साझा नेटवर्क
????????????????????????????????????
सुर्य चन्द, पोखरा पुष ६ ।
नेपाल फिजिकल ट्रेनिङ एशोसियसन नेपालले गोर्खा भर्तीका लागी कास्कीको भलाम स्थित कालीखोलाबाट डांडागाउ सम्मको पाँच किलोमिटर क्षेत्रको सार्वजनिक बाटोमा बिगत देखि डोको दौड प्रशिक्षण गराउदै आएको भएतापनि यो वर्ष स्थानिय टोले गुण्डाहरुले अवरोध सिर्जना गरेको छ ।
स्थानिय स्तरका टोले गुण्डाहरुले भलामको स्थानिय श्रृङखला क्लव र डाँडागाउ टोल सुधार समितीको नाममा आफुहरुलाई सार्वजनिक बाटो प्रयोग गरेवापत ६ सय ७० जना प्रशिक्षार्थीसँग प्रति ब्यक्ति पाँच हजारको दरले रोयल्टी बुझाउनुपर्ने माग गर्दै डोको दौड प्रशिक्षणमा अवरोध सिर्जना गरेका हुन ।
मंगलबार बिहान डोको दौड प्रशिक्षणमा सहभागी युवाहरुलाई गुण्डागर्दी शैलीमा अवरोध गर्न पुगेपछि वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक दुर्गा प्रसाद श्रेष्ठको टोलीले सो समुहका कृष्ण शर्मालाई केही समय नियन्त्रणमा लिएर छोडेपछि अवरोध खुलेको थियो ।
शर्मा सहित गुण्डागर्दी सैलीमा स्थानिय युवा मिलन गुरुङ र यादव गौतम लगायतका युवाहरुको समुहले डोको दौड प्रशिक्षार्थीहरुलाई अवरोध गरेका थिए ।ब्रिटिस क्याम्पले गोर्खा भर्तीका लागी भलामको कालीखोला देखि डाँडा गाउ सम्मको पाँच किलोमिटर क्षेत्रमा पर्ने सार्वजनिक बाटोमा छनौट चरणको डोको दौड गराउदै आएको छ ।
नेपाल फिजिकल ट्रेनिङ एशोसियसनले वि.सं.२०६७ सालबाट उक्त सार्वजनिक बाटोमा डोको दौड प्रशिक्षण गराउदै आएको भएतापनि हाल आएर स्थानिय युवाहरुले गैरकानुनी ढंगबाट अवरोध सिर्जना गरेको नेपाल फिजिकल ट्रेनिङ एशोसियसनका केन्द्रिय अध्यक्ष मिनराज गुरुङले वताए । गुरुङका अनुसार सो टोलीले नेपाल फिजिकल ट्रेनिङ एशोसियसनसँग नगद बारे ठाढो बार्गेनिङ गरेको छ ।
साबिकको भलाम गा.वि.स., श्रृङखला क्लव, डाँडागाउ टोल सुधार समिती लगायत भलाम क्षेत्रमा रहेका स्थानिय आमा समुह, हरिहर गुफा संरक्षण समिती संग समन्वय गरी विगत ७ वर्षदेखि भलामको कालीखोला पुल देखि डाँडागाउ सम्मको सार्वजनिक बाटोमा निर्वाधरुपमा डोको दौड प्रशिक्षण गराउदै आएको भएतापनि हाल आएर गैरकानुनी ढंगले केही युवा जमातले गुण्डागर्दी सैलीमा अवैधानिक रुपमा मनोमानी ढंगले पैसा मागी डोको दौडलाई अवरोध गर्नु निन्दनीय कार्य भएको समेत गुरुङले वताए ।
कानुनी राज्यको धज्जी उडाउने गरी गुण्डा गर्दी शैलीमा पैसा असुली गर्न खोज्नेहरुको विरुद्धमा हामी कानुनी ढंगबाटै त्यसको निकास खोज्न तयार छौ तथापी सम्बन्धित निकाय मौन रहेको छ, गुरुङले भने ।
अध्यक्ष गुरुङले तिन महिना अगाबै पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष सिम गुरुङलाई भलाममा हुने डोको दौड प्रशिक्षणका लागी बाटो सहजीकरण गरिदिनको लागी लिखित पत्र पेश गरेको र उक्त निबेदन पश्चात वडाले श्रृङखला क्लव, डाँडागाउ टोल सुधार समिती लगायत स्थानिय बुद्धिजिबी तथा एशोसियसनका प्रतिनिधीहरुलाई वडा कार्यालयमा बोलाई छलफल गराएको भएतापनि उक्त छलफलले कुनै निष्कर्ष निकाल्न सकेको थिएन ।
उक्त भेलामा वडा अध्यक्षले सार्वजनिक बाटो प्रयोग गरेवापत गाउलेको लागी १० लाख रुपैया दिनुपर्ने अडान राखेपछि उक्त छलफलले निष्कर्ष पाउन नसकेको गुरुङले वताए । वडा कार्यालयले पुन सरोकार पक्षहरुसँग छलफल गरी अर्काे पटक छलफलमा बोलाउने र निष्कर्ष निकाल्ने भनेता पनि आज सम्म कुनै पनि जानकारी र सुचना नदिएको उनको भनाइ रहेको छ ।
स्थानिय निकायले सार्बजनिक बाटो प्रयोग गरे बापत कानुनतः शुल्क लिन पाउने कानुनी अधिकार भए वडा लगायत स्थानिय क्लब र टोल सुधार समितिलाई बैधानिक रुपबाटै सहयोग र शुल्क तिर्न एशोसियसन तयार रहेको समेत अध्यक्ष गुरुङले बताए । तर वडाले उल्टै बिना टेण्डर केही अराजक युवालाई मनोमानी ढंगबाट रोयल्टी उठाउन पत्राचार गरेपछि आफुहरुलाई त्यो मान्य नभएको गुरुङले वताए ।
कानुनी राज्यमा ब्यक्तिको स्वतन्त्र हिडडुल गर्न पाउने नैसर्गिक अधिकार कुण्ठित भएको भन्दै उक्त अधिकारको लागी सम्बन्धित निकायमा कानुन सम्मत अगाडी बढ्ने गुरुङको भनाई छ ।
त्यसो त पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष सिम गुरुङले साबिकको भलाम हालको पोखरा लेखनाथ २० मा रहेको कालीखोलादेखी डांडागाउ सम्मको गोर्खा भर्तीमा सहभागी हुने प्रशिक्षार्थीहरुले प्रयोग गर्दै आएको सार्वजनिक बाटो आफ्नो वडा भित्र पर्ने भएतापनि सार्वजनिक बाटो प्रयोग गरेबापत रोयल्टी तथा कर उठाउने अधिकार वडालाई नभएको वताए ।
वडा अध्यक्ष गुरुङले आफ्नो वडा भित्र रहेको भएतापनि आफुलाई शुल्क लिने कुनै अधिकार नभएकाले विगतका वर्षहरुमा जस्तै श्रृङखला क्लव, डाँडागाउ टोल सुधार समिती लगायत भलाम क्षेत्रमा रहेका स्थानिय आमा समुह, हरिहर गुफा संरक्षण समिती संग समन्वय गरी डोको दौड प्रशिक्षणलाई निरन्तरता दिन आफुले नेपाल फिजिकल ट्रेनिङ एशोसियसनलाई आग्रह गरेको वताए ।
आफुले कुनै क्लव तथा संस्थालाई रोयल्टी उठाउनका लागी वडाबाट कुनै सिफारिस नदिएको वताउदै कालीखोला देखि डांडागाउ सम्मको सार्वजनिक बाटो प्रयोगको विषयमा स्थानिय र नेपाल फिजिकल ट्रेनिङ एशोसियसन बीच झगडा भए महानगरको मातहतमा वडा बैठक बसी उक्त ठाउमा बिट्रिस क्याम्पले सञ्चालन गर्दै आएको छनौट चरणको डोको दौड र लाहुरे ट्रेनिङ कार्य बन्द गरिने समेत गुरुङले वताए ।
स्थानिय युवाको मिलेमतो नहुदा नेपाल फिजिकल ट्रेनिङ एशोसियसन र वडा बीच नकारात्मक सन्देश प्रवाह हुन पुगेको समेत गुरुङको भनाइ रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend