साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी असोज २५ ।
गुल्मी लगायत छिमेकी जिल्लाका स्थानीयलाई अब एपेन्डिसाइटिसको उपचार गर्न पाल्पा बुटवल जानु नपर्ने भएको छ । जिल्ला अस्पताल तम्घासले पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरेको छ । जुन खबरले नागरिकहरुमा खुसी छाएको छ ।
अहिलेसम्म जिल्ला अस्पताल तम्घासमा एपेन्डिसाइटिसको शल्यक्रिया नगरिएको अस्पताल प्रसासनले जनाएको छ । जसका कारण सवै स्तरका परिवारहरु पाल्पा बुटवल लगायतका स्थानहरुमा बढि खर्च तिरेर उपचारको लागि पुग्ने गरेका थिए । अहिले जिल्ला अस्पताल तम्घासमा सरुवा भएर आउनुभएका एमडिजिपी डाक्टर उत्तम पच्याले एपेन्डिसाइटिसको सफल शल्यक्रिया गर्नुभएको हो ।
मेरो लागि नौलो कुरा भएन जिल्ला अस्पतालमा पहिलो अप्रेशन रहेछ, पच्याले भन्नुभयो, अब धेरै खर्च गरेर एपेन्डिसाइटिसकै लागि बाहिर नजान सवैलाई आग्रह गर्दछु । पहिलो पटक रेसुङ्का नगरपालिका ९ की ३२ बर्षिया सम्झना मरासिनीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको हो । उनी जिल्ला अस्पताल तम्घासमै कार्यरत कर्मचारी हुन् ।
अहिलेसम्म जिल्ला अस्पतालमा यो रोगको उपचार नभएपनि डाक्टरको हिम्मतको कदर गर्नकै लागि आफुले शल्यक्रिया गर्न सहमती जनाएको सम्झनामा श्रीमान बासु मरासिनीले बताउनुभयो । ‘जोखिम मोलेकै हुँ, तर सफल भयो खुसी छु,’मरासिनीले भने,‘आफुपनि डाक्टरको क्षमताबाट प्रभावित भए ।
जिल्ला अस्पताल यो रोगको उपचारका लागि योग्य भएकाले गर्ने नगर्ने भन्ने कुरा डाक्टरको हातमा भएको शल्यक्रियामा सहभागी डाक्टर पच्याले बताउनुभयो । ‘पहिले पनि डाक्टर र अवस्था उस्तै थियो तर शल्यक्रिया भएको रैनछ,’पच्याले भन्नुभयो,‘यो सवै कुरा व्यक्ति र उसको कार्यकुशलतामा भरपर्छ ।
पच्याकै अनुसार बाहिर प्राइभेट अस्पतालमा गएर एपेन्डिसाइटिसको उपचार गर्दा ४० देखि ५५ हजार खर्च हुने गर्दछ । तर जिल्ला अस्पतालमा करिव ८ हजारमा सो रोगको उपचार हुने उहाँले बताउनुभयो । डाक्टर पच्या गुल्मी पराल्मीको हुनुहुन्छ ।
उहाँ जिल्ला अस्पताल ताप्लेजुङ्कबाट सरुवा भएर भदौ १ गते जिल्ला अस्पताल तम्घास आउनुभएको हो । उहाँले अहिले प्रसुति सम्बन्धि जटिल शल्यक्रिया समेत धेरै गर्नुभएको छ । गएको बर्ष १३ बटा मात्र जटिल शल्यक्रिया भएका थिए । तर पच्याले अहिले डेढ महिनाकै अबधीमा १९ वटा जटिल शल्यक्रिया गर्नुभएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend