साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौ फागुन २२ ।
२ दिने नेपाल भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार बिहान भेटमा नेपाल र पाकिस्तानबीचको दुईपक्षीय सम्बन्धका विषयमा छलफल भएको छ । भेटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै माओवादी केन्द्रका अध्यक्ष दाहालले दुई देशबीचको सम्बन्ध र आपसी चासोका विषयमा आफूहरुबीच छलफल भएको बताएका छन् ।
अध्यक्षले दुईपक्षीय एवं बहुपक्षीय विषयमा छलफल हुँदा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई गतिशील बनाउन सबै सदस्य राष्ट्रले पहल गर्नुपर्ने बताए । करिब ४५ मिनेट भएको भेटवार्तामा आर्थिक एवं व्यापारका विषयलाई सुदृढ गरेर लैजाने विषयमा छलफल भएको उनले जानकारी दिए ।
सार्कको विषयमा ठोस छलफल नभएको भन्दै उनले सार्क शिखर सम्मेलनलाई अगाडि बढाउने सन्दर्भमा पाकिस्तानले निरन्तर पहल गरिरहेको पाकिस्तानी प्रधानमन्त्रीले बताएको जानकारी दिए ।
उक्त बैठकमा अध्यक्ष प्रचण्ड माओवादी केन्द्रका नेता एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा तथा जोखबहादुर महराको सहभागिता थियो । रासस
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend