साझा नेटवर्क
हुमाकान्त पोखरेल , गुल्मी असार ०७।
गुल्मीको धुर्कोट गाउँपालिकाको तेस्रो गाउँसभा सुरु भएको छ । गाउँसभामा गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले आर्थिक बर्ष २०७५/७६ को लागि गाउँपालिकाका नीति तथा कार्यक्रमहरु गाउँसभामा पेश गरेका छन् ।
अध्यक्ष पोखरेलले गाउँपालिका भित्र आयोजना सञ्चालन गर्दा वातावरण संरक्षणको लागि ध्यान दिईने, हरेक आयोजनाहरु सञ्चालन गर्दा महिला मैत्री, बाल मैत्री, जेष्ठ नागरिक मैत्री तथा अपांङ मैत्री बनाउन जोड दिइने लगायतका नीति तथा कार्यक्रमहरु पेश गरेका छन् ।
खरको छानामुक्त गाउँपालिका
धुर्कोट गाउँपालिकाका जनप्रतिनिधिहरुले पदभार ग्रहण गरिसकेपछि खरका छाना विस्तापित गरी जस्तापाताको ब्यवस्था गर्ने पहिलो निर्णय गरेको थियो । अहिले सो नीति जिल्लाका अधिकाशं स्थानिय तहका साथै केन्द्र सरकारबाट अर्थमन्त्रीको बजेट भाषणमा समेत समेटिएको छ ।
धुर्कोटमा पनि जस्तापाता वितरण कार्य भइरहेको छ । यसै बर्ष खरको छाना मुक्त गाउँपालिका घोषणा गर्ने लक्ष्य लिइएको छ । यसै गरि धुर्कोट कोट संग्रालय, बर्वोट सहिद पार्क र घरिथुम खेल मैदानलाई गौरवको आयोजना घोषण गरि कार्यक्रम अगाडी बढाउने पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।
गाउँपालिकाले प्रगतिशिल कर प्रणाली अवलम्बन गर्ने र कर अभिलेख प्रणालीलाई सुचना प्रविधिमा आधारित बनाउदै लगिने तथा २०७८ लाई धुर्कोट पर्यटन बर्षका रुपमा मनाउने नीति पनि गाउँसभामा पेश भएको छ ।
कृषिमा आत्मनिर्भर गाउँपालिका
गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन पकेट क्षेत्र तथा कृषि ब्लक निर्धारण गरि कृषिमा विविधिकरण गर्ने, सुन्तला, अदुवा, कफि, खुर्सानी, अमिला जातका फलफुल, मसलावाली तथा नगदेवालीलाई प्रवर्धन र विकास गर्ने, उत्पादनमा आधारीत अनुदानलाई प्रभावकारी ढंगले अगाडी बढाउने र किसान परिचयपत्र वितरणको कामलाई निरन्तरता दिने नीति पनि गाउँसभामा पेश भएका छन् । त्यस्तै प्रत्येक वडामा माटो परिक्षण गर्न शिविर सञ्चालन गरी माटोको उपचार गरि उत्पादनलाई बृद्घि गर्ने पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।
पशुलाई सुत्केरी भत्ता
कृत्रीम गर्भधानबाट सुत्केरी बनेको पशु जसमा गाई र भैसीलाई दुई हजार र बाख्रालाई एक हजार बराबरको पोषण उपलब्ध गराउने, कृत्रीम गर्भधान केन्द्र सञ्चालन गरी गरिवी न्युनिकरण र रोजगारीका लागि कृषि र पशु पालनलाई व्यवसायीकरण गर्ने पनि गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, रोजगार लगायतका विषयवस्तुलाई पनि प्राथमिकताका साथ अगाडी लैजाने नीति अबलम्बन गर्ने भएको छ ।
गाउँसभामा उपप्रमुख शिव बहादुर खत्रीले गाउँपालिकाको प्रशासकिय कार्यविधि ऐन, स्वास्थ्य ऐन तथा खरिद नियमावली लगायतका ऐनहरु पेश गरेका छन् । यसरी प्रस्तुत भएका नीति तथा कार्यक्रममाथि शुक्रबार छलफल भई शनिबार परित हुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लोकहरी थापाले जानकारी दिए ।
प्रकाशित मिती : ०७ असार २०७५ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend