साझा नेटवर्क
काठमाडौं, असार १४ ।
सामाजिक सन्जालमार्फत प्रेस काउन्सिल नेपालका पदाधिकारीलाई ज्यान मार्नेसम्मको धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।महानगरीय अपराध महाशाखाले इलाम घर भई ललितपुरको बागडोल बस्ने ५० वर्षका विनोद गौतम र नवलपरासी सुनवल नगरपालिकाका ३६ वर्षका विष्णु ढकाललाई पक्राउ गरेको हो,
उनीहरुले न्युज २४ टेलिभिजन बाट प्रसारण हुने सिधाकुरा जनतासँगको विषयमा परेको उजुरीको छानबिनको घटनालाई आधार बनाई नेपाल प्रेस काउन्सिलका पदाधिकारीलाई सामाजिक सञ्जालमा आपत्तिजनक, अमर्यादित शब्दहरु प्रयोग गरी पोस्ट र कमेन्ट गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुले काउन्सिलका पदाधिकारीहरुको व्यक्तिगत जीवन तथा मान प्रतिष्ठासमेतमा आघात पुर्याउने र ज्यान मार्ने धम्की दिएर सामाजिक सञ्जालमा स्टाटसहरु लेखेका थिए।
मंगलबार प्रहरीले गौतमलाई काठमाडौंको टेकुबाट र ढकाललाई नवलपरासीको सुनवलबाट पक्राउ गरिएको महाशाखाका प्रहरी उपरीक्षक ९एसपी० नरेन्द्र उप्रेतीले बताए । उनीहरुलाई विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान कारवाहीको लागि बुधबार महानगरीय प्रहरी परिसर, काठमाडौमा पठाइएको अपराध महाशाखाले जनाएको छ ।
विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम यस्तो कार्यमा संलग्नलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद सजायँ वा दुबै सजाय हुने व्यवस्था छ । अनलाइनखबर
प्रकाशित मिति : १४ असार २०७५ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend