साझा नेटवर्क
हुमकान्त पोखरेल , गुल्मी वैशाख १ ।
नयाँ बर्ष २०७५ को सुरुवातसँगै गुल्मीको नेपाली काङ्ग्रेस गुल्मीको गाउँ जाने भएको छ । ५० दिनसम्म गरिब, दलित तथा पिछडिएको वर्गको घरमा गएर बस्ने निर्णय गुल्मी काङ्ग्रेसले गरेको छ ।
‘नेपाली काङ्ग्रेसको आह्वान, गाउँमा जाउँ–गाउँमै रमाऔँ, ५० दिने महाअभियान’ भन्ने नाराका साथ काङ्ग्रेस गाउँ जान लागेको हो । गुल्मी जिल्लाका १२ स्थानिय तहका ९३ वटै वडामा काङ्ग्रेसका एक/एक जना प्रतिनिधि गरिब–दलितका घर जाँदैछन् । सात हप्ते अभियानलाई दुई चरणमा विभाजन गरिएको छ । पहिलो चरणमा तिन हप्तासम्म गाउँकै गरिबका घरमा बस्ने, दोस्रो चरणमा एक हप्ता समिक्षा र तेस्रो चरणमा दोस्रो चरणको समिक्षिले कार्यक्रम निर्धारण गर्ने पार्टी सचिव खिलध्वज पन्थीले जानकारी दिए ।
फागुन २७ गतेको बैठक तथा वडा सभापति र सचिवहरुको चैत ६ गते बसेको भेलाले ५० दिने महाअभियान गर्ने निर्णय गरेको थियो। महाअभियानमा नेपाली काङ्ग्रेसका विभिन्न जिल्लास्तरिय नेता तथा उसका भातृ संगठन नेविसंघ, तरुण दल, महिला संघ लगायतका नेताहरु पनि सहभागि हुनेछन् ।
५० दिने महाअभियान किन ?
नेपाली काङ्ग्रेसले संगठन कमजोर भएको भन्दै संगठन सुदृढिकरणको लागि अभियान थालेको पार्टी सचिव पन्थीले बताए । नेपाली काङ्ग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरुलाई क्रियाशील बनाई सङ्गठनलाई चुस्त–दुरुस्त बनाउन, लैङ्गिक, जातीय, वर्गीय तथा सामाजिक कुसंस्कार विरुद्ध जनजागरण अभिवृद्धि गर्न, ग्रामिण समस्याहरु अनुभुत समाधानको लागि पहल गर्न, छायाँ सरकार गठन गरी सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्न ५० दिने महाअभियानको सुरुवात गरिने सचिव खिलध्वज पन्थीले बताए ।
त्यस्तै आर्थिक समृद्धि र सामाजिक रुपान्तरणका लागि सहकारीमार्फत कार्यक्रतालाई उत्साह जगाउने, धर्म, सँस्कृति र कलाको जगेर्ना गर्ने, आध्यात्मिक, पुरातात्विक तथा पर्यटकिय स्थलहरुको सम्वद्र्धनमा सहयोग गर्ने पनि अभियानको उदेश्य रहेको छ । हालसम्म पार्टीले गरेका अधिकाशं कामहरु नेतामुखि भएकोले अव पार्टीले जनतामुखि काम गर्न गाउँका गरिब, दलितको घर बस्ने निर्णय गरेको हो । जिल्ला सदस्य एकजना एक वडाको गरिबको घरमा बस्ने र उनीहरुसँगै खाने, बस्ने र काम गर्ने निर्णय गरेको प्रवक्ता विष्णु सापकोटाले बताइन् ।
त्यसरी गाउँकै जनतासँग बस्दा र उनीहरुसँगै काम गर्दा जनताका समस्या र आवश्यकताको बारेमा जानकारी लिने बताइएको छ । त्यसरी स्थानिय समस्या टिपोट गरिसकेपछि स्थानिय सरकारसँग जनताका माग पुरा गर्न डेलिकेशन गई जनताको बाँच्न पाउने अधिकारलाई थप सुरक्षित गर्ने लक्ष्य लिइएको काङ्ग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले बताए । त्यसरी गरिब–दलितको घरमा बस्दा आफूहरुले कुनै राजनीतिक परिचय नदिने, स्थानिय पार्टीका कार्यक्रताले त्यसको सहजिकरण गर्ने र बास बस्ने घरमा कुनै पाहुना नभई परिवारको सदस्यको रुपमा बस्ने निर्णय गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend