साझा नेटवर्क
साझा नेटवर्क, गुल्मी असार ५ ।
युवाहरुको क्षेत्रमा काम गरिरहेको जिल्ला युवा समितिले विभिन्न बिधाका चार जना युवाहरुलाई सम्मान गरेको छ । कार्यालयको युवा प्रतिभा तथा उमद्यीको खोजी कार्यक्रम अन्तरगत चार वटा छुट्टाछुट्टै बिद्या रहेका छन् ।
युवा प्रतिभा तथा उमद्यीको खोजी कार्यक्रम अन्तरगत संचार र पत्रकारितामा इस्मा गाउँपालिका ४ का नयाँपत्रिकाकर्मी तथा रेडियो स्काईका समाचार प्रमुख टोपलाल अर्याल पुरस्कृत भएका छन् । उनले जिल्लामा क्रियाशिल संचारकर्मी तथा पत्रकार मध्येबाट युवाको क्षेत्रमा कलम चलाए बापत पुरस्कृत गरिएको समितिले जनाएको छ । त्यस्तै खेलकुदको क्षेत्रका दुई जना युवा सम्मानित भएका छन् ।
राष्ट्रिय स्तरका आठ र अन्तराष्ट्रिय स्तरका दुई स्वर्ण पदक जित्ने रुरु गाउँपालिका रिडीका विकल पौडेल सम्मानित भएका छन् । उनी आइटिएफ तेक्वान्दो खेलाडी हुन् । अर्का फुटवल खेलाडी रेसुङ्गा नगरपालिका ७ का बोम बहादुर भुजेललाई पनि जिल्ला युवा समितिले पुरस्कृत तथा सम्मानित गरेको छ ।
त्यस्तै स्वास्थ्य र सामुदायिक सेवामा मदाने गाउँपालिकाको बाँझकटेरीका बिष्णु भुसाललाई सम्मान गरिएको कार्यालयको कम्प्युटर अप्रेटर सञ्जिवनी अर्यालले बताइन् । भुसालले बाँझकटेरीमा जर्मन नागरिकको सहयोगमा विभिन्न आधुनिक सुविधा सहितको मदाने सामुदायिक स्वास्थ्य केन्द्र संचालन गरेर स्थानीय विपन्न नागरिकलाई सहयोग पु¥याईरहेका छन् ।
रेसुङ्गा नगरपालिकाको नवनिर्वाचित उपमेयर सीता भण्डारीले सवै युवाहरुलाई नगद र सम्मान पत्रद्धारा सम्मान गरेकी हुन् । उपमेयर भण्डारीले सम्मानित सवै युवाहरुलाई बधाई ज्ञापन गरिन । उनले कामको खोजीमा फुर्सदिला बनेका युवाहरुलाई गरिखाने माध्यम सृजना गर्न युवा समितिले देखाएको रचनात्मक क्रियाकलापको प्रसंसा गरिन ।
जिल्ला युवा समितिले शैक्षिक प्रमाण पत्र धितो राखेर व्यावसायिक ऋण दिने कार्यक्रम, रोजगारीको खोजीमा दिनानुदिन बिदेसिँदै गरेका युवाको क्षेत्रमा सीपमूलक तालिम, परामर्श, व्यावसायिक ऋण, सरकारी तथा गैरसरकारी निकायको सहयोग एवं अनुदानकेन्द्रित गराई स्वदेशमै रोजगार तथा स्वरोजगारका अवसरहरु सृजना गर्ने कार्यक्रमहरु संचालन गरिरहेको छ ।
कार्यक्रममा समितिका अध्यक्ष राजेन्द्र विक्रम कुँवरले शैक्षिक प्रमाण पत्र धितो राखेर व्यावसायिक ऋण दिने कार्यक्रम अन्तिम चरणमा पुगेको जानकारी दिएका थिए । जिल्लामा रहेका तीन निर्वाचन क्षेत्रका तीन वटा समूहले संचालन गरेका उद्यमहरुको अनुगमनपछि भुक्तानीको प्रक्रिया शुरु हुने बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend