साझा नेटवर्क
टोपलाल अर्याल,गुल्मी साउन १ ।
गुल्मीको प्रसिद्ध धार्मिक स्थल रेसुङ्गामा विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि आज देखि साउने मेला शुरु भएको छ । धार्मिक, ऐतिहासिक तथा पर्यटकिय दृष्टिकोणबाट निकै महत्वपूर्ण मानिने तपोभूमि रेसुङ्गामा हरेक बर्ष साउने सक्रान्ति देखि साउन महिनाभरनै साउने मेला लाग्ने गरेको छ ।
साउन महिनामा रेसुङ्गामा रहेको पोखरीमा स्नान गरेमा सम्पूर्ण पापहरु नष्ट भएर पूण्य तथा समृद्धी प्राप्त हुने धार्मीक जनबिश्वास रहेको पण्डित लक्ष्मण रिजालले बताए ।चार धामवाट ल्याएको जल (पानी) रेसुङ्गाको पोखरीमा मिसाईएकोले रेसुङ्गा पोखरीमा स्नान गरेमा पूण्य प्राप्त हुने धार्मिक विश्वास छ। रेसुङ्गा पोखरीमा स्नान गरी यज्ञशालाको दर्शन गर्ने दर्शनार्थीहरुको विहानै देखि घुईँचो लागेको छ । मेला भर्नको लागी गुल्मी अर्घाखाँची, पाल्पा, स्याङजा, प्युठान, बाग्लुङ्ग लगाएतका जिल्लाबाट दर्शनार्थीहरु आउने गरेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताए ।
रेसुङ्गामा रहेको भ्यु टावरबाट तराईका विभिन्न जिल्लाको समेत अवलोकन गर्न सकिने भएकोले रेसुङ्गाको महत्व अझ वढी छ । हिम श्रृङखला तथा तराईका फाँटहरु अवलोकन गर्न सकीने भएकाले रेसुङ्गा क्षेत्रको भ्रमण आन्तरिक पर्यटकहरुको लागी रोजाई बन्ने गरेको छ । यसबर्ष मेला अवधीभर सामुहीक रुद्री, ग्रहजप, भक्तिसंगीत प्रतियोगिता लगायतका कार्यक्रम गरिने रेसुङ्गा संरक्षण समितिले जनाएको छ । त्यसैगरी वेद चण्डी, रुद्री, गीता पाठ, पाञ्चायन देवता पुजन, हवन, पुजा, गरुण पुराण बाचन लगाएतका कार्यक्रम नियमीत रुपमा सञ्चालन हुने समितीले जनाएको छ ।
यो क्षेत्र धार्मिक दृष्टिले महत्वपुर्ण हुनुकासाथै जैविक विविधताले पनि महत्वपुर्ण रहेको छ । यहाँ विभिन्न किसिमका जडिवुटी, वनस्पति, चराचुरुङ्गी तथा प्रसस्त जैविक खानीहरु रहेका छन् । विभिन्न दृष्टिकोणले प्रसस्त संभावना रहेपनि प्रचारप्रचारको अभावमा यो क्षेत्र ओझेलमा परेको मेला भर्न आएका गुल्मी धुर्कोटका भरत भण्डारीले बताए । यस क्षेत्रमा एक सय १६ जातका वन्यजन्तु, ३१ प्रजातिका वनस्पति र एक सय ४५ जातिका जडिवुटी पाईने रेसुङ्गा संरक्षण समितिले जनाएको छ ।
रेसुङ्गाको पौराणिक गाथा
रेसुङ्गाले सिङ्गो सदरमुकामलाई काखमा राखेको छ । जिल्ला बाहिर जो सुकैले आफ्नो परिचय संगसंगै त्यहि पहाडलाई जोड्छन् । जहाँ महाप्रभु लक्ष्मीनारायणले गुल्मी र अर्घाखाँचीका जनताहरुको सहयोगमा बनाएको ठूलो पोखरी छ । विभिन्न तीर्थस्थलहरुबाट जल र बालुवा ल्याई मिसाएर पोखरीको निर्माण गरिएको छ । रेसुङ्गाको पोखरी प्राचीन कालदेखि नै पवित्र तीर्थस्थलको रुपमा रहेको छ। यदुकानन्दले वि.सं. १९८३ मा बनाएको यज्ञशाला रेसुंगामा छ ।
सुनको गजुर र तामाको छाना भएको प्यागोडा शैलीमा निर्मित यज्ञशाला रेसुङ्गाकै सबैभन्दा ठूलो मन्दिर हो । यो आन्तरिक तथा बाह्य पर्यटकको लागी निकै आर्कषक रहेको छ । यज्ञशाला भित्र भएको हवन कुण्डमा यद्यापि अखण्ड धुनी प्रज्वलित छ । त्यस्तै रेसुंगाकै सवैभन्दा पुरानो सिद्धको मन्दिर देख्न सकिन्छ । त्यस्तै स्वामी शशिधरको समाधी स्थल विष्णु पादुका र लक्ष्मीनारायणको समाधि स्थल पनि रेसुंगामा रहेको त्यससंग जानकारी एवं रेसुङ्गा बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख शशी पन्थीले बताए ।
सिद्ध मन्दिरको दक्षिणतिर पर्खालले घेरिएको झाँक्रीस्थान छ । यसको बिचमा मौलो रहेको छ । मौलोमा साउनमा पाठाहरु बली दिने चलन छ । त्यहाँ बस्नेतहरुको कुलपूजा हुने गर्दछ । तम्घासदेखि करिव एक कि.मि उकाले हिंडेपछि मैराक्षेत्रमा पुगिन्छ । शशिधरका भाई बुद्धिधरका नाति ठाकुर प्रसादले खानीगाउँदेखि माथि रमणीय ठाउँमा आश्रम कायम गरी बसेका थिए । महाप्रभु लक्ष्मीनारायणको तपस्यास्थल गौशालादेखि करिव एक घण्टा हिंडीसकेपछि सावनी शिवालय पुगिन्छ । वरिपरी पर्खालले घेरिएको यस आश्रम भित्र आँपका रुखहरु रहेका छन । कम्पाउण्डभित्र प्रवेश गर्नासाथ हवनकुण्ड, कुवा, भक्त भक्तिनीहरु बस्नका लागि बनाइएका आश्रमहरुको भग्नावशेषहरु प्रसस्तै देख्न पाइन्छ ।
रेसुङ्गा पोखरीको पूर्वपट्टी एउटा सानो डाँडो छ । उक्त स्थानमा त्रेता यूगका ऋष्य श्रृङ्ग आफ्नो अर्धाङ्गनी लाई लिएर आएका थिए भन्ने धार्मिक मान्यता छ । प्रेम जोडी र प्राकृतिक मनोरञ्जन लिन जो सुकैलाई यो ठाउँ अत्यन्त मनमोहक र आरामदायी छ । सानो रेसुङ्गाको दक्षिणपट्टी (गौडाकोट झर्ने वाटोमा) एउटा ओडार रहेको छ । माइती ओडारका पश्चिमपट्टी एउटा फराकिलो चौर रहेको छ । उक्त चौरलाई धजावान्ने भनिन्छ । यस चौरमा विवाहमा जन्तिहरु आवतजावत गर्दा धजा वान्ने चलन छ । त्यसैले यस चौरलाइ धजावान्ने चौर भनिएको हो ।
रेसुङ्गा पोखरी देखि करिव सात सय मिटर उकालो लागेपछि गरुडस्थान पुगिन्छ । यहाँ साउनेका महाप्रभु लक्ष्मीनारायणको देहावसान पश्चात् शव रेसुङ्गा चुचुरोमा लैजाने क्रममा यस स्थानमा विसाएको हुनाले यस स्थानमा गरुडको मुर्ति स्थापना गरिएको पौराणिक कथन रहेको छ । रेसुङ्गाको पश्चिमपट्टी रेसुङ्गासँग आम्ने साम्ने उभिएको अर्जुन डाँडाले पनि तम्घास पहिलो पटक आउने अचम्मित हुन्छन् । यो डाँडा अत्यन्तै रमणिय रहेको छ ।
पाण्डवहरु महाभारतको युद्धपछि स्वर्गद्वारी जाने क्रममा एक भाई अर्जुन माथि डाँडामा गई वसेकोले डाँडाको नाम अर्जुन रहन गएको भन्ने किम्वदन्ती छ । त्यहाँ अर्जुन भगवतीको बिशाल मन्दिर छ । मन्दिरमा वडा दशै, चैते दशै, हरेक आईतवार र मंगलवार पुजा गरिन्छ । अर्जुन डाँडाको दक्षिण पाखामा एउटा रमणिय गुफा छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend