साझा नेटवर्क
अर्जुन ध्वज अर्याल
उप-प्राध्यापक त्रि.वि.
यहि चैत्र ८ देखि SEE को परिक्षा हुँदैछ। परिक्षा नियन्त्रण कार्यालयले परिक्षाको सम्पुर्ण तयारि पुरा गरेको जानकारि पत्रकार सम्मेलन मार्फत दिएको छ भने भाईबहिनिहरुले पनि परिक्षामा लेख्ने बाहेक सम्पुर्ण तयारि अवश्य पनि भ्याईसकेको हुनुपर्दछ। डेरा भाडामा बस्नेदेखि आफन्तकोमा आश्रय लिनेसम्मका सबै काम पनि गरिसकेको हुनुपर्दछ। निरिक्षकहरुको भागबण्डा र केन्द्रका सेटिङसम्मका काम पनि संभवत भैसकेको हुनुपर्दछ।
वि.सं. १९९० देखि SLC को रुपमा चर्चित कक्षा १० को वार्षिक परिक्षा गतवर्ष देखि SEE को परिवर्तित रुपमा संचालन हुन थालेको छ। Iron Gate को उपनामले परिचित यो परिक्षालाई विशेष किसिमबाट हेर्ने गरिएको छ। समाजका सबै सरोकारवाला पक्षले यस परिक्षालाई अरु परिक्षासरह सामान्यरुपमा नहेरि विशेष हौवा पिटाएर विद्यार्थीको हुर्मत लिने गरेको पाईन्छ। परिवर्तित रुपले पनि विद्यार्थीमा तनाव घटाउन सकेको अनुभुति हुन सकेको छैन साथै सरकारले कक्षा १० को SLC लाई कक्षा १२ मा सारे पनि डरको भुत मार्न र सार्न सकेको छैन।
अनलाईन मिडियाहरुलाई सत्य मान्ने हो भने भारतको विहार राज्यका करिब १० लाख विद्यार्थीले चिट चोर्न नदिएपछि परिक्षा बहिष्कार गरेका छन् । त्यहाँको सरकारले परिक्षालाई मर्यादित बनाउन भन्दै परिक्षाहलमा CCTV जडान गर्ने र विद्यार्थीलाई मोजा लगाएर परिक्षा हलमा जान निशेध गरिएको छ। अर्को तिर भारतिय प्रधानमन्त्रिले परिक्षार्थीलाई निडरतापुर्वक परिक्षामा सहभागि हुन आह्वान गर्दै Exam Warrior भन्ने पुस्तक नै लेखेका छन्। केहि वर्ष अगाडि कान्तिपुरले दैनिकले, गणित परिक्षाको डरले अमेरिकामा २ साना नानिहरुले आफ्ना शिक्षकको चियामा विष हालिदिएको समाचार छापेको थियो। यसबाट प्रष्ट भन्न सकिन्छ कि जहाँ पनि परिक्षालाई भय उत्पन्न गराउने वस्तुको रुपमा लिईदो रहेछ। शिक्षाविद् र मनोवैज्ञानिकहरुले यो पक्षको कसरि सम्वोधन गर्न सकिन्छ भन्नेतर्फ खासै चासो दिएको पाईदैन।
SLC को परिक्षाफल प्रकाशित भैसकेपछि ज्यानफालेर अन्तरवार्ता दिन र लिन लालायित शिक्षाविद् र मिडिया अहिले कानमा तेल हालेर सुतेको आभाष हुन्छ। के उनिहरुको कुनै दायित्व छैन विद्यार्थीलाई सम्बोधन गर्ने? के वर्षभरिमा कुनै त्यस्ता कार्यक्रम संचालन गरे उनिहरुले जसले गर्दा विद्यार्थीहरुले बिना डर र भय परिक्षामा सहभागि भई सफलता हासिल गर्न सकुन्। अनि परिक्षाफल प्रकाशित भएपछिको कोकोहोलो मच्चाउनुको अर्थ के रहन्छ? कम्तिमा भारतिय प्रधानमन्त्रिले विद्यार्थीलाई गरेको सम्बोधनबाट केहि त सिक्नुपर्ने हाम्रा सरोकारवाला पक्षहरुले। केवल खराव कुराको मात्र सिको गर्ने मनोविज्ञान हावि भएको हो हामिमा? होईन भने नत सरकारले नाम परिवर्तन गर्नु बाहेकका काम केहि गरेको छ, नत स्वनामधान्य शिक्षाविद्ले सिन्को भाँचेका छन्। केहि वर्ष देखि परिक्षाको ठिक अगाडि परिक्षा र परिक्षार्थीलाई सम्बोधन गरि लेख लेख्ने एकजना पात्र बाबुकाजि कार्कि भएको देखिन्छ, सम्भवत उहाँ शिक्षसँग मात्र संबन्धित नभई काठमाण्डौको जि.शि.अ भैसकेको व्यक्ति हुनु पर्दछ। त्यो भन्दा बाहेक अरु कसैले यसतर्फ कलम चलाएको पाईदैन। बिहान ६ देखि बेलुका ७ बजेसम्म विद्यार्थीलाई कैदि बन्दि सरह व्यवहार गर्ने निजि विद्यालयका मालिक र अभिभावकलाई सम्बोधन गरेर कसैले कार्यक्रम संचालन गरेको पाईदैन भने अर्कोतिर अब फेल भईँदैन भनेर ढुक्क भएका सरकारि विद्यालयका परिक्षार्थी र पढाउन ढिलासुस्ति गर्ने तिनका शिक्षक र अभिभावकलाई चिज त्यस्तो नभएको भन्नेबारेमा कलम चलाएको पाईदैन। के परिक्षार्थी, शिक्षक र अभिभावकको मात्र कर्तव्य, भुमिका र दायित्व हो? यसमा सरकार, समाज, शिक्षाविद् र अन्यको कुनै कर्तव्य र दायित्व हुनु पर्दैन?
उपदेश दिँदा डोकोमा भरेर दिने र अर्कोले दिएको उपदेश चम्चामा लिने समाजका उपज हौ तपाई हामि सबै। हामिले आफ्नो कर्तव्य र दायित्वलाई कहिल्यै बुझेनौ वा बझेर पनि बुझ पचायौँ। यसको परिणाम हो यो। स्नातक, स्नातकोत्तर जस्तै चर्चा बिहिन र नियमित परिक्षाको रुपमा बुझ्ने बुझाउने अवस्था नबन्दासम्म SLC र परिवर्तित SEE परिक्षाको चर्चा र हौवाले परिक्षाफल प्रकाशन पछि कोकोहोलो मच्चाउने कामको रुपमा निरन्तरता पाउने छ। भारतको विहार राज्यका ३/४ वर्ष देखिका टपर भनिएका विद्यार्थीहरु अनियमितताको नाममा जेलजिवन बिताईरहेका छन्। नेपालमा पनि यो अवस्था नआउला भन्न सकिदैन। शिक्षा र परिक्षा पद्धति मा मात्र परिवर्तन होईन कि अभिभावकमा जसरि पनि अंक ल्याउनु पर्दछ भन्ने मान्यतामा पनि परिवर्तन आउन सक्नु पर्दछ। परिक्षार्थीको व्यवहारमा परिवर्तन नै सिकाई हो नकि अंक भन्ने अवस्थाको सिर्जना नभएसम्म यसले निरन्तरता पाउने छ। 100% पढेर ४०% पनि ल्याउन नसक्ने पढाई गर्नु र गराउनु भन्दा ४०% पढेर ४०% वा ५०% पढेर ५०% ल्याउने वातावरण सिर्जना गराउनु पर्दछ। सायद कमै शिक्षकले त्यसो गर्दछौँ होला।
आफ्नो स्तरको पहिचान गरि सोहि अनुसार अभ्यास गर्नु विद्यर्थीको कर्तव्य हो भने विद्यार्थीको स्तर अनुसारको क्षेत्र पहिचान गरि सोहि अनुसारको सिकाई गराउनु शिक्षकको पनि दायित्व हो। साथै आफ्ना नानीबाबुहरुलाई अनावश्यक दवाव दिनुको सट्टा आवश्यक वातावरणको सिर्जना गराउन विद्यालय र विद्यार्थीसँग निरन्तर छलफल र सम्पर्कमा रहनु पर्दछ अभिभावक पनि।
डाक्टर र ईन्जिनियर मात्र ठुला मानिस हुन् र त्यहि बन्नु पर्दछ भन्ने अतिरिक्त दवाव हाल्नुको सट्टा सबै विषयको आ आफ्नो महत्व हुने भएकोले जुनसुकै विषय पढे पनि राम्रो गरि पढ्नु पर्दछ, विषय आफैमा सानो, ठुलो, गतिलो, अगतिलो नहुने कुरा अभिभावकले पनि बुझ्नु पर्दछ। त्यसो भए यो SEE र SLC को भुत त केहि हदसम्म न्युनिकरण हुनेछ।
अन्तमा २०७४ सालको SEE परिक्षार्थीलाई सफलताको मुरिमुरि शुभकामना।।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend