साझा नेटवर्क
-सन्तोष चोखाल ।
मेरा सम्पूर्ण पाठकवर्गहरूको शुभेक्षाप्रति आभारी छु । आज यो मनमा एउटा कुराले पटक पटक कुरा खेलाईरहयो । अनि यो लेख यहाँहरूबिच प्रस्तुत गर्दैछु । हामीले हाम्रो देशमा धेरै पटक धेरै भन्दा धेरै हाम्रा देशका उच्च पदस्थ व्यक्तित्वहरू नेतादेखी कार्यकर्ता सम्मलाई कहीले उहाँहरू पार्टीको उच्च पदमा पुग्दा होस या त कहीले प्रधानमन्त्री मन्त्री बन्ने बेला होस त कहीले सांसद बनेर संसदभवन छिर्दा किन नहोस शुभकामना, शुभेक्षा संगै बधाईका थुप्रै सन्देशहरू व्यक्त गरिरहयौ ।
तर यो देशको लागी कहिले पनि शुभकामना शुभेक्षा प्रकट गर्ने दिन नै आएन । कहिले आऊँछ होला मेरो देशको लागी शुभकामना शुभेक्षा अनी बधाई दिने दिन ? यो प्रश्नले मलाई अत्यन्तै चिन्तित बनाईरहेको छ ।
हामीले पटक पटक शुभकामना शुभेक्षा व्यक्त गर्दै संविधानसभामा होस या प्रतिनिधि सभामा होस या त स्थानीय निकायमा नै किन नहोस कहिले हाम्रालाई पनि, कहिले राम्रालाई पनि जिताई रहयौ अनी भव्य विजय जुलूस सहित सफल कार्यकालको शुभकामनासंगै बधाई दिईनै रहयौ तर त्यती बेला पनि मेरो देशको लागी शुभकामना दिने कुनै सुन्दर पल नै आएन ।
मेरा बाजे, बुवादेखी आज मैलेसम्म देशका उच्च पदस्थदेखी सामान्य नेता कार्यकर्ता सम्मलाई शुभकामना अनि बधाई दिदै आएको छु तर आजसम्म देशले बधाई पाऊँने एक क्षणसम्म पनि कुनै दिन नै आएन ।
म सोचीरहेछु मेरो देशले बधाई पाउने दिन कहिले आउछ होला ? म सोचीरहेछु, हामीले नेता कार्यकर्ता, मन्त्री-प्रधानमन्त्रीलाई दिएको शुभकामनाको जवाफ कहिले आऊँछ होला ? सायद आजसम्म हामी सारा जनताले दिएको शुभकामना देशले पाएको भए देश कती कायापलट हुँथ्योहोला है, म सोचीरहेछु ।
देशमा थुप्रै चुनावहरू थुप्रै पटक भय थुप्रै अविरजात्रा गरियो तर अविरजात्रा र बधाईका थुप्रै पुष्पागुच्छा कहीले पनि खुसी भएको मैले देखीन । बधाईलाई पनि लाग्दो हो म कोहि व्यक्तिको, कुनै पार्टीको, कुनै मन्त्री मण्डलको विजययात्री बन्दै गर्दा हाँस्ने दिन कहिले आऊँला ।
अविरलाई पनि लाग्दो हो म पटक पटक विजय जुलूसमा अरुको लागी खुसीको प्रतीक देखीदा वास्तविक रूपमा अविर मनदेखी खुसी हुने दिन कहिले आऊँला । मेरो देशमा धेरै पटक अविर जात्रा भएका छन थुप्रै फूलका गुच्छाले माला बनेर विजयी व्यक्तिहरूको गला सजिएको छ, तर देशले खुसीका साथ पुष्पा गुच्छा सम्म पाऊँने दिन आजसम्म आएगी छैन ।
आजकल त मलाई पनि लाग्छ मेरै शुभकामना पनि कयौ पटक विभिन्न सांसद, नेता-कार्यकर्ता, मन्त्रि-प्रधानमन्त्री सम्मलाई पुग्योहोला तर त्यही शुभकामना मेरो देशमा पुग्थ्यो भने शुभकामना पनि निच्च दाँत निकालेर खुसीका साथ सेल्फ़ी हानिरहेको हुँथ्योहोला । तर त्यो दिन, त्यो क्षण कल्पनामै सिमिट रहीरहयो ।
मेरो देशका नेतादेखी प्रधानमन्त्री अनी उच्च पदस्थ व्यक्तिहरूलाई कयौ पटक अझ भनौ दैनिक जसो थरि-थरि थुप्रै थरि रंगका खादा अनी सुन्दर पुष्पागुच्छाको मालाले उहाँहरुको गला सजाएका छौ तर यो देशले कहिले पनि थरि थरि रंगका खादा र सुन्दर पुष्पा गुच्छाका माला ओडेर आफ्नो गला सज़ाउने दिन नै आएन ।
यहाँ यस्तै यस्तै गज्जबको रंगमंच चलिरहेछ सबथोक फेरियो तर यो देशको अवस्था, परिवेश कहिले पनि फेरिएन । सामन्य कार्यकर्ता ठुला-ठुला नेता बने, हिजोका ठुला-ठुला नेता मन्त्री-प्रधानमन्त्री बने तर उहाँले हामीलाई अर्थात यो देशलाई बधाईको जवाफ नै दिनु भएन । सायद बिर्सिनु भयो की ?
धेरै पटक नेता-कार्यकर्ता, सांसद, मन्त्री, प्रधानमन्त्री सबलाई भेटदा ठुलो आर्षक सुन्दर फूलको माला, थुप्रै थरि रंगको खादा अनी खुसीको प्रतीक रातो अविरले स्वागत गर्छौ तर यो देशका लागी एक क्षण पनि आएन जून बेला यसरी देशलाई फूलमाला अनि अविर र खादासहित स्वागत गर्न सकीयोस । मेरो देश धेरै पटक रोएको मैले देखेको छु तर आजसम्म निच्च दाँत निकालेर एक क्षण एक पल पनि देखावटी हाँसोसम्म हाँसेको देखेको छैन मैले ।
देशले धेरै पटक विभिन्न बहानामा आन्दोलन गर्दा किन नहोस बाढीपहिरो देखी महाभूकम्प जस्ता ठुला ठुला प्राकृतिक प्रकोप सम्मको दुःख कष्ट भोगेको देखेको छु मैले तर कहिले पनि देश हाँसेको अर्थात देशको लागी खुसीको पल आएको मैले देखेको नै छैन ।
मेरो ठुलो प्रतिक्षा छ, देश हाँसेको हेर्नलाई, देशले भव्य रूपमा पुष्पागुच्छाले अविरजात्रा गर्दै बधाई सहित शुभकामना पाउने दिन जून दिन यस्तो दिन आऊनेछ – त्यो दिन देश विकासको गतिमा कायापलट भएको हुनेछ । त्यो दिन आफ्नो परिवारको पालनपोषण गर्न विदेशिएका ५० लाख युवाहरू आफनै घरआँगनमा परिश्रम गर्ने योजना गर्दै हुनेछन, त्यो दिनमा मेरो देशमा थुप्रै ठुला-ठुला कलकारखाना ,उद्योग-धन्दा खोलिएका हुनेछन ।
त्यो क्षण सारा देशवासी मनदेखी हाँसेका हुनेछन । त्यो दिन देशले थुप्रै पुष्पागुच्छा सहित शुभकामना तथा बधाईका थुप्रै सन्देशहरू पाउनेछ । म पनि मनदेखी हाँसेको हुनेछु – देशले शुभकामनासहित बधाई पाएको दिन ठुलो अविरजात्रा हुनेछ ।
सन्तोष चोखाल
भरतपुर चितवन, नेपाल
हाल : टोकियो, जापान
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend