logo
  • आइतबार, असोज ११ २०८३

विचित्र गुफाको प्रचारको लागि गुफाभित्रै बैठक, गुल्मी महोत्सवको तयारी तिब्र


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल, गुल्मी चैत्र २ ।
गुल्मी उद्योग बाणिज्य संघको बैठक विचित्र गुफाभित्र बसेको छ । चैत १५ देखि २६ गतेसम्म संचालन हुन लागेको गुल्मी महोत्सवको प्रचार–प्रसारका लागि गुफाभित्रै बैठक बसेको हो । महोत्सव प्रचार प्रसार उप समितीको आयोजनामा बिहिबार धुर्कोट गाउँपालिका ५ वस्तुको कमला वनमा अवस्थित विचित्र गुफा भित्रै बैठक बसेको हो । महोत्सव मुल आयोजक समिती र गुल्मी उद्योग वाणिञ्य संघका पदाधिकारी र धुर्कोट गाउँपालिका जनप्रतिनिधिहरु र जिल्लास्थित संचारकर्मीहरुको टोली विचित्र गुफा पुगेका थिए ।
प्राकृतिक रुपमा अत्यन्तै सुन्दर भएपनि प्रचार प्रसारको कमीले गुफा ओझेलमा परेको भन्दै समितीले गुफाभित्रै वैठकको आयोजना गरेको प्रचार संयोजक श्रीप्रसाद भलामीले बताए । बैठकले अन्य विचित्र गुफाको प्रचारका लागि उद्योग बाणिज्य संघले पनि भूमिका खेल्ने निर्णय गरेको छ । त्यसैगरि राष्ट्रिय स्तरका लगानीकर्तालाई गुल्मीमा लगानी गरी पर्यटन प्रवर्धनमा सहयोग गर्ने पनि निर्णय गरेको प्रचार प्रसार संयोजक भलामीले जानकारी दिए । टोलीले गुफाको विभिन्न अवस्थाको अवलोकन गर्नुका साथै आगामी विकास र समृद्धिका वारेमा छलफल गरेको थियो ।
गुल्मी महोत्सवको पूर्वसन्ध्यामा गरिएको बैठकमा बाणिज्य संघका अध्यक्ष दुर्गा पाण्डेले महोत्सवको तयारी लगभग पुरा भएको जानकारी गराएका थिए । १२ स्थानिय तहमध्ये अधिकाशंमा आफूहरु पुगिसेको र केहिमा स्थानिय तहमा अब छिट्टै गई प्रचार प्रसारलाई तिब्र बनाउने बताए । बैठब बस्ने टोलीले आगामी दिनमा बिचित्र गुफाको भौतिक संरचना विकासका साथै प्रचार प्रसारमा अग्रणी भुमिका निबार्ह गर्ने बचन दिएका छन् ।

सदरमुकाम तम्घासबाट गएको टोलीलाई स्वागत गर्दै धुर्कोट गाउँपालिका उपप्रमुख शिव बहादुर खत्रीले स्थानीय तहसंगै हातेमालो गरेर गुफाको विकासमा लाग्न सवैलाई आग्रह गरे । त्यसका साथै उनले आफूहरुको नमुना गाउँपालिका बनाउने अभियानमा उद्योग बाणिज्य संघले पनि सहयोग गरी विचित्र गुफाको प्रचारमा सहयोग गर्ने उद्योग बाणिज्य संघ लगायत सबैप्रति आभार प्रकट गरे । गुफा २०४५ सालमा ढेडुवा लखेट्दै जाँदा फेला परेको हो । बिचित्र गुफामा पाँच सय जना अटाउने स्थानलाई सभाहल भनिएको छ ।

त्यसै हलमा बाणिज्य संघको बैठक बसेको हो । सभाहलको माथि पट्टिको सिलिङ्गमा विभिन्न आकृतिका कलात्मक बुट्टा र बुट्टाहरुको बिचमा रातोमाटोले पोतेर सफा गरेको मण्डप, शिवलिङ्ग सहितको मन्दिर, राम र कृष्णको प्रतिक, विभिन्न नागहरुको आकृति, गोपीकृष्ण, जटायु, लगायतका आकृतिहरुले गुफालाई झन मनमोहक बनाएको गुफाका प्रवक्ता कृष्ण प्रसाद भण्डारीले बताए ।

गुफामा फेला परेका गुफाका आकृतिलाई नरसिंहवतार, कच्छ्यावतार, गोपीकृष्ण, जटायु, शिवलिङ्ग लगायत नामाकरण गरिएको छ । विचित्र गुफाभित्रका विभिन्न आकृतिहरु, कलात्मक वस्तुहरु, धार्मिक आस्था जगाउने मनमोहक दृष्यहरुले विचित्र गुफा साँच्चिकै विचित्र रहेको छ ।

कुल १८५ मिटर अध्ययन गरिएको गुफाभित्र पारदर्शी ढुङ्गा, शिवलिङ्ग, गाइका थन र निकै कलिला चट्टानहरु रहेको संरक्षक भानुभक्त भण्डारीले बताए ।गुफालाई पर्खाल उठाएर संरक्षण गर्नुका साथै वरिपरि सिडी चिनेर केहि सहज बनाइएको छ । अनुसन्धान भए सम्भवतः नेपालकै ठुलो हुन सक्ने यस गुफाका अझै धेरै कुरा लुकेरै बसेका छन् ।

गुफा व्यवस्थापनका लागि गठन भएको समितिले दुई तलासम्म अध्ययन गरेपनि अन्य तलाहरु र त्यस भित्र भएका छुट्टै सुरुङ्गहरुको उत्खनन् र अनुसन्धान बाँकि नै छ । स्थानियको सहभागितामा स्थानिय सरकार लगायत सबैको सहयोग भएमा विचित्र गुफा गुल्मीको पर्यटन विकासमा कोसे ढुङ्गा सावित हुने रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिका कार्यकारी निर्देशक नरेश भण्डारीले बताए ।

गुफा संरक्षणको लागि ताला लगाएको अवस्थामा पनि गुफाभित्रका विभिन्न अनौठा आकृतिहरु चोरी समेत हुने गरेका छन् । स्थानीयकै पहलमा विचित्र गुफा संरक्षण तथा विकास समितिले आगन्तुक र अरु सहयोगबाट लिएको शुल्कले गुफाको रेखदेख गर्दै आएपनि त्यो पर्याप्त छैन ।

त्यसका साथै गुफा जान तम्घास–सिमलटारी–प्युठान सडक खण्डबाट झण्डै २० मिनेट उकालो र वस्तुको कालिकास्थानबाट १५ मिनेट ओरालो हिड्नु पर्ने बाध्यता छ । जसका कारण घुम्न चाहने पर्यटक पनि गुफा पुग्न सकेका छैनन् । त्यसैले गुफाको संरक्षण र प्रचारमा गाउँपालिकाले विशेष गुरुयोजना बनाएर काम गर्ने धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend