logo
  • शनिबार, भाद्र २० २०८३

नेत्रज्योति संघबाट अढाई लाख बढीले लिए सेवा सस्थाँको आम्दनी एक करोड


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

हुमाकान्त पोखरेल ,गुल्मी वैशाख ८ ।
नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा गुल्मीले हालसम्म दुई लाख ६० हजार भन्दा बढीलाई आँखा उपचार सेवा प्रदान गरेको छ ।
जसमध्ये पाचँ हजार बढीको जिल्लामै शल्यक्रिया गरी आँखाको ज्योति पुनस्र्थापना गरिएको छ । त्यस्तै दृष्टि विहिनताको न्यूनिकरणका लागि विभिन्न विद्यालयका दुई लाख भन्दा बढीको विद्यालयमै पुगेर आँखा जाँच गरिएको छ । जसमध्ये दुई हजार आठ सय विद्यार्थीहरुलाई निःशुल्क चस्मा समेत वितरण गरिएको सँस्थाका सचिव अखिलेश्वर प्रसाद पाण्डेले जानकारी दिए । नेपालमै पहिलो पटक दुईवटा उपशाखा विस्तार गरी नेत्रज्योति संघले आँखा उपचारको क्षेत्रमा काम गरिरहेको छ ।

मुसिकोट नगरपालिकाको वामी र चन्द्रकोट गाउँपालिकाको शान्तिपुरमा यसका शाखा रहेका छन् । वामीमा संचालित आँखा उपचार केन्द्रबाट एक हजार आठ सय ३१ र शान्तिपुरको केन्द्रबाट आठ सय ६७ जनाको आँखा जाचँ गरिएको छ । त्यस्तै सदरमुकाममा रहेको केन्द्रबाट ११ हजार ओपिडी सेवा, दुई सय ३३ जनाको मेजर अप्रेसन र ६२ जनाको माइनर अप्रेसन गरिएको छ । जसमध्ये ६७ जनाको मेजर अप्रेसन निःशुल्क गरिएको छ । त्यस्तै आखाँ उपचार सेवालाई थप प्रभावकारी बनाउन संघले आर्थिक बर्ष २०७३/७४ मा विभिन्न ठाउँहरुमा आँखा उपचार शिविर संचालन गरेको थियो । साविकको अर्जै, हस्तिचौर र शान्तिपुर गाविसमा गरि सात सय ६५ जनाको आँखा जाचँ गरिएको संघका सह–कोषाध्यक्ष तारा भुसालले जानकारी दिए ।

१७०० ओपिडी र १५९ अप्रेशन सेवा

शाखाले लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान भैरहवा तथा लायन्स लाकौल आँखा अस्पताल पाल्पासँगको सहकार्यमा आर्थिक बर्ष २०७३/७४ मा जिल्लाका सात स्थानमा निःशुल्क आँखा अप्रेशन शिविर संचालन गरेको थियो । २०७३ साल भदौमा अश्लेवा, पौषमा सिमलटारी, माघमा खज्र्याङ्ग र फागुनमा अग्लुङ्गमा आखाँ उपचार शिविर सम्पन्न गरेको सह कोषाध्यक्ष भुसालले बताए । त्यस्तै २०७४ सालको जेठमा शान्तिपुर, वामीटक्सार र बाँझकटेरीमा पनि शिविर संचालन गरिएको उनले बताए । जसमध्ये एक हजार सात सय जनालाई ओपिडी सेवा र एक सय ५९ जनालाई अप्रेशन सेवा दिइएको छ ।

विद्यालयमै चेकजाँच, ६५७ जनाको कानको उपचार

नेत्रज्योति संघले विद्यार्थीहरुको न्यून दृष्टि एवम् दृष्टिविहिन हुनबाट बचाउने उदेश्यले ८२ विद्यालयका विद्यार्थीहरुको आँखा जाचँ गरेको जनाएको छ । कुल ११ हजार नौ सय ८१ विद्यार्थीहरुको आँखा जाचँ गरिएकोमा तिन सय ६४ जनालाई निशुल्क चस्मा वितरण गरेको छ । भने समुदायका पनि एक सय दुई जनालाई पनि हालसम्म निःशुल्क चस्मा वितरण गरिएको संघले जनाएको छ । छ सय ५७ जनाको कानको पनि उपचार गरेको जनाएको छ ।

वासलात खर्च तिन करोड ६५ लाख ६५ हजार

नेपाल नेत्रज्याति संघ आखाँ उपचार केन्द्रको आर्थिक बर्ष २०७३/७४ मा आम्दानी ९९ लाख ८१ हजार आठ सय ९९ रुपैँया ९८ पैसा र खर्च ७१ लाख ३२ हजार नौ सय ८१ रुपैँया ७६ पैसा रहेको छ । जसमध्ये छ लाख ६९ हजार आठ सय ९४ रुपैँया ७६ पैसा हार्सकट्टि भई २१ लाख ७९ हजार २२ रुपैँया ५४ पैसा बचत रहेको सह कोषाध्यक्ष भुसालले जानकारी दिए । २०७४ असार मसान्त सम्मको समष्टिगत वासलात खर्च तिन करोड ६५ लाख ६५ हजार पाचँ सय २७ रुपैँया दुई पैसा रहेको छ । त्यस्तै आर्थिक बर्ष २०७४/७५ को आँखा उपचार केन्द्रतर्फ एक करोड १८ लाख ६५ हजार दुई सय १६ रुपैया  ६६ पैसा प्रस्ताव गरिएको छ ।

स्थापनाको २८ औ बर्ष पुरा भएको अवसरमा नेत्रज्याति संघको २२ औँ जिल्ला सभा सम्पन्न भएको छ । सभामा आगामी बर्षका लागि संस्थाले बनाएका कार्यक्रमहरुको बारेमा पनि जानकारी गराइएको थियो । कार्यक्रम सँस्थाका अध्यक्ष शेर बहादुर थापाको अध्यक्षता, रेसुङ्गा नगरपालिकाका मेयर डिल्लिराज भुसालको प्रमुख आतिथ्यता, सह कोषाध्यक्ष तारा भुसालको स्वागत मन्तब्य तथा गुणनिधि शर्माको संचालनमा सम्पन्न भएको हो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघ सँस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend