साझा नेटवर्क
सन्ताेष ढुंगाना, काठमाण्डौ माघ १६।
आज माघ १६ गते शहिद दिवस मनाइँदै छ । प्रजातन्त्र स्थापना तथा पुरस्थापना र विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने शहिदहरुको सम्झनामा विविध कार्यक्रम गरी आज शहीद दिवस मनाइँदै छ ।
सरकारले हरेक वर्ष शहीदको सम्झानामा कार्यक्रम गर्दै आए पनि शहीदको सपना अझै पुरा हुन नसकेको गुनासो बढी रहेको छ । नागिरक स्वत्रन्त्रताको माग गर्दा १९९७ सालमा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाण्डौको टेकुमा रहेका पचलीमा, धर्मभक्त्त माथेमालाई माघ १३ गते सिफलमा तथा गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणाशासकले मृत्यूदण्ड दिएका थिए ।
पछिल्लो कालखण्डमा निरङ्कुश पञ्चायती व्यवस्था तथा राजतन्त्रका विरुद्धका अहिंसात्मक तथा शान्तिपूर्ण प्रजातान्त्रिक आन्दोलनका क्रममा ज्यान गुमाएकाको सम्झना तथा सम्मान यसै दिवसमा गरिन्छ।शहिद दिवसका अवसरमा आज बिहान रत्नपार्क, शान्तिबाटिकादेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी गरी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरिने छ ।
यसैगरी अपराह्न ‘प्रथम शहीद’ लखन थापादेखि पछिल्ला लोकतान्त्रिक आन्दोलनमा शहादत प्राप्त गर्ने ज्ञातअज्ञात शहीदका सम्झनामा मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णयअनुसार काठमाडौँ उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा निर्माणाधीन राष्ट्रिय शहीद स्मारकमा कार्यक्रम गर्न लागिएको छ ।
शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गत स्मारक निर्माण भइरहेको हो । स्मारक निर्माण भएपछि शहिदढोकाका चार शहिदको शालिक पनि गोकर्णमै स्थानान्तरणका लागि सरकारीस्तरबाट निर्णय भएको स्मारक निर्माण समितिका अध्यक्ष सुदर्शन सिग्देलले बताए ।
गोकर्णको जगडोल (यज्ञडोल) सामुदायिक वनको ६५० रोपनी क्षेत्रफलमा शहीद संग्रहालय, शहिदसम्बन्धी अध्ययनअनुसन्धान गर्न चाहनेका लागि पुस्तकालयलगायत संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ । विसं २०७५ वैशाखदेखि नै स्मारक सञ्चालनमा ल्याउने मन्त्रालयको योजना छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend