साझा नेटवर्क
-प्रल्हाद दाहाल (प्रेम शर्मा) युएई ।
करोडौ यात्रुले यात्रा गर्ने दुबई मेट्रोको यात्रा सहज छैन । यहाँ मानिसहरु हतार हतार र तंछाड-मछाड गर्दै आफ्नो कामका लागि भागिरहेका देखिन्छन । यँहा कसैलाई कसैको वास्ता छैन, न कसैले कसैलाई बोलाउने गर्छ, नत कसैले कसैलाई चिने झैँ गर्छ ।
नचिनेझैं गरे भनौभने पनि यंहा करोडौ यात्रु भएनी, आफु आउने जाने समयमा चिनेका मानिस कमै भेटिन्छन । र धेरै मानिस इन्टरनेट खोलेर यात्रा अबधिभर समाजिक संजालमा नै रमिरहेका, च्याट गफगाफमै व्यस्त रहेका हुन्छन । अनि कहिले काँही त अफिस टाइम र सार्वजनिक बिदाको दिनमा यति ठुलो भिड लाग्छ ।
हामी हिन्दुहरु तथा बौध्द्द धर्मावलम्बीले मनाउने कुनै पर्व मेला झैँ रंगिचंगी भेषभुषामा सु-सज्जित मानिसहरुको लर्को हुनेगर्छ । मानिस कोहि छुट्टी मनाउन आएका बिन्दास भेटिन्थे भने केहि मानिस कार्यालय पुग्न हतार गर्दै भिड छिचोल्दै अघि सर्न निकै संघर्ष गर्दै पनि हुन्थे ।
यस्तो लाग्थ्यो गोकर्ण मेला पशुपतिको बोलबम मेला बार्हवर्षे गोदावरी मेला वा तराईको छठ मेला भनौ वा हिमालको सोनाम ल्होसार मेला झैँ भिडभाड युक्त मानिसको उपस्थिति दुबई मेट्रोमा हुनेगर्छ । आज पनि सार्वजनिक बिदा युएईको एकता दिवस डिसेम्बर २ को अवसरमा DEC १, २, ३ तोकिएपछी सोलिडारि डे संघारमा मनाउने चलन रहेको छ ।
मलाई त्यो बुर्जुमान मेट्रो स्टेशन को भिडले आकुल-ब्याकुल गरेको थियो जँहा ग्रिन लाइन र रेड लाइन गरेर दुइतर्फी रुपमै करिब चार रेल को जमघट एकैपटक हुने गर्छ । जसमा एक रेलमा कम्तिमा एक पटकमा एक हजार यात्रुको मात्र हिसाब राखे नि चार हजार मानिस भेला भएका थिए ।
खचाखच र मानिसको भिड भरिभराऊ नै थियो । उक्त भिडबाट बाहिरिंदै ” जुनेली ” म भएतिर आइन । म केहि संयमित भए, मेरो पाइलाको डेग जुन द्रुतगतिमा थिए, अटोमेटिक ब्रेक लाग्यो । मेरो गति ६० बाट झरेर २० को गतिमा हिंडेको गाडी जस्तै सुस्त भयो । केहि मानिसको आवत-जावत भइरहेपनि मैले हेर्दाहेर्दै उनि लिफ्ट नजिक पुगिसकेकी रहेछिन ।
म अलि छिटो हिंडे र एकै लिफ्टमा हामी बाहिर (EXIT) तिर पुग्यौ । म अझ नि हतार मै रहेछु, मैले तब महसुस गरे जब बाहिरिने क्रममा ४ नम्बर गेटबाट इमिरेट्स एन बि डी ब्यांक पुग्दै गर्दाको त्यो ओरालो फुटपाथ पुगे । मलाई अचम्म संग चेत खुल्यो कि ! म पछी आउने ति जुनेलीले यँहाबाट कसरी ह्विल-चियरमा यात्रा गर्न सक्लिन ? म सोच्न थाले र एकछिन टक्क अडिए ।
आफ्नै सुरमा यात्रारत हजारौको भिडमा एक्ली जुनेली मन गह्रुङ्गो भयो । र म उनलाई सहायता गरौ भनि आफु पछी फर्केर उनि छेउ पुग्न खोजें, म नपुग्दै जुनेली लाई सहायता गर्ने अर्को एक नारी हात ह्विल-चियर धेकल्दै मलाई पछी पार्दै अघि बढे । म फेरी वाल्ल परें, सोध्न पनि सकिन, र भन्न पनि सकिन कि ! सुन्नुस त ! म लिएर जान्छु ? यो शब्द मेरो रुद्रघन्टी मा आएर अड्कियो । अब म पछी थिएँ र अघि बढ्दै गरेका जुनेली र जुनेलीको सहायक जुनेली मेरो अघिल्तिर ।
मैले ति फिलिपिन्सकी झैं देखिने महिलालाई सोध्न खोजें । तपाई त् निकै सहयोगी हुनुहुँदो रहेछ, साँची तपाइको नाम के होला ? तर फेरी सोचें के कारणले पो ति अपरिचित को म परिचय मागौं र फेरी म चुप बसें । मैले त्यसबेला सम्म मेरो पाइन्टको खल्तीमा रहेको मोबाइल हातमा झिकिसकेको थिए र थाहा नपाउने गरि पछाडीबाट दुई ओटा तस्विर निकालीहालें ।
मलाई केहिले युएईको फोटोग्राफर उपनाम दिएकाछन । साएद ! मेरो केहि नौलो कुरा देख्यो कि क्लिक गरेर राख्ने बानीलाई मन पराइदिएर यो नामदिएका हुन । त्यसो त म दैनिक १० भन्दा; माथि मोबाइलमा र बिदाको दिनमा DSLR बोकी हिंडे भने दुईचार सय फोटो निकाली हाल्छु ।
जिन्दगीमा कुनै त्यस्तो कुलत लागेन तर फोटो र लेख्ने कुरामा भने नौअठो लत बसेको छ । तिनै जुनेलीको व्हिल-चियर धकेल्दै जुनेलीलाई अप्ठेरो बाटोमा सहयोगी बनेकी उनलाई तस्विरमा यसरी उतारे ।
जब जुनेलीलाई छोडी उनि सायद ! आफ्नो कार्यालय जानु फिर्ता भइन । सहयोगी महिलाको साथले इरानी बैंक नपुग्दैको बस स्टेशनमै रोकिएकी जुनेलीसंग मैले भेट गरें । विदेशमा नचिनेको मान्छेसंग बोल्न जो कोहीलाई अप्ठेरो लाग्ने गर्छ तर मैले जुनेलीसंग बोल्न कुनै संकोच मानिन ।
मलाई यस्तो लाग्दैथ्यो यो मेरो उनीसंगको पहिलो भेट होइन । हामी पहिले नि भेटेका, चिनेका र बोलेका झैँ आत्मविश्वास पलाएर आयो र सोधें ” कंहा बस्नुहुन्छ, म सहयोग गरौँ ? म अल्फहिदी बस्छु । मात्र भनेर उनि मौन भइन । मैले उनको मौनतामै हुन्छ भनेझै बुझें र म उनको व्हिल-चियरलाई अगाडी बढाउन थाले । केहि पर आएपछि मैले नै भनें, मेरो बस्ने नि नजिक हो ।
तर म तपाईलाई आज पहिलो चोटी देख्दैछु । उनि म तिर हेर्दै फेरी चुप बसिन । सोचें अपरिचितसंग बोल्न अप्ठेरो लाग्यो होला । र अघि बढिरहे । एकैछिनमा याद गरे र फेरी सोंधे आज बिदाको दिन होइन र ? कता गएर आउनु भएको त यो चार बजे ? प्रश्न मेरो सकिन नपाउँदै उनि बोलिन । आज त बिदा थिएन तर भोलि र पर्सि शनिवार बिदा छ ।
अनि काम चै कता हो ? बिजनेस बे भन्ने जबाफ आउन नपाउदै सोधे त्यति टाढा, (DAILY UP & DOWN) दिनकै आउने जाने ? टाढा होर, मेट्रोले लगिदिहाल्छ नि भन्ने जबाफ आयो । यो जवाफले नै म बिश्वस्त भएँ उनमा कति धेरै आत्मविश्वास रहेछ । र आफ्नो खुट्टा नचलेपनि हात र सरिरको सहाराले दैनिक दुइ तिन घन्टा यात्रा गर्दा नि नैरसियता सानो झल्को नि उनको मुहारमा थिएन ।
त्यतिबेला म आफूतिर हेर्दै आफैंलाई बेग्लै देख्न थालिसके थे । अनि अघिको कुरा जोड्न खोजे ! ” बाटोमा संधै सहयोगी भेटिन्छन र बाटो काट्न अनि अप्ठेरो छिचोल्न गाह्रो हुन्न ? ” यतिखेर उत्तर मैले खोजेजस्तो आएन । र म झन्डै आफ्नो प्रश्नको लागि माफी माग्न लागिसके थे ।
उनको जवाफ थियो । किन र ? यति धेरै प्रश्न ? के जानकारी चाहिएको होर ? तपाई को हो ? प्रश्न माथिको प्रति प्रश्नले म नै तिन छक्क परें । मानिसको गुण अबगुण जे भन्नुस, मानिस आफुले अपेक्षाकृत नहुँदा बिचलित हुने गर्छ । तर म झन आफ्नो प्रश्नको जवाफ नजिक पुगेको झैँ आत्मविश्वासी भएँ । र जवाफ दिएँ ।
म तपाइको भाईजस्तै हो ! बरु मलाइ फेरी भेट्दा, वा देखेमा भाई भनेर बोलाउनु ल । सुन तिमि त बाठो र बोलैया रैछौ । मेरो बारे किन जान्न चाहन्छौ मलाई सरोकार छैन । तिम्रो जवाफ म दिन्छु, भनिन । अनि भन्नु न त यँहा सबै मानिस आफ्नै काम-कुरोमा व्यस्त हुने गर्छन । दुबई मेट्रोको त कुरा नगरौं, संधैभरी भिडभाड अनि कोलाहलको यात्रा हो ।
मेरो काम एक बहुराष्ट्रिय कम्पनि हो, म त्यहा प्रशाशनिक सहायिकाको पोस्टमा कार्य गर्छु । दैनिक जसो हप्ताको छ दिन कार्यालय जान्छु । यो त संयोग मात्र हो । कहिले काँही केहि मानिसले आफ्नो फुर्सद निकालेर मलाई बाटो काट्न र अप्ठेरो, उकालो चढ्न सहयोग गर्छन । तर अन्य दिनमा म एक्लै हिड्ने गर्छु । गाह्रो हुन्न र ? उनि मुस्कुराईन म पनि फिस्स हाँसे ।
आफुले जान्ने भएदेखि म एक्लै हिड्ने गरेको हुँ । मेरो देश … (अन्यत्र नबताउने सर्तमा) हुँदा यति सफा फराकिलो र समथर जमिन नभएकै ठाममा घाम पानी, हिलो धुलो नभनी यात्रा गरें । यो त ति ठाम हेरी स्वर्ग हुन । ए ! काम गरे अनुसार पारिश्रमिक पाउनु भाछ त ? मैले प्रशसनिक फाँटमा काम गर्छु । हाहा!! म त खुशिसाथ भन्छु, मेरो तलव ७००० (नेपाली दुइलाख) हो।
अन्य आम्दानी कहिले काँही आउने गर्छ । र कुरा गर्दै जाँदा उनले आफु एम बि ए ग्रादुयेट महिला र पहिले देशमा शिक्षिका हुँ । उक्त कम्पनीको अन्तरवार्ता टोलि संग प्रत्यक्ष रुपमा समावेश भइ, प्राक्टिकल, मौखिक (ORAL) परिक्षा नै पास गरि युएईको दुबई आएकी बताइन । उनको सारीरिक दुर्वलता भन्दा मानशिक क्षमता निकै माथि रहेछ । जसले उनलाई आत्मविश्वासी, निडर, स्वाभिमानी र निर्भिक भएर बाँच्न सक्षम बनाएको छ ।
हामी केहि मानिस देख्छौ, जो सारीरिक रुपमा सक्षम देखिए पनि मानसिक रुपमा दुर्बल र पराजित छन, जसले भन्ने गरेका हुन्छन ‘ भाग्य नै छैन । के प्रयास गर्नु जति खेरै भने जस्तो केहि हुन्न । ति प्रयास गर्न छोडीदिन्छन तर जब म जुनेली’ संग नजिकिए र यति संघर्षको कहानी छोटो समयमै जान्न पाए । म त अघिको म नै रहिन उनीले ” मेरो बस्ने यतै हो, अब म जान सक्छु भनिन ।
टेक केयर सिस्टर BYE ! यु टू टेक केयर, गड ब्लेस यु भन्दै मुसुक्क हाँसेर जुनेली विदा भईन । बिदा मागेसंगै छुटे अलि पर आए, टक्क उभिए, म मेरो हात हेर्नथाले, खुट्टा हेरें, कान छामे, नाक, मुख आँखा सुम्सुमाए र चिसो मन गरेर एकछिन टक्क मुर्ति झैँ उभिएँ । अघिसम्म म आफैंलाई अभागी, पराजित मानसिकता भएको पाउंथे ।
हो! म पराजित मानसिकताले ग्रस्त थिएँ । मसंग सग्ला दुइ हात खुट्टा छन, म राम्रोसंग हिड्न डुल्न र दौडन सक्छु । म राम्रोसंग सुन्न, बोल्न र हेर्न सक्छु । म त भग्यमानी पो रहेछु । तर अस्ति एकचोटी प्रयास गर्दा आफुले सोचेजस्तो नतिजा आएन भनेर लगभग, प्रत्यक्ष चिनेका, सामाजिक संजालबाट जोडिएका सबै सबैलाई गुनासो तथा आफ्नो पराजित सोच अनि बिचलित म बारे भन्न भ्याएको थिएँ ।
एकचोटी को प्रयास लाइ नै ठुलो मेहनत झैँ मानेर, त्यत्रो मेहनत गरें, तर केहि हात लागेन, फेरी फेल भएँ । यसरि आफुले आफुलाई नै पराजित घोषणा गरि धेरैलाई दुख बाँडे । कतिको लागि म हाँसोको पात्र बने होला, कतिले मेरो मजाक बनाएर अरुलाई नि चुटकिला झैँ हंसाउन भ्याए होला ।
तर अब म नयाँ म भएको थिएँ । एकदिनको संघर्षले केहि हुने रैनछ आज मैले जुनेलीलाई भेटेपछी थाहा पाएँ । ति दिनकै संघर्ष गर्छिन तर उनले मसंग बोल्दै गर्दा दिएको मिठो मुस्कान, कुराकानीको बिचमा खित्का छोडेर आफु हास्ने र अरुलाई नि हँसाउने खालको हर्कत गरेको देख्दा लाग्यो ।
दुख पिडा र संघर्षले नै मानिसलाई मानिस बनाउने गर्छ जसरि फलामले आगोको राप र घनको चाप सबे सहेर तरवार बन्छ । कोइलाको पत्थरभित्र जसरि हिरा भेटिन्छ त्यस्तै दैनिक प्रयास बाट नै जिन्दगीमा असली सफलता मिल्ने गर्छ । जुनेलीले मलाई आफ्नो कहानी मात्र सुनाइनन ।
उनि ति संघर्षको भुमरीमा फसिरन्हदा, शारीरिक असक्षमताको भागी बन्दा र दैनिकी चलाउन यात्रा गर्दा भोग्नुपर्ने कष्टबीच पनि ति चम्किलो मुहारमा दाँत टलक्क टल्काएर हाँसो छोडी भन्दै थिन । जिन्दगिको परिभाषा बुझ्न चाहन्छौ भने सोध्न छोड, संघर्ष गर, संघर्ष मै जिन्दगि भेटिन्छ ।
यस्ता हजारौ प्रेरणामुलक चिज हामी वरिपरी नै छन । तपाई निराश नहुनुस, सुन्नुस, पढ्नुस, ति कथा जो हाम्रो जीवनमा प्रेरणा बोकेर आइरहनेछन । जुनेलीले मलाई अझै प्रयास गर्ने, संघर्षशील जिन्दगि जिउने प्रेरणा दिएर गएकी छन । उनलाई लाख लाख धन्यबाद ! संधै यस्तै रहनु, सबैलाई जीवन जिउन प्रेरणा दिनु र तिमि जीवनमा सफल हुनु ।
मैले फेरी भेट्दा तिम्रो अझ प्रगति भएको देख्न र सुन्न पाऊ । जुनेली तिमि ‘ जून ‘ झैँ चम्केर सबैलाई प्रेरणाको उजेलो छरिरहनु । तिमी जँहा छौ र जे छौ, स्वस्थ रहनु, व्यस्त रहनु , प्रगतिले शिखर चुम्नु मेरो भगवान संग यही प्राथना छ ।
(विदेशमा अपाङ्गता भएकी महिलासँगको वास्तविक भेटघाट र सत्यघटना)का लेखक बिगत ७ बर्षदेखी युएईमा कार्यरत छन।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend