साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी असोज १२।
हिन्दु नेपालीहरुको महान चार्ड दशैँ घर दैलोमै आइपुगेको छ । देशका विभिन्न स्थान तथा विदेशमा रहेको नेपालीहरु कतिपय घर आइसकेका छन् भने कतिपय आउने क्रममा छन् ।
खासगरि खटस्थापनाको दिनदेखि मानिसहरु घर फर्किने क्रम सुरु हुन्छ र नवमीको दिनसम्म रहन्छ । यस्तो अवस्थामा अन्य समयमा भन्दा सवारी साधनमा यात्रुको चापँ बढी हुन्छ। त्यसैलाई मध्यनजर गर्दै यातायात ब्यवसायीले सवारी साधनको सङ्ख्यामा बृद्धि भएको जनाएको छ तर त्यो पर्याप्त छैन् । जसले गर्दा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
देशका विभिन्न ठाँउबाट गुल्मी तम्घाससम्म आउने सडक खण्डमा अहिले साना तथा ठूला सवारी साधनको चाँप निकै बढी देखिन्छ । यसरी आउने यात्रुहरुले पनि समयमा टिकट नकाटेको तथा टिकट नै नपाइएकोले गर्दा सवारी साधनभित्र कोचिएर आउनुपर्ने बाध्यता छ। ‘बुटबलमा टिकट नै पाइएन् घर पनि जानुप¥र्यो।’ बुटबलबाट घर आउन लागेकी इश्मा दर्लामचौरकी ज्ञानु पाण्डेले भनिन्,‘ त्यसैले बसभित्र बुटबलबाटै उभिएर आए ।
सम्बन्धित निकायले समयमै ध्यान नदिदा जहिले पनि नागरिकले यस्तै समस्या भोग्नुपरेको उनको भनाई छ । त्यस्तै धुर्कोट गाउँपालिका वार्ड नम्बर ४ जैसिथोकका रामप्रसाद पोखरलले पनि बुटबलबाट गुल्मीतिर लागेपछि आफ्नो यात्रा अलि कठिनाईपुर्ण भएको बताए । रोजगारिको शिलशिलामा भारत पुगेका पोखरेल दसैँमान्न घर आएका हुन् तर बुटबलमा टिकट नपाएपछि उनी बसभित्र कोचिएर तम्घाससम आए । यात्रु धेरै भएकोले उभिएर आउन पनि मुस्किल परेको उनको भनाई छ ।
यात्रालाई सहज बनाउने उदेश्यले कुनै पनि लामो यात्रा गर्दा हामी टिकट काट्छौ । कुनै पनि यात्रामा जादाँ आफु जाने सवारी साधनको पहिले नै टिकट काटेमा यात्रा सुरक्षित हुन्छ भन्ने विश्वास छ । खासगरि सिटमा आरामसँग बसेर यात्रा गर्ने उदेश्यले हामी टिकट लिन्छौ । पछिल्लो समय बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्नको लागि प्रहरी तथा यातायात ब्यवसायील समेत सकेसम्म टिकट काटेरै यात्रा गर्न आग्रह गर्छन् । तर दसैँको समयमा टिकट लिएपनि यात्रा सहज नभएको अधिकाशंको भनाई छ ।
दसैँको समयमा सिट क्षमता भन्दा बढी यात्रु राख्ने, ओभरलोड राख्ने, सवारी साधनभित्र यात्रुलाई कोचाकोच गराउने, टिकट काटेका यात्रु भन्दा टिकट नलिएका ब्यक्तिहरु धेरै राख्ने जस्ता कारणले टिकट लिएकाहरुको यात्रा सहज नभएको हो । ‘टिकट लिएर नै बसमा बसेको थिएँ, तर बसले अटि–नअटि यात्रु भ¥र्यो ।’ बुटबलमा बसोबास गर्ने इश्मा दोहोली घर भएका चन्द्रमणी पोख्रेलले भने, ‘टिकट लिएको र नलएको एउटै भयो ।’
बुटबलदेखि तम्घाससम्म यात्रा गर्ने एकमात्र सडकखण्ड गुल्मी–पाल्पा–बुटबल सडक हो । यस सडकको पनि बुटबलनजिकै सिद्धबाबामा पहिरो खस्ने समस्या छ । त्यत्तिमात्र होइन् भर्खरै मर्मत भएको रिडि–तम्घास सडकअन्तगरत गुल्मीको भंगेरीमा पनि अहिले सुख्खा पहिरो खस्ने समस्या छ ।
त्यसका साथै सडकको बिचबिचमा पहिरो खस्ने, गाडी जाम हुने जस्ता समस्याहरु भइरहन्छन् । यसै बर्ष असौज ६ गते पनि सिद्धबाबामा पहिरोले पुरिएर ३ जना मारिए । जसमध्ये २ जना गुल्मीका थिए । त्यसैगरि सोहिदिन भंगेरीमा जिप दुर्घटनामा परि एकजना गुल्मेलीको ज्यान भने अर्का घाइते भए ।
सोहि दिन नै बाग्लुङमा भएको जिप दुर्घटनामा परि दुई गुल्मेली सुरक्षाकर्मीको ज्यान गयो । यसरी सडककै कारणले एकैदिन ५/५ जना गुल्मेलीहरुको ज्यान जाँदा जिल्लाबासि झन चिन्तित तथा निराश बनेका छन् ।
खासगरी सिद्धबाबा र उर्लेनीमा खसेको पहिलरोले यात्रुलाई निकै दुख र निराशा दियो । जसले गर्दा धेरै गुल्मेलीहरु आफ्नै ज्यानलाई जोखिममा राखेर समेत यात्रा गर्न बाध्य छन् । पछिल्लो समयमा सिद्धबाबापछि गुल्मीका भंगेरमा पहाड खस्ने समस्या यात्रुका लागि सास्ती बन्न पुगेको छ ।
यसमा दिउसैँ सुख्सा पहिरो जाने समस्या नरोकिदा यात्रुहरुले सास्ती खेप्नुपरेको छ । वर्षमा एकपटक आउने दसैँमा सबैलाई घर जान हतार हुन्छ । त्यसैले पनि होला, अहिले दैनिक हजारौ मानिसहरु जोखिमपूर्ण पैदल यात्रा गर्न बाध्य छन् ।
सोहि पहाडमा पहिरो गएको कारण हरेक यात्रुलाई तम्घाससम्म आइपुग्न २ वटा सवारी साधन फेर्नुपर्छ ।जसका लागि माथिबाट पहिरो खस्दाखस्दै पनि विचमा करिब ४५ मिनेटको पैदल यात्रा गर्नुपर्ने यात्रुहरुको भनाई छ ।
तर गाडिभारा भने घट्दैन् उल्टै बढ्छ । ‘बिचबिचमा पहिरो गएकोले ४५ मिनेटजति हिडेर आइयो ।’मालिका गाउँपालिका ६ अर्जेकी कल्पना घिमिरेले भनिन्, ‘यात्रा पनि सोचेजस्तो सहज भएन् ।’
त्यसका साथै उनले गाडिभारा समेत महङ्गो भएको बताइन् । ‘सधै भन्दा दोब्बर भारा बुझाउनुप¥र्यो ।’ घिमिरेले भनिन्, ‘दसैँलाई सवारीधनीले कमाउने मौका सम्झेका रहेछन् ।’
दसैँको समयमा विदेशमा भएका र स्वदेशका पनि विभिन्न कामको शिलशिलामा घर बाहिर भएका मानिसहरु आफ्नो घर आउने गर्दछन् । स्वदेशमा बस्ने आफन्त सकेसम्म परिवारमा भेट हुन्छ तर विदेशमा बस्ने भने २/३ बर्षमा मात्र घर आउने भएकाले उसलाई दसैँ स्वदेशकोलाई भन्दा बढी चिज हुन्छ ।
त्यसैले पनि दसैँ धेरै लाहुरेहरु आउने समय हो । दसैँको बेला राम्रो खाने राम्रो लगाउने भएकोले पनि परिवारका धेरैले लाहुरेको आशा गर्छन् । लाहुरेले त पैसा कमाएकै हुन्छन् भन्ने सोचाईले पनि लाहुरेहरुबाट गाउँलले समेत आशा गरेका हुन्छन् ।
त्यसैको मौका छोपि सवारीधनिले पनि लाहुरेसँगबाट अत्याधिक भारा असुल्छन्, जसको कारण अन्य सर्वसाधारण समेत मर्कामा पर्छन् । नियमबिपरित भारा लिनेलाई कारवाही गर्ने निकाय प्रहरी छ । उजुरी गरेको खण्डमा उसले पनि कारवाही पनि गर्छ तर दसैँको समयमा सवारी कम हुने भएकोले सवारीधनिको मनोमानि चल्छ ।
कतिपय अवस्थामा त सवारी प्रहरीको कब्जामा आए यात्रु नै गएर छुटाउनुपर्ने बाध्यता छ । धुर्कोट गाउँपालिका वार्ड नम्बर ७ वाग्लाकी मन्जु भुसालको पनि यस्तै अनुभव छ । ‘म चढेको बसमा कन्टेक्टरले बढी भारा लिदैँ थियो, त्यहि बेला एकजनाले प्रहरीलाई खबर गर्नुभएछ ।’
उनले भनिन्, ‘ड्राइभरलाई प्रहरीले नियन्त्रणमा लियो, हामी अलपत्र जस्तै भयौ, त्यसैले प्रहरीकहाँ आफै ड्राइभर छुटाउन गयौँ ।’ आफुहरु गएपछि प्रहरीले पनि बढी भारा नलिने सर्तमा ड्राइभरलाई छोडिदिएपछि मात्र आफ्नो यात्रा अगाडी बढेको उनको भनाई छ ।
दसैँमा यात्रुको चाप बढी हुने तथा सवारी साधन बढी हुने भएकोले टिकट काउन्टरमा पनि टिकटको अभाव भएको यातायात ब्यवसायीको भनाई छ । यस्तो अवस्थामा सम्बन्धित निकायले सवारी सङ्ख्यामा बृद्धि गर्ने तथा यात्रु आफै पनि सवारी साधनको अवस्थादेखि चनाखो भएमा दसैँमा गरिने यात्रालाई सुरक्षित र भरपर्दो बनाउन सकिने जिल्ला ट्राफिक प्रहरी कार्यलयले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend