गरिन् । ‘पानी बोक्ने समयमा घाँस–दाउरा तथा मेलापात गर्न पाइने भएको छ ।’ उनले भनिन्, ‘घरमै धारा जडान भई पानी आउला भनेर सोचेकै थिइन ।’
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गाउँपालिका प्रमुख भुपाल पोखरेलले सिँचाई गर्न पुग्नेगरि घरमै पानी आएपछि तरकारी तथा अन्य नगदेबालि लगाई जिवनस्तर उकास्न आग्रह गरे । ‘कृषि र कृषिजन्य वस्तुहरुको उत्पादन गरि आयआर्जन बढाउनतर्फ लाग्नुस् ।
उनले भने, ‘आवश्यक सहयोग गाउँपालिकाले गर्छ ।’ त्यसका साथै गाउँमा आएका सबै योजनाहरुको कार्यान्वयन गर्दै नमुना गाउँपालिका निर्माणमा जुट्न समेत सबैलाई आग्रह गरे ।
त्यस्तै विशेष अतिथि गाँउपालिका उपाध्यक्ष शिव बहादुर खत्रीले अबको चार बर्षमा गाउँपालिकाका सबै घरमा धारा पु¥र्याउने आफूहरुको लक्ष्य रहेको बताए । ‘निर्वाचनमा गरेको प्रतिवद्धताअनुसार अन्य विकासका कामसँगै एक घर–एक धारालाई पनि तिब्रता दिएका छौ ।’ उनले भने, ‘स्वच्छ पानी पिउन पाउने नागरिकको अधिकारलाई गाउँपालिकाले सुनिश्चि गर्छ ।
धुर्कोट गाउँपालिकामा हालसम्म एक सय ४२ घरमा खानेपानीको धारा पुगेको छ । वडा नम्बर ४ जैसिथोकमा ‘जैसिथोक लिफ्ङि खानेपानी आयोजना’मार्फत ९३ घरमा धारा जडान गरिएको छ । त्यस्तै वडा नम्बर ६ रजस्थलको चौरमा २३ र कमेरपानीका २६ घरमा पनि स्वच्छ पिउने पानीको धारा जडान गरिएको गाउँपालिकाका प्रवक्ता कविता विकले जानकारी दिइन् ।
गाउँपालिकाले आर्थिक बर्ष ०७५÷७६ मा खानेपानीको लागि एक करोड ५० लाख विनियोजन गरेको प्रमुख प्रशासकिय अधिकृत लोकहरी थापाले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा रजस्थलका वडाध्यक्ष कृष्ण नेपाली, पश्चिम नेपाल खानेपानी तथा सरसफाई परियोजनाका गाउँपालिका संयोजक छविवलाल विश्वकर्मा, हिमालय माविका ब्यवस्थापन समिति अध्यक्ष केशवराज भण्डारी, पत्रकार हुमाकान्त पोखरेल, समाजसेवी, बुद्धिजिवी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम कमेरपानी खानेपानी उपभोक्ता समितिका अध्यक्ष गिर बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष तेज बहादुर जिसीको स्वागत मन्तब्य तथा वास सहजकर्ता लालमणी भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend