साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी मंसिर ४ ।
सधैजसोका निर्वाचनमा ठूला–ठूला आम सभा गर्ने गुल्मीका राजनीतिक दलले यसपटक भने निर्वाचन प्रचार शैलि फेरेका छन् । पहिलेभन्दा अहिले निर्वाचन आचार संहिता पनि कडाइका साथ पालना गर्नुपर्ने भएकोले पनि दलहरुले ठूला ठूला आम सभा नगरेको कतिपयको बुझाई छ ।
यसपटकको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा दलहरुले घर घरमा वा चौपारीमा नै आमसभा गर्ने गरेका छन् । नजिकैका २०÷२५ घरका मानिसहरुलाई कुनै ब्यक्तिको घर वा चौपारीमा जम्मा पारी नेताहरुले जनतामाझ निकटता बढाउने प्रयास गरेका छन् । अहिले कार्तिक, मंसिरको समयमा धान, कोदो लगायतका खाद्यान्न बालिहरु स्याहार्न पर्ने भएकोले पनि मतदाता बढी खेतबारीमै ब्यस्त देखिन्छन् ।
जसले गर्दा उम्मेद्धारहरु नै स्वयम् खेतबारीमै गएर भोट माग्ने समेत गरेका छन् । यसअघिका निर्वाचनमा कम्तिमा ४, ५ वटा गाविसका मानिसहरुलाई जम्मा गर्ने र ठूला नेता बोलाएर आम सभा गर्ने गर्दथे । तर यसपालि भने दलहरुले साविकका गाविस अर्थात एक वार्डमा कम्तिमा ४, ५ ठाउँ भेटघाट गर्ने गरेका छन् ।
यस्तो किसिमको चुनावी प्रचारको लागि स्थानिय कार्यक्रता नै बढी परिचालन हुने भएकोले खर्च समेत कम लाग्ने नेपाली काङ्ग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेद्धार चन्द्र भण्डारीले बताए । भण्डारी विगत १० बर्षदेखि गुल्मीको निर्वाचन क्षेत्र नम्बर २ तथा हालको १ नम्बर निर्वाचन क्षेत्रमा चुनाव भिड्दै आएका छन् । ‘अहिले मतदातालाई कामको भ्याइनभ्याई भएकोले ठूला आम सभामा जाने फुर्सद छैन ।’
उनले भने, ‘त्यसैले स्थानियको घरमा २०÷२५ जनालाई जम्मा गरी आफ्ना कुरा राख्छौ । उनका प्रतिद्धन्द्धि बाम गठबन्धनको तर्फबाट नेकपा एमालेका प्रदिप ज्ञवालीको चुनावी शैलि झनै फरक छ । विगतमा धेरै भूमिगत बसेका उनले ग्वाघा, फोक्सिङ लगायतका क्षेत्रमा भूमिगत शैलिमा मकै र भट्ट खाएर प्रचार गरेका छन् । प्रदेश २ मा माओवादी केन्द्रबाट उम्मेद्धार बनेका सुदर्शन बराल र ज्ञवालीले जनताकै घर दैलोमै गएर भूमिगत शैलिमा भोट माग्दा मतदातासँग निकटता समेत बढेको बताए ।
उनीहरु अधिकाशं क्षेत्रमा पैदल हिडेर नै घरदैलो गरिरहेका छन् । जिपमा हुँदा पनि गाउँका बुढाबुढी, जेष्ठ नागरिक, बृद्ध–बृद्धा लगायतका मतदातालाई भेट्ने पनि गरेका छन् । ‘धेरैजसो जेष्ठ नागरिकलाई घरमै पुगेर भेटेका छौ ।’ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेद्धार ज्ञवालीले भने, ‘यसरी घरमै पुग्दा मतदाताका समस्याहरु पनि नजिकबाट नियाल्न पाइदो रहेछ ।’
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ प्रदेश १ मा नेपाली काङ्ग्रेसका उम्मेद्धार शालिक पन्थीले पनि ठूला–ठूला सभा राखेर मतदाता नआउने भएकोले टोल टोलमै पुगेर मतदातासँग भोट माग्ने गरेका छन् । ‘मतदाता धेरै भाषण सुन्नै चाहान्नन् ।’ उनले भने, ‘त्यसकारण टोलटोलमा पुगेर मतदाताका गुनासा सुन्ने गरेका छौँ ।
’ उनले मतदाता भएकै स्थानमा पुगेर समेत भोट माग्ने गरेका छन् । ‘मतदाता खेरबारीमा ब्यस्त पनि हुने गरेका छन् ।’ पन्थीले भने, ‘भोट माग्न कहिँलेकाहीँ खेतबारीमै भएपनि पुग्ने गरेको छु ।’गुल्मीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा २ मा नेपाली काङ्ग्रेसका उम्मेद्धार छन्द पहराईले पनि प्राय सबै ठाँउमा टोल सभामार्फत आफ्ना कुरा राख्ने गरेका छन् ।
त्यसका साथै प्रत्येक जनताजिको घरमा नबिराईकन आफू भोट माग्न जाने गरेको पनि उनको भनाई छ । ‘ठूला भाषणमा जनताको न्यून उपस्थिति हुने देखेर टोल सभा र घर दैलोलाई नै प्राथमिकता दिएको छु ।’ उनले भने, ‘यसरी मत माग्दा मतदातासँगको सम्बन्ध बढ्ने र आफूलाई पनि जिम्बेवारीपनको बोध हुँदो रहेछ ।’
उनका प्रतिद्धन्द्धि बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका दिनेश पन्थीले पनि ३÷४ मात्रै कार्यक्रता साथमा लिएर हिड्ने गरेका छन् । यसले गर्दा निर्वाचन खर्च समेत कम हुने उनको भनाई छ । उनले निर्वाचन प्रचार कार्यतालिका अनुसार टोल–टोलमा पुग्ने र जनताको गुनासो सुन्दै भोट माग्ने गरेका छन् । ‘मतदातासँग निकटता बढाउनको लागि टोल–टोलमा पुग्ने गरेका छौँ ।’ उनले भने ।
प्रतिनिधिसभा २ मा बाम गठबन्धनको तर्फबाट एमालेका उम्मेद्धार गोकर्ण विष्टले पनि आम सभा भन्दा टोल सभा र घरदैलोलाई नै प्राथमिकता दिएका छन् । ‘आमसभामार्फत सबैका गुनासाहरु सुन्न सकिन्न, आफ्ना भनाईमात्र राख्ने हो ।’ उनले भने, ‘टोलसभामार्फत सबैका गुनासा सुनी अन्तक्रिया समेत गर्न सकिन्छ ।
उनले सकेका ठाउँहरुमा घरदैलो गर्ने, गाउँका बुढापाकाहरुलाई भेट्ने र आर्शिवाद लिने समेत गरेका छन् । उनका प्रतिद्धन्द्धि काङ्ग्रेसका चन्द्र केसीले पनि हालसम्म कतै आमसभा गरेका छैनन् । ४३ वडामध्ये अधिकाशं ठाउँहरुमा घरदैलो गर्ने गरेका केसीले जनताको गुनासो सन्नकै लागि घरदैलो र टोल सभा गर्ने गरेको बताए ।
विगतमा राजनीतिक दलहरुले धेरैपटक आमसभा गर्ने गरेको तर बोलेका कुराहरु पुरा नगरेकोले जनता आम सभामा उपस्थित नहुने उनको भनाई छ । ‘राजनीतिप्रति धेरैलाई अविश्वास छ, जनता भाषण सुन्ने मुडमै छैनन् ।’ उनले भने, ‘त्यसले गर्दा टोलमा गएर आम जनताको मन जित्ने कोशिस गरेका छौँ ।’ यसरी घर वा टोलमै पुगेर मतदातासँग अन्तरिक्रिया गर्दा आफू अझ परिचित हुने अवसर मिलेको समेत उनले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend