logo
  • शुक्रबार, असोज ९ २०८३

खेर गएको पानीबाट विधुत निकालेर उज्यालो बनाउँछौँ – पौडेल


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 विमल खड्का,  बाग्लुंङ् कार्तिक २१ ।
ठाउँ ठाउँमा चुनावी सभासँगै मतदाता भेटघाटलाई तीव्र पारेका वाम गठबन्धन बागलुङ निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवारले मंगलबार तमानखोलाको लाममेलामा कार्यक्रम गरेका छन् ।
प्रतिनिधि सभाका २ का प्रत्यक्ष उम्मेदवार देवेन्द्र पौडेल र प्रदेश सभा–२ का उम्मेदवार टेकबहादुर घर्तीको टोलीले पश्चिम बागलुङको तमानखोला गाउँपालिकाको लाममेलामा सभा गरेको हो । चुनावी सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा प्रतिनिधि सभा बागलुङ निर्वाच क्षेत्र नम्बर–२ का साझा वामपन्थी उम्मेदवार देवेन्द्र पौडेल सुनिलले वामपन्थी नेतृत्वको सरकारले थालेको उज्यालो नेपाल अभियानलाई दुरदराजसम्म पु¥याउने बताए ।
उनले १८ घण्टासम्म लोडसेडिङ हुने गरेको मुलुकमा २४ सैँ घण्टा विजुली झलमल बनाउने वामपन्थी नै भएको भन्दै बगिरहेका खोलाबाट विजुली निकालेर उज्यालो नेपाल बनाउने उद्घोष गरे ।  ‘तपाई हामीले देखेकै कुरा हो एक वर्ष अघिसम्म सुख्खा याममा १८ घण्टा विजुली जान्थ्यो, हाम्रा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका बेला कुलमानको नेतृत्वमा सुरु भएको उज्यालो अभियानले ठुला शहर उज्यालिएका छन्,’ पौडेलले भने, ‘वामपन्थीको सरकार बनेपछि हामीले गाउँगाउँमा बगरेर खेर गईरहेको पानीबाट विद्युत निकालेर दुरदराज र कुनाकाप्चामा समेत उज्यालो बनाउँछौँ ।’

पौडेलले अहिलेसम्म पनि केन्द्रीय विद्युत पुग्न नसकेको पश्चिम बागलुङमा विजुली पुराउने आफ्नो पहिलो दायित्व हुने बताए । ‘यति ठुलो भुगोलमा राष्ट्रिय प्रसारणको विजुली आईपुगेको छैन, यसमा म निकै दुखि छु, केन्द्रीय विद्युत ल्याउने मात्र नभएर यहाँका खोला नालबाट विजुली निकालेर राष्ट्रको उर्जा संकटलाई तत्काल समाधान गर्ने कुरामा म प्रतिवद्ध छु ।’

उनले दक्षिण एसियामै नमुना बनाउन सकिने नेपालकै ठुलो ८ सय मेगावाट भन्दा बढीको उत्तरगंगा जलासययुक्त जलविद्युत आयोजना निर्माणको कामलाई यथाशिघ्र अघि बढाउन आफुले पहल गर्ने प्रतिवद्धता जनाए ।

‘ईच्छाशक्ति सहितको नेतृत्व भए दुई वर्ष भित्र पूरै नेपाल उज्यालो बनाउ सकिन्छ,’ पौडेलले भने,‘पाँच वर्षमा त हामी संसारका अरु देशलाई विजुली वेचेर आम्दानी गर्न सक्छौँ, वामपन्थी सरकारले यो कामलाई उच्च प्राथमिकता सहित अघि बढाउँछ ।’
प्रदेश सभा–२ का वामपन्थी उम्मेदवार तथा राष्ट्रिय जनमोार्चाका नेता टेकबहादुर घर्तीले सिंहदरबारको अधिकार जनतामाझ ल्याउन अगुवाई गर्ने कम्युनिष्टले मुलुकको विकसको पनि नेतृत्व गर्ने बताए । उनले तमानमा होमस्टे चलाएर पर्यटक अकर्षण गर्ने बताए । घर्तीले बुर्तिबाङ तमानहुँदै म्याग्दी जोड्ने सडकलाई तत्काल कालोपत्रे गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य फमलाल निउरे, एमाले नेता तथा प्रदेश सभाका समानुपातिक उम्मेदवार मोहनलाल शर्मा,  ढोरपाटन नगरपालिका प्रमुख तथा एमाले नेता देव कुमार नेपाली लगायतले नेपाललाई समृद्ध बनाउन वामपन्थीको सरकारले ५ वर्ष ढुक्क भएर शासन गर्न पाउनुपर्ने बताए ।

यसका लागि अहिलेको वामपन्थी गठबन्धनले दुईतिहाई सिट प्राप्त गर्नुपर्ने उनीहरुको भनाई थियो ।  कार्यक्रम नेकपा एमाले जिल्ला सदस्य उदिम छन्त्यालको अध्यक्षता, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुर्य श्रीपालीको स्वागत र माओवादि केन्द्र तमान खोला गाउँपालिका संयोजक देबबहादुर पुनको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा निर्वाचन क्षेत्र नम्बर–२ को प्रदेश सभा–२ का निर्वाचन परिचालन कमिटि संयोजक तथा जनमोर्चा नेता धर्म कुवर, ताराखोला गाउँपालिका अध्यक्ष तथा माओवादी नेता प्रकाश घर्ती मगर, अखिल छैठौंका केन्द्रीय महासचिव भिमलाल पोखरेल लगाएको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend