logo
  • आइतबार, असोज ११ २०८३

दलितमाथि निर्घात कुटपिट, प्रहरीले घटनालाई लुकाउन खोजेको आरोप


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

गुल्मी, पुष १९।
गुल्मीको मुसिकोट नगरपालिका ७ वामीटक्सारको सार्वजनिक स्थल वसपार्कमा दलितमाथि निर्घात कुटपिट भएको छ ।

मादक पदार्थ सेवन गरी आफुसँग मुखा लागेको भन्दै कांग्रेसका नगरसभापति तथा स्थानीय तह निर्वाचनमा सोही वडामा अध्यक्षका उम्मेदवारसमेत बनेका सुदर्शन शाक्य, तरुण दलका सभापति सन्तोष शाक्य, संसार शाक्य लगायतले नगरको वडा नम्बर ८ वामी मैदानका बाबुराम परियारमाथि कुटपिट गरेका हुन ।

मदिरा सेवन गरेको भन्दै कुटपिट गर्नेहरुले नै वामी प्रहरी चौकीमा टेलिफोन गरेपछि पिडित परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी थुनामा रहेका परियारको अवस्था चिन्ताजनक रहेको भन्दै युवाहरुले उपचारका लागि उनलाई अस्पताल लैजानका लागि माग गरेका छन ।

के थियो घटना

बुधबार दिउँसो बाबुराम वामीटक्सारबाट आफ्नो घर जानको लागि वसपार्कमा रहेको जीप काउण्टरबाट टिकट लिए । उनीसँगै उनको २४ वर्षिय छोरी सितासहित छ जना थिए । दिउँसोका साढे तिन बजे हिडनुपर्ने जीप परियारले ढिला गरेपछि काउण्टरका शाक्यले रिसाउँदै परियारलाई फोन गरी बोलाईरहे ।

केही समयपछि परियार त्यहाँ पुगे । उनलाई शाक्यले ढिला आएको भन्दै हप्काउन थाले । शाक्यको हप्काई सहन नसकेपछि उनले पनि जवाफ फर्काए ।

“के गरुँ त नास्ता गर्ने क्रममा ढिला भयो, ठिकै छ तपाईको गाडीमा नभए अरुको गाडीमा जाउँला ।’ पिडित परियारले यसो भन्दै जीपको छतमा राखेको आफ्नो समानहरु झिक्न थाले । त्यसपछि सुरु भयो शाक्य बन्धुहरुकै शव्दमा उनी माथी लछारपछार ।

परियारकी २४ वर्षिय छोरी सिता परियारका अनुसार आफुहरु होटलमा नास्ता खाँदै गरेको समयमा काउण्टरबाट पटकपटक फोन गरेर अत्ताएपछि आफुहरु काउण्टरमा पुगेको र त्यहाँ पुग्नसाथ शाक्यले परियारलाई गाली गलौज गरेका थिए । “वुवाले ठिकै छ अर्को गाडीमा जाउँला भनेर समान झिक्न के खोज्दै हुनुहुन्थ्यो काउण्टरका संसार शाक्य, उहाँका दाजु सुदर्शन शाक्य र उहाँका कान्छा भाई सन्तोष मिलेर एकाएक कुटपिट गर्नुभयो” सिताले भनिन ।

कुटपिट नगरेको आरोपितको भनाई

गाडी छुटने समय भईसक्दा पनि नआएको र मदिरा सेवन गरी मुख छाडेकोले सामान्य लछारपछार गरिएको आरोपितहरुको भनाई छ ।

कुटपिटमा संलग्नको आरोप लागेका सुदर्शन शाक्यसँग सोही विषयमा बुझ्दा उनले आफुहरुले परियारमाथि कुटपिट नगरेको बताएका छन । “त्यसो भए आउनुहोस तपाईहरु र यहाँको जाँड रक्सी नियन्त्रण गरी दिनुहोस” शाक्यले भने । जाँड रक्सी नियन्त्रण मान्छे कुटेर हुन्छ र ? भन्ने प्रश्नमा उनले भने, “कुटिएको चाँही होईन लछार पछार चाँही गरिएको हो ।”

प्रहरीले घटनालाई लुकाउन खोजेको आरोप

घटनालाई लिएर आक्रोसित स्थानीय युवाहरुले घटनलाई प्रहरीले लुकाउन खोजेको आरोप लगाएका छन । घटनालाई प्रहरी र पिडक पक्षले लुकाउने प्रयास गर्दै चुपचाप मिलाउने कोसिस गरेको र प्रहरी चौकीमा युवाहरु पुगेपछि पिडित परियारले रुदै आफुमाथि भएको कुटपिटको विषयमा बोलको थिए । यस विषयमा प्रहरी चौकीका असई मुक्ति पुनले उनीहरुले कुटपिट गरेको नभएर सामान्य भनाभन मात्रै भएको जिकिर गरे । पिडकहरुले नै परियारलाई प्रहरीको जिम्मा लगाएको प्रत्यक्षदर्शीले बताएका छन । प्रहरी थुनामा रहेको परियारको अवस्था चिन्ताजनक रहेकाले उपचारका लागि अस्पताल लैजानको लागि स्थानीय युवाहरुले माग गरेका छन ।

घटनाप्रति आपत्ति

मुसिकोट ८ का वडाध्यक्ष नारायण सापकोटाले परियारलाइ निर्घात कुटपिट गरेको देख्ने धेरै मान्छे हुँदाहुँदै पनि प्रहरी चौकीका असईले ढाँटेर एउटा कुटाई खाएको दलितलाई अन्यायमा पार्न मिल्छ ? भन्ने प्रतिकृया दिए । उनले भने, “यहाँ त अचम्म भयो जसले गोँदाई खाएको छ उसैलाई पो प्रहरीले प्रक्राउ गरेर राखेको छ । अहिले मिलौं भनिएको छ तर हामी अहिले मिल्न चाहन्नाँै, मदिरा सेवन गरेको मान्छे छ भन्दैमा कुटन–मार्न पाईन्छ र ?

घटना भएकै वडाका वडाध्यक्ष प्रकाश काफ्ले स्थानीय रामबहादुर वोहरा लगायतले घटनाको घोर निन्दा गरेका छन् । “अझै पनि समाजमा दलितहरुले गाउँका ठुला वडा पुँजीपतीहरुसंग चर्को स्वरमा बोल्न पाईदैन भन्ने यो पछिल्लो उदाहरणका रुपमा हामीले लिएका छौं, काफ्ले सहित त्यहाँका जनप्रतिनिधीहरुले भने, ‘मदिरा सेवन गरेको वाहनामा मान्छे कुट्न पाईन्छ ?

वामीका भित्रि सडकहरुमा २० वर्ष पुराना जिपहरु चलाएर स्थानियले खतरा मोल्दै आएको बताईएको छ ।

स्मरण रहोस चोरी र ठगी काण्डमा परेका एक जना दलित युवा महेन्द्र बिकलाई त्यसै वामीमा दुई वर्ष अघि बाँधेर कालोमोसो दलेर निर्घात कुटपिट हुँदा पनि त्यहाँका प्रहरीले सुरक्षा दिएको थिएन ।

यस घटनाले कुनै पनि अपराधीलाई स्थानियले कानुन हातमा लिएर यस्तो क्रियाकलाप गर्न हुन्छ या हुँदैन भन्ने प्रश्न उठेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend