साझा नेटवर्क
सन्ताेष ढुंगाना / साझा नेटर्वक काठमाण्डाै, १९ मंसिर ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना शुरु भएको ४ दिनभित्र प्रत्यक्ष तर्फको र ८ दिनभित्र समानुपातिक तर्फको मतगणना सकिने निर्वाचन आयोगले जनाएको छ। पहिलो चरणमा निर्वाचन भएका जिल्लाहरुमा २१ गते बेलुका देखि नै र दोस्रो चरणमा मतदान हुने निर्वाचन क्षेत्रका मतपेटिका संकलन गरिए लगत्तै गणनाको काम शुरु हुने आयोगका अधिकारीहरुले बताएका छन्।
मतगणना स्थलमा गणक बाहेक अरुले मतपत्र छुन नमिल्ने गरि सुरक्षा प्रबन्ध मिलाइएको आयोगले जनाएको छ।प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभा तथा प्रदेशसभा दुवैका निम्ति एकै पटक निर्वाचन भएका सबै मतपत्रको गणना सकेसम्म एकसाथ गर्ने आयोगले बताएको छ। तर त्यस्तो हुन नसके प्रत्यक्ष तर्फको गणना पहिले गर्ने उसको योजना छ । आयोगमा आयोजित पत्रकार सम्मेलनमा मतगणनाको कार्ययोजना सुनाउदै निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेलले भने, “मतदाताको संख्या अनुसार थप टोलीको व्यवस्था गरेर प्रत्यक्ष तर्फको ४ दिनभित्र र समानुपातिक तर्फको मतगणना ८ दिनभित्र सक्ने गरि व्यवस्था मिलाइएको छ।” समेत जनकारी दिनुभयो ।
पहिलो चरणमा निर्वाचन भएका निर्वाचन क्षेत्रको मतगणना दोस्रो चरणको निर्वाचन सकिए लगत्तै शुरु गर्ने गरि सबैतिर प्रबन्ध गरिएको आयोगले जनाएको छ। दोस्रो चरणमा चिर्वाचन हुने निर्वाचन क्षेत्रमा चाहिं सम्बन्धित क्षेत्रको सबै मतपेटिका संकलन हुनासाथ सर्वदलिय बैठक बसेर गणना शुरु हुने बताइएको छ।मतगणनाका लागि हरेक क्षेत्रमा कम्तिमा ४ वटा समूह बनाइएको र आवश्यकता अनुसार मुख्य निर्वाचन अधिकृतले समूह थप गर्न सक्ने बताइएको छ।![]()
चौबिसै घण्टा मतगणना गर्ने गरि कर्मचारीहरुको व्यवस्था गरिएको र उनीहरुले ८/८ घण्टाको आलोपालोमा गणनालाई निरन्तरता दिने बताइएको छ। यसरी गणना गर्दा थोरै मतदाता भएका निर्वाचन क्षेत्रको परिणाम चौबिस घण्टा भित्रै आइसक्ने आयोगको अनुमान छ। यसपटकको मतगणनामा पनि स्थानीय तहको बेला जस्तै गणना स्थलको सुरक्षा मुख्य चुनौतीका रुपमा देखिएको बताइएको छ ।
त्यसका लागि अपनाइने व्यवस्थाका बारेमा व्याख्या गर्दै आयुक्त पौडेलले भने, “मतगणना स्थलमा उपस्थित उम्मेदवार, तथा दलका प्रतिनिधिले गणनाका क्रममा कुनै पनि हालतमा मतपत्र छुन नसक्ने गरि आवश्यकता अनुसार बीचमा टेबल, बेन्च, डेस्क, डोरी लगायतका छेकबार राखेर सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइएको छ।” दल र उम्मेदवारका प्रतिनिधिहरुले मतगणना स्थलमा मोबाईल, क्यामरा जस्ता विद्युतिय सामाग्री लैजान नपाउने नियम बनाइएको छ। निर्वाचन अधिकृतहरुले बेला बेलामा मतगणनाको अध्यावधिक परिणाम सार्वजनिक गर्ने व्यवस्था गरिने बताइएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend