logo
  • शनिबार, भाद्र २० २०८३

गुल्मी जिल्लामा दुई सय ९६ क्षयरोगका बिरामी मुसिकोट नगरपालिकामा सवैभन्दा धेरै


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

????????????????????????????????????

टोपलाल अर्याल , गुल्मी चैत १० ।
गुल्मी जिल्लामा दुई सय ९६ क्षयरोगका बिरामी रहेको तथ्यांक भेटिएको छ । महिला ९४ र पुरुष दुई सय २ जनाले जिल्लाका विभिन्न स्थानमा रहेका उपचार केन्द्र मार्फत डट्स विधिबाट औषधी खाइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।त्यस्तै खकारमा किटाणु देखिएका फोक्सोको क्षयरोगका बिरामीको संख्या एक सय ४४ रहेको छ । जस अन्तरगत नयाँ बिरामी महिला ३८ र पुरुष ८९ जना छन् । भने पुन बाझिएका महिला चार र पुरुष १३ छन् । त्यस्तै खकारमा किटाणु नदेखिएका फोक्सोको क्षयरोगका बिरामीको संख्या ५७ रहेको छ । जसमा नयाँ बिरामी महिला २० र पुरुष ३३ छन् । भने पुन बाझिएका बिरामी महिला र पुरुष दुई/दुई जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका क्षय तथा कुष्ठरोग सुपरभाइजर शिशिर शिलवालले बताए । साथै फोक्सो बाहेकका अन्य भागमा क्षयरोग भएका बिरामी ९५ जना रहेका छन् । जसमा नयाँ बिरामी महिला २९ र पुरुष ६२ तथा पुन बाझिएका बिरामी महिला एक र पुरुष तीन जना रहेका छन् ।

गाउँगाउँमा उपचार केन्द्र तर प्रयाप्त छैन

जिल्लामा क्षयरोगका बिरामीको उपचार केन्द्र ८१ स्थानमा रहेका छन् । भने शंकास्पद क्षयरोगका बिरामीको खकार जाँच केन्द्र नौ स्थानमा रहेका छन् । जिल्ला अस्पताल तम्घास, शान्तिपुर स्वास्थ्यचौकी, श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्र, इस्मा रजस्थल स्वास्थ्यचौकी, रुरु प्राथमिक स्वास्थ्य केन्द्र, जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र, धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्र, दरवार देविस्थान स्वास्थ्यचौकी र घमिर स्वास्थ्य चौकीमा खकार जाँच गर्न सकिने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । अरु धेरै स्थानमा खकारको जाँच गर्ने केन्द्र आवश्यक भएको सरोकारवालाले बताए । ‘अझै मदाने र मालिकाका धेरैलाई यो सेवा लिन समस्या छ,’मदाने गाउँपालिकाका प्रेस संयोजक शिव सुवेदीले भने,‘ क्षेत्र नं १ का धेरै ठाउँमा अझै समस्या रहेको छ ।’ क्षयरोग केन्द्र दुर्गममा बिस्तार गर्न नसक्नु, बढ्दो एच. आइं भि संक्रमितहरुमाको संख्या, डि आर टिवीका बिरामीहरु थपिनु जिल्लाको लागि चुनौतीको बिषय भएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य सहसंयोजक ओम बहादुर थापा क्षेत्रीले बताए ।

मुसिकोट नगरपालिकामा सवैभन्दा बढि क्षयरोगी

जिल्लाको मुसिकोट नगरपालिका विभिन्न स्वास्थ्य संस्थाहरुमा सवै भन्दा बढि क्षयरोगका बिरामी देखिएका छन् । मुसिकोट नगरपालिकाको वडागाउँ स्वास्थ्यचौकीमा आठ, वामी स्वास्थ्यचौकीमा नौ र कुर्घा स्वास्थ्यचौकीमा पाँच गरी २२ जना खकारमा किटाणु देखिएका क्षयरोगका बिरामी भेटिएको तथ्याङ्क जिल्ला जनस्वास्थ्य कार्यालयमा रहेको छ । त्यस्तै रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा आठ, तुराङ्क स्वास्थ्यचौकीमा आठ, बिरबास स्वास्थ्यचौकीमा छ, बम्घा स्वास्थ्यचौकीमा पाँच, मरभुङ्ग स्वास्थ्यचौकीमा पाँच र जिल्ला  अस्पतालमा पाँच जना बिरामी भेटिएको क्षय तथा कुष्ठरोग सुपरभाइजर शिशिर शिलवालले बताए । नयाँ बिरामी पत्ता लगाउने दरमा बृद्धि हुँदैक्षयरोग सजिलै उपचार हुने रोग भएकाले रोग लागेको थाहा हुने बित्तिकै नियमित औषधी सेवन गरे यसबाट जोगिन सकिने राममाझीको भनाइ छ । ‘क्षयरोग सामाजिक समस्या पनि हो, अझै समाजमा लाज र पुरानो सोचले रोग दविएको छ,’उनले भने,‘यो निर्मुल पार्न सवै पक्ष गम्भिर बन्नुपर्छ ।’ औषधि नियमित खान छोडे कडा खालको संक्रमण हुने र ज्यानै जाने सम्भावना हुने भएकाले औषधिको नियमिततामा दिनुपर्नेमा उनले जोड दिए । नेपालमा बर्सेनि पाँचदेखि सात हजार क्षयरोगीको मृत्यु हुने गरेको छ ।

जिल्ला अस्पतालमा जिन एक्सपर्ट

जिल्ला अस्पताल गुल्मीमा क्षयरोग परीक्षणका लागी अति प्रभावकारी मानिएको जिन एक्सपर्ट मेसिन भित्रिएको छ । निक साइमन्स इन्सिच्युट (एन.एस.आई) को समन्वय र विराट नेपाल मेडिकल ट्रष्ट (बि.एन.एम.टी) को सहयोगबाट उक्त मेसिन भित्रिएको हो । जिन एक्सपर्ट क्षयरोग निदानमा सबभन्दा नयाँ प्रविधि भएको जिल्ला अस्पताल तम्घासमा डाक्टर उत्तम पच्याले बताए । यो सँगै जिन एक्सपर्ट उपकरण गुल्मी, प्यूठान, कपिलवस्तु र बर्दिया गरी चार वटा जिल्लामा भित्राइएको छ । यो उपकरणलाई विश्व स्वास्थ्य संगठनले पूर्ण मान्यता दिएको छ । दुई घण्टामा टेष्ट रिजल्ट प्राप्त हुने भएकाले यसलाई ¥यापिड टेष्ट भनिन्छ । यस उपकरणबाट अरु रोग पनि परिक्षण गर्न मिल्ने भएपनि अहिले क्षयरोग परिक्षणको मात्र कार्टिज रहेको छ ।

उक्त उपकरणको कम्तिमा २५ लाख नेपाली रुपैयाँ पर्ने जनाइएको छ । गुल्मीमा यस अघि यस प्रकारको जाँचको लागी बिरामीहरुलाई अन्यत्र पठाउदै आइएको थियो । अब यो उपकरण भित्रिएपछि गुल्मी र छिमेकी जिल्लाका बिरामी प्रत्यक्ष लाभान्वित भएको अस्पतालका मेडिकल सुपरिटेडेण्ट डा. श्यामकिशोर चौधरीले बताए । यो संगै नौ वटै केन्द्रबाट निशुल्क बिरामीको निदान, उपचार सहयोगीबाट औषधी वितरण, क्षयरोगका बिरामीको सवै स्वास्थ्य संस्थाबाट निशुल्क एच.आइ.भि परिक्षण, पुन रोग बाझिएका बिरामीलाई उपचार अवधिभर मासिक पाँच सय पोषण खर्च, एच.आइ.भि संक्रमितहरुको क्षयरोग स्क्रिनिङ्ग साथै खकार संकलन शिविरहरु पनि संचालन भैरहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

अन्तरक्रिया तथा प्रभातफेरी

शनिबार विश्व क्षयरोग दिवसको अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय, रेसुङ्गा नगरपालिका र नेपाल क्षयरोग निवारण संस्थाको संयुक्त आयोजना अन्तरक्रिया तथा प्रभातफेरी सम्पन्न भएको छ । यस बर्षको विश्व क्षयरोग दिवसको नारा ‘सवै तहको सक्रिय नेतृत्वको प्रतिवद्धता, क्षयरोग मुक्त नेपालको सुनिश्चिता’ सफल पारौ भन्ने रहेको थियो । कार्यक्रममा जिल्ला अस्पताल तम्घासका डाक्टर सुरेन्द्र रायमाझी र जिल्ला जनस्वास्थ्य कार्यालयका क्षय तथा कुष्ठरोग सुपरभाइजर शिशिर शिलवालले जिल्लामा क्षयरोगको अवस्थाको बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्थाका अध्यक्ष जगन्नाथ गौतमको अध्यक्षता रहेको कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम रेसुङ्गा नगरपालिकाका स्वास्थ्य सहसंयोजक ओम बहादुर थापाको स्वागत तथा नेपाल क्षयरोग निवारण संस्थाका सचिव कृष्ण पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति भुवन प्रसाद श्रेष्ट, माओवादी केन्द्रका संयोजक बिर बहादुर कार्की, आयोजक तीन वटै संस्थाका पदाधिकारी तथा कर्मचारी पत्रकार लगायतको सहभागीता रहेको थियो । अन्तरक्रिया पछि आँखा उपचार केन्द्रदेखि लाँकुरी मञ्चसम्म प्रभातफेरी समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend