साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौ फागुन २१ ।
प्रधानमन्त्री केपी ओलीलाई बधाई दिन र दक्षिण एसियाली सहयोग संगठन छलफलका लागि पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी आज नेपालको दुईदिने औपचारिक भ्रमणका लागि सोमबार दिउँसो आइपुगेका छन् । उनी पाकिस्तान बिशेष बिमानबाट ३२ सदस्यीय टोलीसहित आएका हुन् ।
अर्थ मन्त्री डा युवराज खतिवडा र परराष्ट्र सचिव शंकरदास बैरागीले प्रधानमन्त्री अब्बासीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका छन् । प्रधानमन्त्री केपी ओलीलाई बधाई दिन र दक्षिण एसियाली सहयोग संगठन (सार्क) को शिखर सम्मेलन आयोजनाबारे अध्यक्ष मुलुकसँग छलफलका लागि अब्बासी नेपाल आएका बताए ।
भेटमा दुई नेताबीच दुईपक्षीय सम्बन्धबारे समग्र विषयमा छलफल हुने र यसबारे सबै तयारी पूरा भइसकेको प्रधानमन्त्री प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले बताएका छन्। ओलीले सोमबार नै अब्बासीको सम्मानमा होटल याक एन्ड यतीमा रात्रिभोज दिनेछन् भने त्यहीं नै दुईपक्षीय वार्ता गर्नेछन्। अब्बासीको भ्रमणअघि पाकिस्तानको ‘एडभान्स टिम’ आएर सबै तयारी पूरा गरेको थियो।
पाकिस्तानको विदेश मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी दुईपक्षीय सहकार्यमा शिक्षा, पर्यटन, व्यापार, सैनिक सुरक्षा, जनस्तरको सम्बन्धलगायत आपसी हितमा छलफल हुने जनाएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार पाकिस्तानी प्रधानमन्त्रीले मंगलबार स्वदेश फर्कनुअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन्।रासस
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend