साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी माघ १६ ।
गुल्मीको इस्मा गाउँपालिका ४ दरवारटोलकी काली दर्जी ६५ वर्षकी भइन । उनी आङ खस्ने समस्याले पिरोलिएकी छन् । लामो समयदेखि समस्या थियो । लाज मानेर कसैलाई बताइनन् । उनी अस्पताल पुगेकी छैनन् । सानो उमेरमा बिहे भयो । उनले जन्माएका तीन छोरीको बिह भैसक्यौ । छोरा छैनन् ।
घरमा बिरामी श्रीमान, छोरीतिरका नातिनी र उनी मात्र छन् । उनी अप्ठ्यारो गरि हिड्दा र प्राय उडकिलेरी बस्दा धेरैले उनको त्यो बानी नै भनिरहे । अहिलेसम्म कालीसं न कसैले त्यो कारण सोधे नत उनले नै आफ्नो समस्या बताइन् । इस्मा गाउँपालिकामा आङ महिलाहरुको निशुल्क स्वास्थ्य शिविर बसेपछि मात्र उनको त्यो समस्या बाहिर आयो ।
शिविर बस्ने भएपछि सोहि स्थानकी स्वयसेविका कमला बस्नेतले गाउँमा खबर गर्दै जाँदा कालीको घर पुगिन् । स्वयम सेविका कमलाको खबर सुनेपछि पीडित दर्जीले आफ्नो समस्या बल्ल तल्ल सुनाइन् । तर पनि शिविरसम्म जाने हिम्मत देखाइनन् । पीडा सुनेपछि स्वयसेविकाले फकाई फुल्याँई उनलाई क्याम्पसम्म पु¥याइन् ।
चिकित्सकले उनको पाठेघरमा रिङ्ग प्रेसरी लगाए । जसका कारण उनको आठ÷नौ बर्षसम्मको पीडा कम भएको छ । शिविरमा आएका सुझाव र सल्लाहपछि कालीले स्वयसेविका र स्वास्थ्यकर्मीलाई धन्यबाद समेत दिइन् । ‘म काम गरेर खाने मान्छे, मेरो दुख बुढोले सुनेन्,’आँसु झार्दै उनले भनिन,‘बाँचनका लागि समस्या च्यापेरै मेला पात गरे ।
उनले निशुल्क उपचार नभएर धेरै पैसा लाग्ने ठानेर पनि समस्याका बारेमा धेरैलाई नभन्ने गरेको बताइन् । त्यो दरवारटोलमा अधिकांश दलित समुदाय छ । धेरैले कडा मेहेनत नगरे खान पुग्दैन् । अशिक्षित तथा दलित समुदाय भएकाले आङ खस्ने समस्या भएका महिला धेरै हुन सक्ने भएपनि लाजका कारण कोहि खुल्न नसक्ने स्वास्थ्य स्वंमसेविका कमला बस्नेतले बताइन् ।
आङ खस्ने समस्याले पीडित कालीका श्रीमान रत्न बहादुर दर्जी बिरामी परेर घरमै छन् । सोहि वडा कै हुमकला कुवंर पनि आङ खस्ने समस्याले थला परेकी छन् । उनलाई यो समस्याले बर्षौ पिरोल्यौ । तर अस्पताल पुग्न र समस्या अरुलाई भन्न नसकेर उनी घरमै थिइन् ।
हुमकला पनि गाउँमै संचालन भएको क्याम्पसम्म श्रीमानसंगै बल्ल तल्ल आइपुगिन् । धेरैको सुझाव सल्लाह दिएपछि चिकित्सकहरुले कुवंरको पाठेघरमा रिङ्ग प्रेसरी राखिदिए ।
इस्मा गाउँपालिकाका स्वास्थ्य संयोजक चन्द्र भुसालका अनुसार यो समस्या विपन्न र निरक्षर समुदायमा बढि छ । तर निःशुल्क उपचारबारे जानकारी छैन । उनी जस्तै समस्या भएका इस्मा गाउँपालिकाका छ वडा र मालिका गाउँपालिकाका ६ र ८ का २९ जना महिलाहरुले पाठेघरमा रिङ्ग प्रेसरी राखेको संयोजक भुसालले बताए ।
उनीहरु सहित दुई सय १२ जना महिलाहरुले पाठेघरको मुखको क्यान्सर सम्बन्धि जाँच गराएका थिए । जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजना तथा इस्मा गाउँपालिकाको व्यावस्थापनमा (अब्स्ट्रेटिक फिस्टुला) अर्थात पाठेघर खसेका महिलाहरुलाइ रिङ्ग प्रेसरी लगाउने तथा पाठेघरको मुखको क्यान्सरको जाँच सम्बन्धि शिविर शुक्रबार सम्पन्न भएको थियो ।
त्यस्तै रेसुंगा नगरपालिका २ को बलिथुममा शनिबार भएको शिविरमा ९२ जनाले पाठेघरको मुखको क्यान्सरको जाँच गराएको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जसमा तीन जना महिलाले रिङ्ग प्रेसरी लगाएका थिए ।
इस्मा र बलिथुममा मात्र होइन । जिल्लाको विपन्न र विकटका महिलाहरुमा समस्या छ । जनचेतना अभाव छ । गाउँमा रोग पालेर बस्न बाध्य छन् । जनचेता अभावकै कारण तीन/तीन महिनामा फेर्नु पर्ने रिङ्ग चार/पाँच बर्षसम्म नफेरेर पाठेघर भित्रै बालो सडेको अवस्थाका आमाहरु समेत क्याम्पमा आएको जिल्ला जनस्वास्थ्य कार्यालयको पब्लिक हेल्थ नर्श सुमन शर्माले बताइन् ।
आर्थिक अभावका कारण गाउँमा यस्ता शिविरहरु बिरलै मात्र हुने तथा उपचार निशुल्क हुन्छ भन्ने जानकारी नभएका कारण गाउँमा यो समस्या विकराल रहेको शर्माले बताइन् ।
यस वर्ष दुई ठाउँमा मात्र क्याम संचालन गर्ने बजेट आफुहरुलाई आएपनि केहि अन्य सहयोग जुटाएर चार स्थानमा क्याम्प संचालन गर्ने योजना कार्यालयको रहेको उनले बताइन् । दुई स्थानमा क्याम्प सकिएको छ ।
गुल्मीको ग्रामीण क्षेत्रका महिलामा चेतना अभावले आङ खस्ने समस्या बढ्दै गएको छ । खस्ने कारण र यसबाट बच्ने उपायबारे जानकारी नहुँदा समस्या कायम रहेको स्वय स्वास्थ्यकर्मी स्वीकार गर्छन ।
शिविरमा सहभागी रिडी प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर दिवस सापकोटाका अनुसार धेरै बच्चा जन्माउने, घरमै सुत्केरी हुने, भारी बोक्ने कारणले पाठेघर खस्ने समस्या हुने गर्दछ । गाउँमा पाठेघरको समस्या भएका आमा दिदिबहिनीहरु धेरै भएकाले चेतनामूलक कार्यक्रमललाई प्रभावकारी बनाएर लैजानुपर्ने आवश्यकता रहेको सापकोटाले बताए ।
गाउँको एउटा क्याम्पमा मात्र दुई/तीन सय जना महिलाले समस्या लिएर आउनु सानो कुरा होइन,’उनले भने,‘प्रत्येक स्थानीय तहमा यसको अपरिहार्यता छ ।’ उनले इस्मामा आएका केहि आमाहरुको अवस्था अत्यन्तै दर्दनाक भएकाले छिटै अर्को पाठेघरको अप्रेशन सम्बन्धि क्याम्प संचालन गर्न सुझाव दिए ।
धेरै महिलाहरुले अप्ठेरो मानेर रोग लुकाउने गरेका छन् । यस्ता रोगी शिविरमा कम आउँछन । तर पहिलेको तुलनामा भन्दा महिलाको संख्या शिविरमा बढ्दै गएको उनले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend