साझा नेटवर्क
कमल पौडेल , गुल्मी असार ११ ।
बडिगाड गाउँपालिकाको तेश्रो गाउँसभा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७५/७६ को लागि निति तथा कार्यक्रम, वजेट र आवश्यक कानुन पारित गर्दै गाउँ सभा सम्पन्न भएको हो।
सभामा गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजाले निति तथा कार्यक्रम मार्फत विकास निर्माणमा अनिवार्य जनताको सहभागिता को लागी नगद र श्रम अनिवार्य गर्ने, कृषि पशु तथा उत्पादनमा जोड दिने,सडकले नछोएको २ वटा वडामा सडक पुर्याउने, काठेपुल विस्थापित गरी झोलुङ्गे पुल निर्माण गर्ने, व्यावसायीक खेती तथा पशुपालन सुरु गर्ने, उर्जा विकासको लागि पहल गर्ने, सुरक्षीत खानेपानी, तरकारी उत्पादन र वजारीकरण, जडिवुटि संकलन र प्रशोधन, बजारिकरणको लागि जोड दिने, खानी उत्खनन्को लागि पहल गर्ने, शिक्षा, स्वास्थ्य क्षेत्रको सुधार गर्ने, युवा परिचालन गरि रोजगारी सिर्जना गर्ने, वचतलाई प्रोत्साहन गर्ने लगाएतका कार्यक्रम घोषणा गर्नुभएको छ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष अम्मर वहादुर श्रीसले आ.व. २०७५÷७६ को लागि ४० करोड १८ लाख १४ हजार ७ सय ५३ रुपैयाको वजेट घोषणा गर्नुभएको छ। जस अन्तरर्गत चालु तर्फ ५ करोड ९८ लाख ८९ हजार र पुँजीगत तर्फ १६ करोड ५ लाख २५ हजार रहेको छ भने ससर्त मा १८ करोड १४ लाख वजेट विनियोजन भएको छ।
पुँजीगत तर्फ आर्थिक विकासमा २ करोड ६१ लाख, सामाजिक विकासमा ८ करोड ४२ लाख ९० हजार, पूर्वाधार विकास तर्फ ८ करोड ७६ लाख ३० हजार, बातावरण तथा विपद व्यावस्थापन तर्फ ५५ लाख र संस्थागत विकास, सेवा प्रवाह र सुशासनमा ५१ लाख ७६ हजार वजेट विनियोजन भएको छ। सो खर्चको लागि आन्तरीक राजश्ववाट ६३ लाख १५ हजार, अन्तर सरकारी वित्तीय हस्तान्तरण वाट ३३ करोड १९ लाख ५१ हजार प्राप्त हुने अनुमान गरिएको छ। आन्तरिक राजश्व तर्फ सम्पत्ति करवाट १४ लाख २० हजार, घरबहाल करवाट १० लाख, सवारी साधन पटके कर वााट ४ लाख, सेवा शुल्क वाट २० लाख, व्यावसाय कर वााट ५ लाख ७५ हजार, मृत वा मारिएका जीव जन्तुको अवशेष कर वाट २ लाख ७० हजार र अन्य श्रोत वाट ६ लाख ५० हजार अनुमान गरिएको छ।
त्यस्तै अन्तरसरकारी वित्तीय हस्तान्तरण तर्फ वित्तीय समानीकरण अनुदान तर्फ २० करोड ४२ लाख ८६ हजार र ससर्त अनुदान १२ करोड ७६ लाख ६५ हजार रहेको वजेटमा उल्लेख गरिएको छ। बडिगाड गाउँपालिकाको वजेट समग्रमा हेर्दा सार्वजनिक निर्माणमा वढि देखिएको छ, विषयगत हिसावले पूजिँगत खर्च मध्य १५ करोड ८२ लाख २५ हजार सार्वजनिक निर्माणमा देखिएको हो।
बजेट विनियोजन गर्दा वडाको जनसंख्या र भुगोललाई आधार वनाएर ९ करोड ६० लाख विनियोजन गरिएको छ भने अध्यक्ष विशेष कृषि कार्यक्रम, अध्यक्ष पशुपालन कार्यक्रम र अध्यक्ष राष्ट्रिय कराँते प्रतियोगीता लगाएतका कार्यक्रम समावेश गरिएको छ। जस अन्तर्गत कृषि कार्यक्रमको लागी १ करोड, पशुपालन कार्यक्रमको लागि १ करोड र राष्ट्रिय कराँते प्रतियोगीताको लागि २० लाख विनियोजन गरिएको छ। पर्यटन तर्फ चमेरे गुफा प्रवद्र्धनमा २५ लाख, प्रस्तावित भानु क्याम्पसको लागि ४० लाख, ग्वालीचौर जलजला रणसिंह मोटरवाटोको लागि ५० लाख विनियोजन गरिएको छ। निति तथा कार्यक्रम र वजेट संसोधन सहित सर्वसम्मतीले आइतवार नै पास भएको छ।
स्थानिय सरकारको वजेट घोषणा कार्यक्रम गत वर्ष त्यती व्यवस्थित नदेखिएपनि यस वर्ष व्यवस्थित देखिएको छ। केन्द्र, प्रदेश सरकार मा झैं अध्यक्षले सभामुखको हैसियतमा रुलिङ बाट सभा सम्पन्न भएको छ। त्यस्तै सभाले गाउँकार्यपालिकाले निर्माण गरेका १० वटा कानुन तथा कार्यविधिहरुलाई पारित गरेको छ।
विधेयक समितिका संयोजक अर्जुन प्रसाद खरेलले प्रस्ताव गर्नुभएका सभा संचालन कार्यविधि, आर्थिक कार्यविधि, सहकारी विधेयक, वजार अनुगमन निर्देशिका, कृषि व्यावसाय प्रवद्र्धन गर्न वनेको विधेयक, प्रशासकिय कार्यविधि, एफएम रेडियो व्यावस्थापन तथा संचालन कार्यविधि, उजुरी कार्वाहिको लागि वनेको विधेयक, स्थानिय राजपत्र प्रकाशन सम्बन्धि कार्यविधि र लघुउद्यम विकास कार्यक्रम कार्यविधि २०७५ लाई सर्वसम्मत पारित गरेको हो।
सभाले वडा नं. ७ को कार्यालय सार्ने वडा नं. ७ का वडा अध्यक्ष कृष्ण गुरुङले राखेको प्रस्तावलाई आवश्यक अध्ययन पछि निर्णय गर्ने गरि स्थगनमा राखेको छ।
स्थानिय कर दरमा खासै परिवर्तन नभएपनि व्याक्तिगत सम्पत्ति मुल्याङ्कनमा लगाउँदै आएको ०.५ प्रतिशत कर लाई घटाई ०.१ प्रतिशत वनाएको छ। जसको कारण वैदेशिक रोजगारीमा जाँदा सम्पत्ति मुल्यांकन गर्नेहरुलाई राहत मिल्ने देखिएको छ।
फोटो एटेज गरिएको छ। हेर्न सक्नुहुने छ




प्रकाशित मिती : ११ असार २०७५ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend