साझा नेटवर्क
साझा नेटवर्क,काठमाडौ।
तेस्रो चरणअन्तर्गतको स्थानीय तहको चुनावका लागि आज बिहान सोमबार बिहान ७ बजेदेखि प्रदेश २ का आठ जिल्लामा मतदान भइरहेको छ।
बिहान ७ देखि सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ । ५ बजेसम्म मतदान केन्द्र प्रवेश गरिसकेकाले मतदान गर्न पाउने व्यवस्था छ ।प्रदेश २ मा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तह छन् । सोमबारको निर्वाचनबाट यी तहमा ६ हजार ६ सय २७ जना प्रतिनिधि निर्वाचित हुनेछन् ।
यो चुनावमा ३७ हजार २ सय ३६ उम्मेदवार प्रतिस्पर्धामा छन् । तीमध्ये महिला १४ हजार ३ सय ७५ (३९ प्रतिशत) र पुरुष २२ हजार ८ सय ६१ (६१ प्रतिशत) छन् । ८ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । नगरप्रमुख तथा गाउँपालिका अध्यक्षमा पुरुष १ हजार ७ सय ९ र महिला ६१ जनाको मात्रै उम्मेदवारी छ । नगर उपप्रमुख वा उपाध्यक्षमा भने पुरुषभन्दा महिला उम्मेदवारको संख्या बढी छ ।
नगर उपप्रमुख र उपाध्यक्षमा १ सय ९७ जना पुरुष र ९ सय १९ जना महिला उम्मेदवार छन् । वडाध्यक्षमा पुरुष ८ हजार ५२ र महिला २ सय २३ जना उम्मेदवार छन् ।निर्वाचन गराउन २ हजार १ सय ६६ मतदानस्थल र ३ हजार ५ सय ७८ मतदान केन्द्र तोकिएका छन् । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ३१ हजार ५ सय कर्मचारी परिचालित छन् । योसँगै नयाँ संविधानले तय गरेको संघीय संरचनाको एउटा तह (स्थानीय तह) को निर्वाचन सम्पन्न हुनेछ । स्थानीय तहको चुनाव चरणबद्ध रूपमा गरिएको हो ।
यसअघि वैशाख ३१ र असार १४ दुई चरणमा गरी ६ वटा प्रदेशमा चुनाव भइसकेको छ। सोमबार हुने मतदानमा ढुक्क भएर सहभागी हुन निर्वाचन आयोगले आम मतदातामा अपिल गरेको छ। आयोगले मतदाता परिचयपत्र प्राप्त गर्न नसकेकाहरूले पनि नागरिकतालगायत परिचयपत्रका आधारमा मतदान गर्न सक्ने व्यवस्था मिलाइएको जनाएको छ ।
दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनप्रति प्रदेश २ का मतदाता अत्यन्त उत्साही देखिएका छन् । बिहान ८ नबज्दै मतदाताहरु मतदान केन्द्रमा पुगेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend