साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
सम्पूर्ण मगरहरुको एकता, आजको आवश्यकता” भन्ने मुल नाराका साथ कतारमा सक्रिय रहेको नेपाल मगर संघ शाखा कतारले प्रथम हुर्रा महोत्सव तथा दिपावली २०१७ कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । “गरिव तथा जेहेन्दार विधार्थीको अक्षयकोष सहयोगार्थ” आयोजित कार्यक्रममा संघका अध्यक्ष शेर बहादुर रोका मगरको सभापतित्व तथा नेपाल मगर साँस्कृतिक संघका अध्यक्ष कबिराज मगरको प्रमुुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा गैर आवासीय नेपाली संघका अध्यक्ष नगेन्द्र प्रसाद पोखरेल, २०१७/०१८का मगर (बाङ्ग) राजा रेशम आले मगर, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कतारका अध्यक्ष गणेश प्रसाद बन्जाडे, नेपाल प्रवासी आदिवासी जनजाति महासंघका अध्यक्ष देवराज राई, बसन्त फिल्मस प्रालिका प्रवन्ध निर्देशक तथा पाल्पाली सेवा समाजका अध्यक्ष ईश्वर काफ्ले, गुल्मी सेवा समाजका अध्यक्ष बुद्ध पाण्डे, धनकुटा सेवा समाजका अध्यक्ष ललित लिम्बू बुद्धिजीवी तथा समाजसेवी सियाराम चौधरी, लगायत कतारमा स्थापित विभिन्न वैचारिक तथा सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, मिडियाकर्मी तथा पत्रकारहरू अतिथि रहेका थिए ।
विधिवत रुपमा उद्घाटन गरिएको कार्यक्रममा द्धिप प्रज्वलन, ब्यानर अनावारण, राष्ट्रिय गान, नेपाल मगर संघका संस्थापक अध्यक्ष हेम बहादुर पुन मगर तथा नेपालका प्रथम सहिद क्या. लखन थापा मगर तथा ज्ञात अज्ञात सहिदहरु प्रति एक मिनेट मौन धारण समेत गरिएको थियो ।
संघका प्रथम उपाध्यक्ष अभिमत पुन मगरको स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रममा बलिराजाको पुजा आराधना, देउसी भैलो, संगै विशेषगरी नेपालको पुर्वीय भेगमा लोकप्रिय मानिने हुर्रा नृत्य प्रस्तुत गरिएको थियो । सोहि अवसरमा नेपालको पुर्वीय भेगमा लोकप्रिय मानिने हुर्रा नृत्य विशेषता र महत्त्वका बारेमा हुर्रा नृत्यका सम्योजक डिएन पाङ्गी मगरले प्रष्ट पारेका थिए ।
नेपाल मगर साँस्कृतिक संघका अध्यक्ष समेत रहेका कलाकार कबिराज मगरले मयुर नाच प्रस्तुत गरे । तेस्तै सर्जक तथा लोक गायक प्रसाद खप्तरी मगरले नेपाली मौलिक परम्परालाई प्रार्थमिकतामा राख्ने पञ्चेबाजा, सालैजो, सोरठी लगायतका आधा दर्जन भन्दा बढी गीतहरु प्रस्तुत गरेका थिए । त्यसैगरी डान्सर तथा नृत्य निर्देशक सुमन थापा मगर र चर्चित मोडल तथा नृत्याङ्गना रिना थापा मगरले “सान्नानीले झुक्यायो मलाई” “राम्दी पुल” परदेशीको कहानीमा आधारित कथामा नृत्य तथा अभिनय गरेका थिए ।
प्रमुख अतिथि समेत रहेका मयुर नृत्यकार कबिराज मगरले प्रथम हुर्रा महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको गौरव तथा नेपालीहरूको सान, मान र प्रतिष्ठालाई उच्च राख्नुका साथै मगर साँस्कृतिक संघले परम्परागत विभिन्न २५ वटा नेपाली मौलिक राष्ट्रिय पहिचान झल्किने संस्कृतिको संरक्षण-संवर्द्धन तथा प्रवर्द्धनका लागि नेपाल सरकारमा दर्ताको प्रकृयामा लागेको जानकारी दिँदै वैदेशिक शाखाहरूलाई पनि संघको मातहतमा रहने गरि विभिन्न विधाका कलाकारलाई सांगठानिक एकता बनाउन अपिल गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कतारका अध्यक्ष गणेश प्रसाद बन्जाडे, नेपाल प्रवासी आदिवासी जनजाति महासंघका अध्यक्ष देवराज राई, बुद्धिजीवी तथा समाजसेवी सियाराम चौधरी, धनकुटा सेवा समाजका अध्यक्ष ललित लिम्बू लगायत विभिन्न वक्ताहरूले बोलेका थिए ।
यसैबीच कार्यक्रममा कलाकारहरुलाई सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कलाकार राष्ट्रका गौरव र गहना हुन् भन्दै थप उत्तरोत्तर प्रगतिको कामना गर्दै, कार्यक्रम संयोजक, संघका अध्यक्ष तथा प्रमुख सल्लाहकारले संघको लोगो अंकित मायाको चिनो उपहार दिएका थिए ।
मगर संघ शाखा कतारले गतवर्ष भुम्या महोत्सव सम्पन्न गरेको थियो । यसवर्ष हुर्रा महोत्सव मनाएको र संघले आगामी दिनहरूमा मगर समुदायका विभिन्न मौलिक परम्परागत नेपाली संस्कृतिको जगेर्ना गर्दै निरन्तरता दिने बताएका छन् ।
संघका साँस्कृतिक संयोजक भुपेन्द्र रिखाम मगरको संयोजकत्व रहेको कार्यक्रम संघका महासचिव बिजय कुमार मगर, संघकी महिला विभागीय संयोजक ईशोरा थापा मगर तथा डिएन पाङ्गी मगरको संयुक्त संचालनमा कतारको सनैया स्थित अल डल्ला ड्राइभिङ्ग स्कुलको हलमा सम्पन्न भएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend